प्रकृतिको अनुकम्पा “ रारा”

डा बुनु दाहाल २०७७ भदौ १० गते २२:११ मा प्रकाशित

समयको प्रवाहलाई रोक्न सकिन्न । साँझ बिहान गते बार दिन महिना बर्ष गर्दै कति बिते कति | सम्झदा हिजो जस्तो लाग्छ । तर समय बितेको पत्तै नहुने । यो करिब १४\१५ बर्ष अगाडिको कुरा हो । कसरी जीवनको बाटो बयस्क हुँदै उकालो लागि सकेछ ,बिचरी म अनभिज्ञ र अकिन्चन यात्रामा अनबरत उक्लदै छु ।

आज मेरो मानस पटलमा सम्झनाका ति दिनले अधीर,अस्थिर अनि रोमान्चक बनाएको भान हुन्छ । ढिलै भएपनि मेरो त्यो रोमांचक अनुभूति यहाँहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु ।

कतै सुखद र रोमान्चक अनुभूति त कतै दुखद र दर्दनिय 

जुनबेला म अंतरपाटि महिला संजाल (IPWA) को मास्टर ट्रेनर (सहजकर्ता) भएर बिभिन्न जिल्ला जिल्ला जाने गर्दथें । कतै सुखद र रोमान्चक अनुभूति त कतै दुखद र दर्दनिय । समय परिबेस स्थान र व्यक्तिगत आनीबानि अनि व्यबहारले कठिन र कटुता । तर पनि अविस्मरणीय । हाम्रो टिमका अगुवा महिला नेतृहरु हुनु हुन्थ्यो । कहिलेकाँही अप्रत्यासित रुपमा आइपर्ने अहमताले पिरोल्थ्यो भने कहिले आत्मीय माया प्रेम र सदभाबले सहृदयी बनाउथ्यो । यसरी आइ पर्ने तिता मिठा अनुभब त कति कति ।

जसरी काँचो माटोलाई आकार दिने क्रममा कुमालेले /कालिगढ़ले एउटा नयाँ स्वरूप दिन्छ अनि बनावट र स्वरुपमा त्यहि अनुसार फरकपन हुन्छ । त्यही सम्झी दिनु भए हुन्छ । त्यसबेला प्रविधिमा अहिले जस्तो सहज पहुँच काँहा हुनु ? कहा ल्यापटप ,कहा बिजुली, काहा नेट इन्टरनेट । लामो समय मेहनत र परिश्रम गरेर चाट पेपरमा सामाग्री तयार गर्नु पर्ने बिबशता थियो । जानु अघि बिषय बस्तुको तयारी गर्नु पर्थ्यो । अनि बल्ल टिम तयार हुन्थ्यो । त्यसमा लिडर ,ट्रेनर\सहजकर्ता, स्पन्सर संस्थाको प्रतिनिधि रहन्थे । यसरी सम्पूर्ण तयारी भएपछी स्थान र जिल्ला तोकिन्थ्यो । प्रत्येक कार्यक्रम ३ दिनको हुन्थ्यो । एउटा टिमलाइ एक पटकमा ३ वटा जिल्लामा कार्यक्रम संचालन गर्नु पर्दथ्यो, “महिला नेतृत्व बिकास सम्बन्धि” ।

यो क्रम निरन्तर चलिरहेको थियो । नयाँ ठाउ,नयाँ परिवेशमा जान पाउँदाको खुसि र उमङ्ग अर्कै हुन्थ्यो । टिम कस्तो पर्छ भन्ने कौतुहलता र उत्सुकता पनि हुन्थ्यो | राम्रो टिम र मिल्ने साथी परे हुन्थ्यो भन्ने अपेक्षा पनि नहुने कुरै भएन ।

जेष्ठ महिनाको शुरुवात संगै कर्णाली जाने चर्चा चल्यो । कर्णाली भन्नासाथ राराको सुन्दरता र रौनकताले मन रोमान्चित भयो । बर्षा यामले घुम्टो ओडीसकेको थियो । स्थानको विकटता र मौसमको विषमता बीच हाम्रो यस पटकको यात्रा नेपालगंज सुर्खेत र मुगुको लागि तय भयो । बर्षातको सुरुवातीसंगै बिकट ठाउको यात्रा तय हुनु कम जोखिमपूर्ण थिएन ।

काठमांडू बाट नेपालगंजको लागि जहाज उड्यो । हामी १६ जनाको टिम सहित अरु यात्रु पनि बोकेर । कहिलेकाँही घरबाट बाहिरी दुनियाँको सयर गर्दाको मज्जानै छुट्टै हुन्छ । हामी पनि बाहिरी दृष्याबलोकनको मज्जा लिंदै अनि रमित हेर्दै पत्तै नपाइ नेपालगंज पो पुगी सकेछौ । रनवेमा जहाज रोकियो । त्यहाँबाट हामी सम्झना होटल गयौ । खासै थकानको अनुभव भएको थिएन । समय पनि थियो । तर हामी काठमांडूका मानिस त्यहाँको गर्मीले बाहिर घुम्न जाने र नेपालगन्जको प्रसिद्ध मिठाइ रावडी खाने रहर केवल रहरमै सिमित भयो । साँझको खानपिन पश्चात केहि छलफल र सल्लाह गरि आराम गरियो । भोलिपल्ट बाट शुरु भएको ३ दिने कार्यक्रम सफलता अनि सौहार्दतापूर्बक सम्पन्न भयो । अन्तिम दिनको कार्यक्रम समयमै सम्पन्न भएकोले सुर्खेत जाने तय भयो र त्यसै गरियो। बिगत देखि नै हाम्रो ट्रेन यही थियो ।

हामी पनि बाहिरी दृष्याबलोकनको मज्जा लिंदै अनि रमित हेर्दै पत्तै नपाइ नेपालगंज पो पुगी सकेछौ । 

कार्यक्रम सकिए पछि अर्को जिल्ला जाने| सुर्खेतमा पनि कार्यक्रम राम्ररि सम्पन्न भयो । यसपटकको तेश्रो र अन्तिम गंतब्य मुगु थियो । बिकटताको प्रतिक कर्णाली । त्यहा पुग्न कठिन र जटिल थियो । मौसमको कारणले फ्लाइट नै नहुने । फेरी हाम्रो टिम ठुलो थियो । कसरी जाने ? अन्यौल छायो । कोही भन्छन नेपालगंजवाट जान्छ रे । कोही भन्छन यहि सुर्खेत बाटै जान्छ रे । भोली बिशेष फ्लाइट गर्छ रे । यसोगर्दा गर्दै एक हप्ता बित्यो । हामी फेरी नेपालगंज र सुर्खेतामा बाँडिनु पर्ने भयो । अन्तमा सामान लाने प्लेनमा २/२ जनाका दरले कोही सुर्खेतबाट र कोही नेपालगन्जबाट गरि मुगुको ताल्चा विमानस्थल पुग्न सफल भयौ ।

त्यहाँ पुगेपछि केहि समय होमस्टेमा बस्ने कि भन्ने सोच आयो र छलफल पनि भयो तर गन्तब्य अझै टाढा भएकोले हिड्ने निर्णय भयो । अनि जत्था राराको लागि उकालो लग्यो । प्रकृतिले धपक्क बलेको सल्लेरीको बाटो, बर्षादको झरी भुइमा सोत्तर सल्लाका पात अर्थात सल्लिबिर ! ओहो क्या पृथक पहिचान !! पाइला कसरि अगाडी बढाउने बढो मुस्किल । तै पनि अघि बढ्यौं । हाम्रा झोला ब्याग पोका पन्तुरा बोक्न सहयोग गरिदिने भरिया दाइहरु कहा कहा पुगी सक्थे र ओझेल पर्थे सहजै | तर हामीलाई कुरै नगरौ…..!!

आहा ! कति राम्रो प्रकृतिको मनोरम दृश्य अनुपम,अपार र अबर्णनिय ! वाहू !! यस्तै भिन्न भिन्न अनुभब सोच र दृश्यको मनमोहकतासंग लुकामारी खेल्दै र रम्दै कठिनतम यात्रालाई पनि सहज अनुभूति गर्दै रारा पुगियो । रारासंग साक्षात्कार भयो । अब रारा कल्पनाकी रानी होइन,आंखाकी नानी भइन। यात्रा कठिन थियो तर उतिनै रोमान्चक र आनन्ददायक पनि । आहा !! रारा तिमी कति राम्री,कति सुन्दर ! तिम्रो आकार पनि अनुपम ! कति लामो कति फराकिलो । निलो छाल संग लुकामारी गरिरहेकी रारा !! तिम्रो बयान म कसरी गरौ ? तिम्रो बर्णन गर्न म संग शब्द छैन । म संग त्यो आँट र सामर्थ्य पनि छैन । निलो जलासयमा अनायासै खेल्न मन लाग्यो । चुम्न मन लाग्यो । तिम्रो अपार सौन्दर्य रसास्वादन गर्न मन लाग्यो । तर म बिवश थिएँ रारा !! तिमी परबाट नियाल्न मात्र हौ,सामिप्यता तिम्रो चाहना होइन । तसर्थ तिमीसंग भएको अपार मिलनको रसास्वादन र सामिप्यताको आनन्दानुभूतिवाट आल्हादित हुँदै तिमीसग बिदा हुन्छु | किनकी म मेरो टोलीसंग गमगढी जानु छ | बाइ बाइ रारा !!

तिम्रो बयान म कसरी गरौ ?

हाम्रो मूल गन्तब्य र जिम्मेवारी भएको स्थान गमगढी पुग्न बाँकि नै थियो । लागियो त्यतै । मध्यरातमा मात्र गमगढी संग साक्षात्कार भयो । भोलि पल्टबाट फेरी उही कार्यक्रम ३ दिन चल्यो, अनि सम्पन्न भयो ।

आखिर जे जस्तो परिस्थिति आउछ त्यसलाई सम्हाल्दै र ग्रहण गर्दै अगाडी बढी रह्यौ । फर्केर ताल्चा विमानस्थल आउदा आसपासका किसानका बारीमा लटरम्म फलेका स्याउ स्वयम् टप्प टप्प टिपेर (प्रति गोटा ५ रुपियाँ) खाँदाको मज्जा अनि आनन्दको !! म कसरि बर्णन गरौ ?

तर म बिवश थिएँ रारा !

प्राकृतिक सम्पदाले भरिएको कर्णाली । राराको निलो दहमा दंगदास मुगु अनि लटरम्म फलेका स्याउको शोभा, चौरी चर्ने खर्क,धुपी सल्ला र उच्च हिमाली क्षेत्रमा पाइने बनस्पतिहरुले सजिएको राराको सौन्दर्यको सामु हामी स्वर्गीय आनन्द र स्वप्निल दुनियाँमा बिचरण गरिरहयौ । गरिरहयौ !! आहा मेरी रारा !! हाम्री रारा !! तिमी धन्य !! अनि हामी पनि तिमीसंग साक्षात्कार गर्न पाएकोमाअझ धन्य !!

अस्तु !

प्रतिक्रिया