शनिबार, असार १८ २०७९
काठमाडौं २३:०८
वासिङटन डिसी 13:23

त्यो विचित्रको पारिस्थितिकी–अनि ,म र क्षितिज प्रसाईं–काँशी–स्मरण ४

– प्रा.डा. मेदनीप्रसाद भण्डारी २०७७ भदौ २७ गते ०:०१ मा प्रकाशित

प्रमुख प्रसङ्ग

– कुनै पनि परिवेश,परिस्थितिले जीव जगतको चक्रलाई रोक्न सक्तैन, खाली परिवर्तन मात्रै गर्न सक्छ।यस क्रममा कैयन पुराना जीव र वनस्पति लोप हुन सक्छन् जो परिवर्तन भएको परिस्थितिकी न रोकिन्छ र न प्रकृतिको उर्वरतामा नै कुनै असर पर्छ।

– प्रकृति जति ठूलो शिक्षक कोही हुन सक्दैन्।प्रकृति जस्तो निश्पक्ष न्यायाधीश कोही हुन सक्दैन र प्रकृति जस्तो सम्भाव प्रेम कतै प्राप्त गर्न सकिदैन।प्रकृति सित इन्का ठिक नियम छ,जस्तालाई त्यस्तै फर्काउने चलन छ। जसले जे दिन्छ त्यही पाउँछ,प्राकृतिक प्रकृया प्रकृतिको छ।

– गरिवी,दरिद्रता,भोकले सिर्जना गरेको एउटा कारण परिस्थितिकी परिवेशको हो,जुन वाध्यताले सिर्जना गरेको थियो र यसको प्रच्छाया यद्यपी विभिन्न पिपन्न मानवहरूमा विद्यमान छ।

– दिदी बहिनीहरूले पेन्ट अथवा अरु वस्त्र कसिलो गरि लगाउन सम्म प्रतिवन्ध थियो।

– जता ततै जुत्ता चप्पल दिदीवहिनीका ओढ्नेहरू दाजु भाईका पसिना पुछ्ने गम्छाहरू एक दुई आमाहरूका होला सायद,साडीहरू नै प्रदर्शनी थलमा यत्रतत्र छरिएका थिए।

– सोच्यौ यो आन्दोलनको परिस्थिति रहेछ,पिटीने पिटिए,लुटिनी लुटिए तर त्यो स्थानलाई अथवा परिवेशलाई केही फरक परेन।

– त्यो पुल मुनिदेखि जतापट्टि ती झुपडी नभएको साइड हो।त्यतातिर–करीव करीव एक अर्का टाँस्सिएर नै रेलवे लिग तर्फ झर्ने गरि आमा दिदी वहिनीहरू शौच गर्न (दिशा,आच्चि)गर्न बस्नु भएको छ। सबैले लाज अर्थात् पहिचान चाहिँ ओडनेले होस् गम्छाले होस् आफ्नो मुख छोप्नु भएको छ।लाज भनेको आँखाले देख्दा त हुने हो या पहिचान खुल्दा त हुने हो।उत्सर्गनका अंगलाई कस्ले चिन्ने केको लाज।लाज के हो र वाध्यता के हो।अनि परिस्थिति के हो ? जीवन बोध गर्न त्यो झुपडीको वातावरण ठूलो शिक्षालय ठान्यौ,त्यस्तै कुरा गर्यौ।

– त्यो माहागरिबी मा भिखमा बाच्ने परिस्थितिमा नानीहरू अन्त भन्दा बढी जन्मिने,वैंश पनि अन्त भन्दा धेर आउने।रमाइलो र दुःख पनि त्यहि धेर हुन्छ।बालकहरूको भिख माग्न अध्याधिक प्रयोग हुने र भिख माग्न चाहिने कला सिकाईने मात्र होइन,दया जागृत गर्न बालकको अंगभंग गर्ने सम्मका कृकृतिहरू सम्म पनि सुनाए।

– उनले आस्था गर्न विश्वास गर्न समय कसै सित नभएको जिकिर गरे। बाँच्नको लागि चौविसै घण्टा चनाखो हुनु पर्ने अवस्था भएपछि आस्था विश्वास आदीका कुरै नहुने कुरो बताए।

ड्ड एकैछिन सुगुरहरूको च्वा च्वा,ध्वार्व घुर्र आवाजले नयाँ तरंग आयो। कुकुरहरू पनि वेस्कन भुक्न थाले।त्यो अवस्थाको सदुपयोगमा कुखुराहरू पनि सम्मिलित रहेछन्।सुंगुरहरू आएपछि उनीहरूपनि आफ्ना आफ्ना झुपडीमा कराउँदै लुक्न थाले।

– जीवनको कटु सत्य त्यहाँ बगिरहेको थियो।भिखारी वृद्धले हामीलाई भोकको र जीवनको मोहको उदाहरण हेर्न केर्ट जक्सन भन्दा अन्त जानै नपर्ने रहेछ भन्ने कुराको बोध गराए।उनले त्यो कसैले खाएर फ्याकेको पात चाट्ने गरीबहरू,फ्याकेको चियाको मट्का चाटेर बाँच्नेहरूको चाहिँ त ती झुपडी पनि नभएको र ढल बग्ने बन्द भएका पाइपमा अथवा रेलवेले बनाएका पुलमूनि नै जीवन काट्छन् भनेर पनि सुनाए।त्यो सत्य पचाउन सकिने अवस्थाको थिएन तर सत्य भने त्यही थियो।अझै पनि त्यो सत्य धेरै स्थानमा उस्तै छ।

– तल घाटमा नजिक सिढीहरूमा साना नानीहरू त्यहाँ चढाएका, छोडिएका फलफूल,चामल,चना आदि टिप्दै खाँदै गरिरहेका थिए।त्यो मध्यरातमा ती नानीहरू ५–६ वर्ष मात्रै उमेर हुँदा हुन्,त्यो पृत्रीलाई अर्पण गरेका पानिमा नै हालिए पिण्ड र बाहिर छरिएका दानाहरू खाई रहेको देख्दा हाम्रा पाइतालाले र मनले ती बालकहरूको सामना गर्ने हिम्मत गरेनन्।

– यो संसार विचित्र सागर हो।यसमा यस्ता अनेकन परिस्थिति छन्। त्यसलाई हटाउन यो विभेदकारी राज्य व्यवस्थामा नै परिवर्तन हुन आवश्यक छ ।तिमीहरू जस्ता संवेदना भएका यूवाहरूले समाजमा मानवतावादी सिद्धान्तलाई अगाडि बढाउनु पर्छ –वहाँले भन्नु भयो। कि दुःखलाई पिउन जान्नु पर्छ,पीडामा जिउन जान्नु पर्छ र पीडा र विरह भन्दा माथि उठेर समाजमा बाँच्न जान्नु पर्छ। वहाँले त्यो हिजोको दृष्य नभुल्नु किनकी त्यसले तिमीहरूलाई समाजको कटु सत्य र कटु परिस्थितिको बोध गराएको छ भन्नु भयो।

हेर्न जान्नेका लागि र पर्गेल्न जान्नेका लागि विविध प्रकारका सुचनाहरू र ज्ञानहरू यत्रतत्र छरिएर रहेका हुन्छन्।प्राकृतिक रूपले सिर्जना भएका हुन अथवा मानवका परिस्थितिले सिर्जना गरिएका हुन परिस्थिति अनुरूपका परिस्थितिकी हरू सिर्जना हुन्छन् र त्यहाँ हुने अथवा भएका या आउने नयाँ जीव वनस्पतिहरूले नयाँ सिर्जित वातावरण अनुसार आफूलाई अनुकुल बनाउँछन् र जीवन चक्र त्यसै अनुरूप चल्न थाल्छ।उदाहरणको रूपमा पहिरो गएर बिग्रिएको ठाउँमा पनि समय अन्तरालमा वनस्पतिले ढाकिन्छ।बाढीले बगाएर लगेको उर्वरक माटोको ठाउँमा वालुवाले छोपेको छ भने पनि त्यही वालुवा अनुकूल जीव र वनस्पतिहरूले त्यो ठाउँ लिन्छन् र अर्को खाले परिस्थितिकीको सिर्जना हुन जान्छ ।

अर्थात् कुनै पनि परिस्थितिमा परिवेशमा पनि जीवन पनप न भने छुट्दैन। प्रकृति सदैव कृयाशील रहन्छ, जस्तै सुकै अवस्थामा पनि यस्ता जीवनधारा बगिरहन्छ र जीवहरू जस्तो धरा त्यसै अनुरूप आफूलाई विकसित गराउँछन् र जीवनचक्र कायम रहन्छ।संसारमा अनगिन्ती स्थायी परिस्थितिकी छन् र ती स्थायी परिस्थितिकीमा हुने परिवर्तनले नयाँ परिस्थितिकी सिर्जना हुन्छन् र त्यसमा पनि फेरी अनुकूलताको सिद्धान्त अनुसार जीव र वनस्पतिहरूले आफ्नो जीवन चक्रसुरु गर्छन् र कायम राख्छन्।अर्थात् कुनै पनि परिवेश,परिस्थितिले जीव जगतको चक्रलाई रोक्न सक्तैन,खाली परिवर्तन मात्रै गर्न सक्छ।यस क्रममा कैयन पुराना जीव र वनस्पति लोप हुन सक्छन् जो परिवर्तन भएको परिस्थितिकी न रोकिन्छ र न प्रकृतिको उर्वरतामा नै कुनै असर पर्छ।प्रकृतिको परिस्थिति एउटा अविरल गतिमा चल्ने प्रकृया हो,जुन धरा,हावा,पानी,भौगोलिक अवस्थिति अनुसारको सौर्य उर्जा प्रणालीले संरक्षण पनि गरेको छ र संचालन पनि गरेको छ ।यो एउटा सतत प्रकृया स्वतः परिचालित छ।यस सतत् हुने प्रकृयामा हनन् पुर्याउदा त्यहाँका प्राणीको परिवेश परिवर्तन हुन सक्छ र अनुकूलता गर्न नसक्ने प्राणीको जीवन चक्र कष्टकर हुन सक्छ अथवा प्राणी नै विलुप्त पनि हुन सक्छन् ।

आजकाल वातावरणमा भएको परिवर्तनले मानव अनुकूलतामा नै असर देखाउन थालेको हुनाले नै वातावरण परिवर्तनको विषय विश्वव्यापी चिन्ताको कारण बनेको हो।

वातावरणमा मानिसका नै कृयाकलापले पुगेको खल्वलीलाई प्रकृतिले त सहन गर्छ र जस्तो वातावरण भयो व्यस्तै पारिस्थितिकी बन्छ।अनुकूलताका सिद्धान्त अनुरूप टिक्न सक्ने टिक्छन,नसक्ने विलुप्त हुन्छन्।यस विषम परिस्थितिले सिधै पार्ने असर भनेको मानव अनि पुरै जीव र वनस्पति जगतलाई हो।तसर्थ प्रकृति माथिको अत्याचारको परिणाम मानवले नै भोग्नु पर्छ।त्यसो हुँदा प्रकृति प्रतिकूल व्यवहारलाई समयमा नै निषेध गरि आफू र भावी सन्ततिहरूको लागि यो परिस्थितिकी लाई सुरक्षित राख्नु मानव मात्रको प्रमुख कर्तव्य हो।

प्रकृति जति ठूलो शिक्षक कोही हुन सक्दैन्।प्रकृति जस्तो निश्पक्ष न्यायाधीश कोही हुन सक्दैन र प्रकृति जस्तो सम्भाव प्रेम कतै प्राप्त गर्न सकिदैन। प्रकृति सित इनका ठिक नियम छ,जस्तालाई त्यस्तै फर्काउने चलन छ। जसले जे दिन्छ त्यही पाउँछ,प्राकृतिक प्रकृया प्रकृतिको छ।

यस्ता जस्तालाई तस्तैका सूचनाहरू यत्रतत्र छरिएका छन्।तसर्थ सूचना संवाहन गर्नु भन्दा पनि कसरी प्रकृतिसित दादम्यता बढाउन सकिन्छ त्यस तर्फ लाग्ने र त्तदनुसार व्यवहार गर्नु पर्ने आजको आवश्यकता हो।

यो स्मरण आलेख पनि त्यस्तै स्वनिर्मित परिस्थितिकी को बारेमा हो।अर्को शव्दमा भन्नु पर्दा गरिवी,दरिद्रता,भोकले सिर्जना गरेको एउटा कारण परिस्थितिकी परिवेशको हो,जुन वाध्यताले सिर्जना गरेको थियो र यसको प्रच्छाया यद्यपी विभिन्न पिपन्न मानवहरूमा विद्यमान छ।

यो चाहिँ जस्तालाई तस्तैको मूलरूप सिद्धान्त भन्दा पूर्णत विपरित अवस्थाको परिवेशको कुचकबाट सिर्जना भएको परिस्थितिकी हो।विपन्नताको पराकाष्टाबाट सिर्जित परिस्थिति हो,जुन आज पनि विकासोन्मुख र निपन्न राष्ट्रमा व्यापक रूपमा विद्यमान छन्।यस्ता हजारौ परिस्थितिकी छन् र यो स्मरणमा एउटा सानो परिस्थितिकी लाई उल्लेख गर्ने प्रयास गरिएको छ।यो नितान्त नीजि तर दुई जनाले अर्थात् मेरा मित्र क्षितिजराज प्रसाइ र मैले काँशीमा विद्यार्थीका रूपमा हुँदा आज भन्दा करीव ४० वर्ष अगाडि साक्षात्कार गरेको परिवेशको चित्रण हो ।

हाम्रो विना उद्देश्य त्यतिकै वरालिने स्वभाव थियो।त्यस क्रममा हामी मूलतः शिक्षाप्रद स्थानहरू,पुस्तक पसल, मेला,घाटहरू,विश्वनाथ मन्दिर र यदाकदा विद्वानहरूका आश्रम स्थल,राजनैतिक नेताहरूका सभा हल र कहिले काहीँ त्यहाँ हुने विभिन्न खाले विरोध प्रदर्शनहरूमा जान्थ्यौ र सकृय भाग पनि लिने गरेका थियौ।त्यसबेला भारतमा राजनीतिक हिसाबले बिसम समय थियो र नारीहरू माथि चरम भेदको अवस्था थियो।

यतिसम्म दमन थियो कि दिदी बहिनीहरूले पेन्ट अथवा अरु वस्त्र कसिलो गरि लगाउन सम्म प्रतिवन्ध थियो।वहाँहरूलाई सार्वजनिक रूपमा नै प्रहरी र प्रशासनले ताडना र प्रताडना गर्थे।त्यसको विरोधका सभाहरू र गंगा बचाउ आन्दोलनका सभाहरू हामी प्रायः छुटाउँदैनथ्यौ।

यस्तै एउटा विरोधको र्यालीमा गोदौलिया बाट हामी पनि भिडमा सहभागी भएर पछि पछि लाग्यौ।त्यो चाहिँ खास गरिकन आसामका नागरिकहरू माथि सरकारले गरेको दमनको विरुद्धमा स्वफूर्त विद्वतवर्गहरू द्वारा नेतृत्व गरिएको आन्दोलन थियो ।आसामको सरकारी दमनका प्रत्यक्ष प्रभावमा जुगौ देखि त्यहाँ वसोवास गर्ने नेपाली भाषीहरू पनि परेका थिए।त्यस कारणले विद्वत वर्गको विरोध प्रदर्शनमा काँशीमा रहेका नेपाली गुरु वर्ग र विद्यार्थीहरूको त्यो प्रदर्शनी आम सभामा राम्रो उपस्थिति थियो।नेपालबाट निर्वासित जीवन व्यतित गरिरहेका नेपाली नेताहरू पनि त्यो जुलुसमा सहभागी थिए । जुलुस प्रचण्ड गर्मिको वास्ता नगरि लामो बाटो तय गरेर केन्ट रेलवे स्टेशन अगाडि पुग्यो ।त्यस दिन त्यहाँको वस पार्क पूरै खाली गरिएको थियो । सानो मञ्च बनाइएको थियो र वास्तवमा अत्याचार विरोधि नाराहरूले पूरै क्षेत्र गुन्जाय मान भई रहेको थियो । हरिश चन्द्र कलेजका त्रिपाठी थरका विद्यार्थी नेताले वोलि रहेका थिए । अचानक प्रहरीले पछाडी बाट घेरावन्दी गरेर विना कुनै सूचना नै श्रोताहरू र जुलुसमा सहभागीहरूमा लाठी बर्साउन सुरु गर्यो । नेताजीलाई ताकेर नै आश्रुग्यास, पानी का फोहोरा आदि सबै प्रहार भए । केही दिदी वहिनीहरू त्यो लामो जुलुसमा हिडेर थाकेर त्यसै भुइमा बस्नु भएको थियो । वहाँहरू उठेर भाग्न नपाउँदै प्रहरीले पक्राउ गरे र लाठी बर्साए।

धेरै जनालाई प्रहरीले पक्राउ गरे र जाली वाला ट्रकमा सामान फ्याके जस्तै फ्याकेर जालीले छोपेर लगे । अस्पतालका गाडी, दमकल आदिको आवाजले त्यो वातावरण कोलाहल भयो । हामी दुई दैव संयोग रेलवेको दिवालबाट हाम्फालेर रेल्वेको पुलमाथि पुगेर ज्यान जोगायौ ।

रेलवे जक्सनको वातावरणलाई केही फरक परेको देखिएन् । रेलहरू आइरहेका थिए, गई रहेका थिए, यात्रु कुल्ली, टि.टी. रेलवे पुलिस अर्थात् सवै व्यस्त र मस्त नै थिए ।

यता सभास्थल पनि खाली भएको थियो भने जताततै जुत्ता चप्पल दिदीवहिनीका ओढ्नेहरू दाजु भाईका पसिना पुछ्ने गम्छाहरू एक दुई आमाहरूका होला सायद, साडीहरू नै पनि प्रदर्शनी थलमा यत्रतत्र छरिएका थिए । प्रहरीका गाडिको भने ताँतिनै थियो ।

हामी रेलवे गेटबाट वाहिर निस्कने प्रयासमा थियौ । त्यहाँका टि.टि.ले रोके । हामीले हाम्रो ज्यान जोगाउन छिरेका थियौ भन्यौ । उनले उल्टै हामीलाई जेल पठाउँछु भनेर थर्काए । सायद पाँच पाँच रूपयाँ दक्षिण चढाएर होला, हामी ति टि.टि.बाट फुत्किएर रेलवे स्टेशनबाट बाहिरियौ । बाहिरको अवस्था सुनसान नै थियो । तर सायद रैथानेहरू हुनु पर्छ जुत्ता चप्पलका जोडी मिलाउदै ढाँकीमा हाल्दै, गर्ने सानो समुह सकृय थियो । करीव विस मिनेट जतिमा ती सवै जुत्ता चप्पलहरू सिद्धिए ओड्न र साडी तथा गम्छा पनि सिध्याए ।

सोच्यौ यो आन्दोलनको परिस्थिति रहेछ, पिटीने पिटिए, लुटिनी लुटिए तर त्यो स्थानलाई अथवा परिवेशलाई केही फरक परेन । त्यो गाडिको पार्क थियो, एकै छिनमा गाडीहरुले भरियो । यात्रु ताना तानको फेरी शुरुवात भयो । मानौं त्यहाँ केही भएकै थिएन ।

हामी थाकेका चाहीँ थियौं तर मन अशान्त हुदा मंगला गौरीमा भएको डेरा तर्फ नलागि भैरब तालाव तिर जाने वाटो तर्फ अगाडि गर्यो । करीव ७–१० मिनेटको हिडाइमा नै रेलवे क्रसिङ्गको लागि बनाइएको पुल मा पुगयौ । दुवैतिर झण्डै बीचको बाटो जत्रै यात्रुहरू हिड्ने ठाउँ अनि बीचमा २ लेनको गाडी चल्ने सडक । हामी त्यो पुलको आधासम्म पुगेर तल रेलवे तर्फ नियालन थालेउे । रेलवे जमिनको सतह भन्दा तल दुवै तिर सिमेन्टले तयार गरेको मझौला खाले पर्खाल–आँखाले देख्न सक्ने दुरीमा दुवै तर्फ थियो । ठिक दिवालसँग जोडिएकै अवस्थामा लहरै साना साना प्लास्टिकका, बोराका र थोर्त्रा टिनका ेर कुनै कुनै खरका छानो भएका झुपडीहरू पनि आँखाले भ्याएसम्म नै देखिन्थे । त्यहाँ सानानानीहरूदेखि वृद्धहरू पनि थिए । तन्नेरी, तरुनी झुप्राबाट निस्कने फेरी भित्र पस्ने हुँदा त्यो झुपडीहरूको ताँतिमा एउटा सक्रिय समाज भएको प्रष्टै देखिन्थ्यो ।

त्यतिबेला सायद २ अथवा २.३० अपरान्नको समय हुँदो हो । हामीलाई त्यो पुल माथि धेरै वेर उभिएर त्यो दृष्यलाई नियाल्ने हिम्मत भएन पुलपारी पुलैसित जोडिएको वडेमाको पिप्पलको रुख थियो र वरिपरी बस्ने ठाउँहरू पनि बनाइएको रहेछ हामी तेसै तर्फ लाग्यौ । हामी त्यही बस्ने हिसावले पूलपारीको पिप्पलको रुख मुनि पुग्यौं । त्यहाँ अरुहरू पनि थकाइ मार्न बसेका रहेछन् । कोही कोही चाहीँ निदाइ राखेकाहरू पनि थिए ।

हामी त्यो रेलवेको दुवै तिर टाढासम्म देखिने अझ त्यो पुलमुनिको भाग पनि देखिने ठाउँमा बस्यौ र पूनः झुपडीहरूको चहलपहलमा ध्यान दिन थाल्यांै ।
दिअब भने हामीले वास्तविक संसारको दर्शन पायौं । त्यो पुलमुनिदेखि जतापट्टि ती झुपडी नभएको साइड हो । त्यतातिर–करीव करीव एक अर्का टाँस्सिएर नै रेलवे लिग तर्फ झर्ने गरि आमा दिदी वहिनीहरू शौच गर्न (शा, आच्चि) गर्न बस्नु भएको छ । प्रायः सबैले साडी, कुर्ता सुरुवाल जे लाउन भएको छ त्यो कम्मर भन्दा माथि नै समेट्नु भएको छ । सायद वस्त्र सुरक्षाको हिसाबले हुनुपर्छ । सबैका अगाडि सौचपछि सफा गर्न कित सेता टल्किने लोटाहरू छन् या बोतल छन्, कसै कसैले त प्लाष्टिकको झोलामा नै पानि लिएर आउनु भएको छ । प्लाष्टीकको झोलामा पनि ल्याउनु हुनेहरूको शरीर अलिक अस्थिर छ । एकातिर पानी पोखिने डर, अर्कोतिर कपडा आच्चिमा पर्ने डर । लोटामा र बोतलमा पानि ल्याउनेहरू चाहीँ मस्तराम हुनुहुन्छ । प्रायः सबैको अवस्था उस्तै छ । सबैले लाज अर्थात् पहिचान चाहिँ ओडनेले होस् गम्छाले होस् छोप्नु भएको छ । लाज भनेको आँखाले देख्दा त हुने हो या पहिचान खुल्दा त हुने हो । उत्सर्गनका अंगलाई कस्ले चिन्ने केको लाज ।

महिलाको र पुरुषको त्यो शौचालयको मानौं विभाजन गरिएको होस् । रेलवेको एक साइडमा जननीहरू र अर्को तर्फ जनकहरू उस्तै लाइन मिलाएर बस्नु भएको छ । पालो कुरेर बस्नेहरू पनि हुनुहुन्छ । उठेको स्थानमा अर्काेले सदुपयोग गर्न समय लाग्ने कुरै भएन । हामीले ति नाङ्गा र वास्तविक शरीरहरूलाई भन्दा पनि त्यो अस्तव्यस्तामा बाँचेको जिन्दगी तर्फ कुरा ग¥यौ । लाज के हो र वाध्यता के हो । अनि परिस्थिति के हो ? जीवन बोध गर्न त्यो झुपडीको वातावरण ठूलो शिक्षालय ठान्यौ , त्यस्तै कुरा गर्यो।

त्यहाँ नानीहरू अन्त भन्दा बढी जन्मिने, वैंश पनि अन्त भन्दा धेर आउने । रमाइलो र दुःख पनि त्यहि धेर हुन्छ भनेर एक जना भिखारी सुनाए, जो त्यही पिपलको बोटमूनी माग्न बसेका थिए । झुपडीको बासिन्दा मध्ये धेरैको भिख माग्ने व्यवसाय रहेछ । त्यो झुपडीमा बसे वापत त्यहाँका गुण्डा वोशलाई हप्ताभरी पनि बुझाउनु पर्ने रहेछ । त्यहाँको आफ्नै प्रशासन र त्यो प्रशासनले प्रहरी प्रशासन सम्मको गोजी तताउनु पर्ने रहेछ । भिखारीले पनि गुण्डा भिखारीलाई हप्ता बुझाउनु पर्ने, नत्र माग्नका लागि लाइनमा बस्न नपाईने आदि । त्यहाँ भित्रको व्यवस्थापन बारेमा सुनाए । बालकहरूको भिख माग्न अध्याधिक प्रयोग हुने र भिख माग्न चाहिने कला सिकाईने मात्र होइन, दया जागृत गर्न बालकको अंगभंग गर्ने सम्मका कृकृतिहरू सम्म पनि सुनाए ।

हामीले त्यत्रा मान्छेले रातो दिन खुल्ला रेलका लिग तर्फ आची गर्दा त्यहाँ त थुप्रो नै लाग्छ होलानी भनेर कौतुहल राख्यौ । वृद्ध भिखारी बाबाले हामीलाई त्यसको प्राकृतिक समाधानका रूपमा झुण्डका, झुण्ड नजिकैको बस्तीबाट आउने सुंगुर भएको बताउनु भयो । त्यस वाहेक चाहिँ हप्तामा एक पटक रेलवेसेवामा काम गर्ने सेवाग्राहिले ढाकीमा उठाएर एक ठाउँमा थुपार्ने गर्ने गरेको बताए । उनले त्यो चाहीँ अर्को आम्दानीको स्रोत हो भनेर पनि बताए । २–४ महिनामा त्यो तरकारी खेतीमा प्रयोग गर्ने मलको रूपमा विक्री हुने रहेछ ।

हामीले यो काँशी पवित्र भूमि मानिन्छ अनि दुःखमा भगवान्को याद हुन्छ भन्छन् । यहाँका मानिस कितीको आस्तीक छन् त भनेर सोध्या। उनले आस्था गर्न विश्वास गर्न समय कसै सित नभएको जिकिर गरे । बाँच्नको लागि चौविसै घण्टा चनाखो हुनु पर्ने अवस्था भएपछि आस्था विश्वास आदीका कुरै नहुने कुरो बताए । भोको पेट र नाङ्गो सरिर हुने ले भगवान लाई विश्वास गर्ने र नगर्ने भन्दा पनि बच्नु पहिलो प्राथमिकता हुने कुरो को लामो कथा सुनाए। भगवान पनि हुने कै हुन् नहुने लाई कसै ले हेर्दैन। संसार भनेको बलेको आगो ताप्ने हो निमुखाका लागि भगवान पनि काम लाग्दैनन्। निमुखाले रोएको नता मान्छे ले देख्छन नता भगवानले नै सुन्छन भनेर लामो कथा सुनाए।

त्यस्तो अवस्था भएपनि भिखारीले त्यो स्वतः संचालित समाज हो र संकटका अवस्थामा सबैले एक अर्कालाई सहयोग गर्ने कुरा सुनाए । उनीहरूको अवस्थामा परिवर्तन गर्ने बाचा राजनीतिज्ञहरूले गर्ने गरेको तर कहिल्यै पनि केही पूरा नभएको रहेछ । हामी यस प्रकारका कुरा गरि रहदा नै दुइटा लिंगमा बाँडिएर सुगुरका झुण्डहरू आए अनि त्यो चलिरहेको सौच प्रकृयामा सानो खैलाबैला मच्चाए । झर्दा झर्दै मान्छेको पछाडिको द्वार नै चाट्न भ्याउँदा रहेछन् सुगुंरहरू पनि ।

एकैछिन  पछि  सुगुरहरूको च्वा च्वा, ध्वार्व घुर्र आवाजले नयाँ तरंग आयो । कुकुरहरू पनि वेस्कन भुक्न थाले । त्यो अवस्थाको सदुपयोगमा कुखुराहरू पनि सम्मिलित रहेछन् । सुंगुरहरू आएपछि उनीहरूपनि आफ्ना आफ्ना झुपडीमा कराउँदै लुक्न थाले ।

किन किन हामी अत्यन्त वेचैन भयौं । करीब ३–४ घण्टा नै हामीले त्यो विचित्र पाठ्शालामा बितायौं । एउटा सिगौं परिस्थितिकीलाई नियाल्यौं । हामीलाई वास्तवमा नै विष्टादीको धिन पनि एक किसिमले हरायो । देहादीको आकर्षण पनि हरायो । ति लाइनमा मूख छोपेर वस्ने महिला र पुरुषहरू, बालदेखि वृद्धसम्म थिए । के लाज, के सरम । वास्तवमा पहिचान गराउने अनुहार नछोप्नेहरू एक अर्का सित गफ गर्दै अझ विडीं चुरोट खाँदै सौचमा बसेकाहरू आधाभन्दा बढी नै थिए ।

जीवनको कटु सत्य त्यहाँ बगिरहेको थियो । भिखारी वृद्धले हामी लाई भोकको र जीवनको मोहको उदाहरण हेर्न केर्ट जक्सन भन्दा अन्त जानै नपर्ने रहेछ भन्ने कुराको बोध गराए । उनले त्यो कसैले खाएर फ्याकेको पात चाट्ने गरीबहरू, फ्याकेको चियाको मट्का चाटेर बाँच्नेहरूको चाहिँ त ती झुपडी पनि नभएको र ढल बग्ने बन्द भएका पाइपमा अथवा रेलवेले बनाएका पुल मूनि नै जीवन काट्छन् भनेर पनि सुनाए । त्यो सत्य पचाउन सकिने अवस्थाको थिएन तर सत्य भने त्यही थियो । अझै पनि त्यो सत्य धेरै स्थानमा उस्तै छ ।

अब हामीमा त्यो भन्दा बढी सत्य पचाउने सामर्थ थिएन । हामीले भिखारीको बटुकामा २ –२ गरेर ४ रूपयाँ हालि दियौं । मनैले नमस्कार ग¥र्यौ, पूनः केंट रेलवे जक्सनसम्म हिडेर आयौं । त्यहाँबाट रिक्सा चढेर गोदौलियासम्म आयौं । त्यतिबेला साँझ परिसकेको थियो । गोदौलियामा पालुङ्गोको साग किनेर डेरामा पुग्यौं । खाना पकाउने र भाडा माज्ने पालोमा आज हाम्रो खाना पकाउने पालो थियो । हामी दुवैले विरामी भएको वहाना ग¥यौं । खाना नखाईकन छतमा दरी ओछ्याएर पल्टियौं । साथीहरूले खाना पकाएर हाम्रो भाग राखेर छतमानै आउनु भयो । वहाँहरूपनि सुत्नु भयो । मलाई निन्द्रा लाग्दै लागेन । त्यसै उठेर छतमा यता उता घुम्न थालें । क्षितिजले मेदनी सूत, के विरामी हुन मन छ भनेर झपारे । मैले तिमी सुतेको मान्छे म ननिदाएर खट्पटाएको कसरी देख्यौ भनेर सोधें ।

क्षितिजले गर्मिले निन्द्रा नलागेको हो भनेर वहाना बनाए । मैले भने जाऊँ एक पटक मंगलागौरी घाटसम्म पुगेर गंगामा चोबलीएर आऊँ भन्ने प्रस्ताव गरें । उनले मनको कुरो ग¥यौ जाऊ भने । हामी तौलिया काँधमा हालेर १२ः३० बजे राति घाटमा गयौं । त्यो घाटमा लामा सिंढीबाट तल पुग्नु भन्दा पहिले बीचमा एउटा निकै ठूलो सिढी घुम्ने स्थल बनाइएको छ । हामी दुवै त्यहाँ थचक्क बस्यौं । तल घाटमा नजिक सिढीहरूमा साना नानीहरू त्यहाँ चढाएका, छोडिएका फलफूल, चामल, चना आदि टिप्दै खाँदै गरिरहेका थिए । त्यो मध्यरातमा ती नानीहरू ५–६ वर्ष मात्रै उमेर हुँदा हुन्, त्यो पृत्री लाई अर्पण गरेका पानिमा नै हालिए पिण्ड र बाहिर छरिएका दानाहरू खाई रहेको देख्दा हाम्रा पाइतालाले र मनले ती बालकहरूको सामना गर्ने हिम्मत गरेन। हामी त्यही ती नानीहरूलाई हेरेर अनि दिउँसो रेलवे स्टेसन नजिकका पूलमा भिखारी बाबाले भनेका कुरा सम्झेर टोलाएर बस्यौं । गंगाको किनारको चिसो वातावरण र मधुर हावाले हामीलाई केही हदसम्म शान्त गरायो ।

हामी त्यहीबाट पुन डेरामा फर्कियौं । त्यो साथीहरूले थाल थालमा राखिदिएको पालुङ्गोको साग, सिन्कीको झोल र आँपको अचार मिसाएर खाना खायौं । सायद रातको तीन बजिसकेको थियो । छत पनि सेलाई सकेको थियो । चिसो हावापनि चल्न थालेको थियो । हमी आफ्ना आफ्ना दरीमा तौलिया सिरानी हालेर, लुङ्गी ओडेर सुत्यौं । बिहान घाम आँखामा परेपछि मात्रै आँखा खुले ।

बिहान मेघनाथ भण्डारीले हामीहरूलाई सन्काहाहरू खान पनि नपकाउने, भाडा पनि नमाज्ने अनि खाना खाँदा पनि नखाने भनेर अतिसय प्रेमयुक्त भावनाले, स्वादिलो सित हप्काए । हामीले केही भन्ने कुरो छैन् । चूप लाग्नु नै वेश छ भनेर क्षितिजलाई मैले भने क्षितिजले होइन खाना नखानको ढानेर पिरमा रिसाएका हुन् । थालमा खाना नदेखेपछि आफै शान्त हुन्छन् भनेर मलाई सम्झाए । हामी छतबाट कोठामा आयौ ।

मेघनाथले “खान्न खान्न लोकचार खान बस्यो मानाचार” अनि “दिँदा नखाने, राति उठेर कोल चाट्ने” भनेको चाहीँ तिमीहरू नै रहेछौ भनेर व्यङ्ग गरे । हामीले हिजो चाहीँ त्यस्तै भयो अब उप्रान्त त्यस्तो हुँदैन भनेर गल्ति स्वीकार गर्यो।

बिहान पूनः गौरीघाट गयौं । गंगामा नुहाएर विश्वनाथ बाबाको दर्शन गर्न गर्यौं । बावासित आफ्नो हिजोको पिर जम्मै पोख्यौ । अन्नपूर्णमाताको पनि दर्शन ग¥यौं । र कसैलाई दरिद्रता नदेउ भनेर प्रार्थना ग¥यौं । मन आक्लान्त भई नै रह्यो । दामोदर गुरुज्यूलाई वहाँकै डेरामा गएर सबै वृतान्त सुनायौं । हाम्रो कुरो सुनेर गुरु अत्यन्त गम्भिर हुनु भयो । यो संसार विचित्र सागर हो । यसमा यस्ता अनेकान परिस्थिति छन् । त्यसलाई हटाउन यो विभेदकारी राज्य व्यवस्थामानै परिवर्तन हुन आवश्यक छ । तिमीहरू जस्ता संवेदना भएका यूवाहरूले समाजमा मानवता वादी सिद्धान्तलाई अगाडि बढाउनु पर्छ – वहाँले भन्नु भयो । कि दुःखलाई पिउन जान्नु पर्छ, पीडामा जिउन जान्नु पर्छ र पीडा र विरह भन्दा माथि उठेर समाजमा बाँच्न जान्नु पर्छ । वहाँले त्यो हिजोको दृष्य नभुल्नु किनकी त्यसले तिमीहरूलाई समाजको कटु सत्य र कटु परिस्थितिको बोध गराएको छ भन्नु भयो ।

वहाँले सच्चा, विद्यार्थीले सुचना सित बग्नु हँुदैन तर सूचनाका आधारमा जीवनको मार्ग दर्शन बनाउनु पर्छ भन्नु भयो । समसुखको भाव यस्तै यथार्थताबाट सिकिने कुरो हो भनेर गिताका पञ्चम अध्यायका केही श्लोकहरू उद्धृति गर्नु भयो ।

काँशीको त्यो घटना सम्झदा आज पनि मन काहालिन्छ, लाग्छ, त्यस्तो परिवेशलाई संसारबाट हटाउन सबैलाई समान अवसर प्राप्त हुने राजनैतिक, आर्थिक, सामाजिक व्यवस्था संसारमा कृयाशिल हुनुपर्छ । हरेक व्यक्तिले अर्काको पीडालाई आफ्नै पीडा देख्ने आँखा मन र कर्म गर्नुपर्छ । त्यस्ताखालका विदारक पूर्ण परिस्थितिकी समाजको विभेदकारी नियम, संस्कृती, परम्परा, धर्म र मूलरूपमा राजनैतिक स्वार्थले सिर्जेका हुन् । यस किसिमको विभेदपूर्ण व्यवस्थापनलाई जरैदेखि हटाएर सबैलाई गाँस, बाँस र कपासको न्यूनतम आवश्यकतालाई चाहीँ कुनै हालतमा पनि पूरा गर्ने दायित्व राज्यले लिनु पर्छ । ।।शुभम्।।

प्रोफेसर मेदनी प्रसाद भण्डारी एउटा मानबताबादी लेखक तथा बातावरण विद हुनुहुन्छ वहाका धेरै बैज्ञानिक लेखहरु अन्तर्रास्ट्रिय पत्रिका हरुमा प्रकासन भएका छन्। वहाका का धेरै पुस्तक हरु पनि बाताबरण परिबर्तन सम्बंधिनै छन्। वहा साहित्य विधा र बिज्ञानबिदा दुबैमा समान हिसाबले कलम चलाउनु हुन्छ। वहा अकमाइ बिस्वबिध्यालय अमेरिका र सुमी स्टेट बिस्वबिध्यालय युक्रेन मा प्राध्यापन गर्नु हुन्छ। वहा अन्तर्रास्ट्रिय पत्रिका Strategic Planning for Energy and the Environment को प्रधान सम्पादक को रुपमा पनि कार्यरत हुनु हुन्छ। वहा विभिन्न गैरसरकारी सस्था हरु मा पनि संलग्न हुनुहुन्छ।

प्रतिक्रिया