तिलहरी

रजनी मल्ल न्यु जर्शी, अमेरिका २०७७ भदौ १९ गते ९:५५ मा प्रकाशित

बैठक कोठा सफा गरिरहेकी कान्छीका आँखाहरु अनायास भित्तामा झुन्डिएको आफ्नी मालिक्नीको सर्बाग रातो पहिरन अनि रातो पोतेमा उनिएको सुनको तिलहरीले सजिएको फोटो माथि पर्न जान्छ। हुन त कान्छी पनि रातो टिका,रातो चुरी,रातो रिबन अनि रातो सारी लगाउछे तर तिनका खाली सिउदो अनि बिना तिलहरीको घाटीले भने हरबखत सिन्दुर र तिलहरीको अपेक्षा गरिरहेको आभास हुन्छ।

कान्छी आफ्नो जिबिकोपर्जनको लागि आफ्ना दिदीहरुका साथमा गाउबाट शहरतिर लागेकी एक सुन्दर, शुशील युवती हुन। उनका दुइ दिदीहरुको काठमान्डू मै बिहे हुन्छ तर दुर्भाग्यबश तिनका दुवै भिनाजुहरु जड्याहा र अनावश्यक निहु खोजि खोजि स्वास्नीलाई कुट्ने झै झगडा गर्ने खालका हुन्छन जसले गर्दा कान्छीलाई ‘बिहे’ भन्ने शब्द देखि नै घृणा लग्न थाल्छ।उनी अबिबाहिता बनेरै भए पनि अर्काको घर घरमा जुठो चुलो गरि आफ्नो जिबिका चलाइरहेकी हुन्छे।

एकदिन कान्छीलाई पनि आफ्नी मालिक्नीले लगाएको जस्तै रातो पोतेको मालामा सुनको तिलहरी उनेर लगाउने इच्छा जाग्छ र आफुले मिहिनत गरि कमाएको पैसाले सानो रिग एक जोड र एउटा सानो तिलहरी किनेर रातो पोतेमा उनेर लगाउछे अनि उनि ऐना अगाडी गएर उभिन्छिंन। त्यस बखत उसलाई आफु संसारकै सबैभन्दा राम्री जस्तो महसुस हुन्छ। आफ्नो घाटीमा सजिएको त्यो रातो पोतेमा उनेको सानो सुनको तिलहरीलाई घरि घरि सुम्सुम्याउछिन तिनी। त्यो रात भोलीको प्रतिक्षामा राम्ररी सुत्न नै सक्दिनन् तिनी, किनकि भोली तिनी त्यो तिलहरी लगाएर काममा जान चाहन्छिन।

भोलिपल्टको मिर्मिरे उज्यालोमै उनि रातो पहिरनमा सजिएर त्यो रातो पोतेमा उनेको सानो सुनको तिलहरी लगाएर खुशी हुदै आफ्नो कामतिर लम्किन्छिंन। बाटोमा हिडदा हिड्दै बिहानीपखको त्यो घामको झुल्कोले जब तिनको त्यो रातो पहिरन अनि रातो पोतेमा उनेको त्यो सानो सुनको तिलहरीलाई स्पर्श गर्दा भने तिनी कुनै कलाकारले आफ्नो कल्पनामा कोरिएको अप्सरा भन्दा कमकी देखिएकी थिइनन्, तर आफ्नो काममा पुग्न नपाउदै तिनको त्यो इच्छा अरुको लागि शंकाको बिषय बन्न पुग्छ। बाटोमा तिनले चिने जानेकाहरुले तिनलाई “बिहे भएको हो?” भन्ने प्रश्नहरु गर्न थाल्छन। तिनी “होइन” भन्दा भन्दै थाक्छिंन अनि धेरैले “बिहे नभैकन ‘तिलहरी’ लगाउनु हुदैन” भन्ने प्रतिक्रियाहरु पनि दिन्छन। जब कान्छी काममा पुग्छिन त्यहाँ पनि तिनको मालिक्नीले “बिहे भएको हो? आज त् ‘तिलहरी’ लगाएर आइछ्यौ त्। कति राम्री देखिएकी तिलहरी लगाउदा त्” भन्छिन्। एक मनले त् तिनी मक्ख पर्छिन तर अर्को मनले नमान्दा नमान्दा नै ‘तिलहरी’ छुदै भन्छिन् “होइन त्यसै इच्छा भएर लगाएकी”। “तिलहरी लाउने इच्छा भए असल राम्रो केटो खोजेर बिहे गरे हुन्छ नि यति लामो जीन्दगी एक्लै बिताउन गार्हो हुन्छ।” भनेर सुझाब दिन्छिन तिनकी मालिक्नी,तर किन किन तिनलाई बिबाह भन्ने कुरा देखि नै डर लागेर आउँछ किनकि तिनलाई बिबाहित तर पिडादाएक जीन्दगी बिताइराखेका तिनका दुवै दिदीहरुको स्थितिको सम्झनाले ज्यादै दुखित तुल्याउछ। हुन् त् तिनले काम गर्ने ठाउको मालिक मालिक्नीको सुखद बैबाहिक जीबन नदेखेकी पनि होइन तर तिनलाई सबै केटाहरु तिनका भिनाजुहरु झैँ हुन्छन जस्तो लाग्दछ तर तिनको ‘तिलहरी’ लाउने इच्छा भने जिउदो जाग्दो रुपमै हुन्छ।

दिनभरिको काम सकाएपछी साझपख मनमा के के कुराहरु खेलाउदै सडक गल्लीहरुमा गुडिरहेका असख्य गाडीले छोडेको कालो धुवा, धुलो अनि छिटो छिटो घर पुग्न हतारिएकाहरुको भिडलाई छिचोल्दै अस्ताएको सुर्य झैँ अस्ताएको मन लिएर आफ्नो डेरा तिर सुस्तरी पाइला चालछिन तिनी। तिनको ‘तिलहरी’ लाउने इच्छालाई समाजले दबाइदिन्छ।

अनि आफ्नो डेरामा पुग्न नपाउदै तिनी आफ्नो घाटीमा सजिएको त्यो रातो पोतेमा उनेको सुनको ‘तिलहरी’ लाई बिस्तारै निकालेर सुम्सुम्याउदै अबिबाहित भएरै पनि एउटा सुन्दर सुखद भविष्यको प्रतिक्षामा एउटा सुन्दर सपना सहित एक सुरक्षित ठाउमा थन्क्याइदिन्छिन् तिनको मनपर्ने ‘तिलहरी’ ….।

-रजनी मल्ल ,न्यु जर्शी, अमेरिका

प्रतिक्रिया