बिहीबार, साउन २६ २०७९
काठमाडौं २१:३०
वासिङटन डिसी 11:45

महाविद्यालयको यात्रा प्रवेश (काँशीयात्रा स्मरण–२)

– प्रा. डा. मेदनीप्रसाद भण्डारी २०७७ भदौ ९ गते २२:३९ मा प्रकाशित

– प्रा. डा. मेदनीप्रसाद भण्डारी

भनिन्छ मानिसलाई छिटो परिस्थितिसित अनुकूल हुन यात्राले र अप्ठ्यारा हण्डरहरूले सिकाउँछन्।शिक्षाटंन पनि एउटा यस्तै यात्राको एउटा पाटो हो,जून कहिल्यै पनि समाप्त हुँदैन।काँशी यात्राको पहिलो चरण पनि त्यस्तै थियो र यो चरण अर्थात् दोस्रो र तेस्रो पनि उस्तै रोमाञ्चक र आनन्ददायक अनि विश्मयकारक मिश्रीत थिए।तीन वर्षको अवधिमा करीव तीस पटक जति काँशीको यात्रा गरे होला।हरेक पटकको यात्रा खाली विद्यार्थीकै हैसियतमा थियो।दोस्रो पटकको यात्रा क्षितिज जस्ता साथिहरू थिएनन् तर दामोदर गुरू ज्यू भने हुनुहुन्थ्यो।मेरा हरेक दुखः सुख मा साथ दिने साथी क्षितिज इलाहाबाद सरिसकेका थिए मलाई काशीमा एक्लो महसुस भयो मैले दामोदर गुरुलाई यो कुरो बताए। गुरु जी ले मन जोडिए पछि तन टाडा भएर केहि फरक पर्दैन क्षितिज र तिमि मन ले जोडिएका छौ त्यसैले जति टाडा भए पनि नमरुञ्जेल क साथी हौ सम्भवत बुडेशकालमा सगै हुन पनि सक्छौ भनि सम्झाउनु भयो।हो क्षितिज र म भौगोलिक दुरीमा टाडा भए पनि मन ले अझै सगैनै भएको महसुस भएको छ।यो कुरो आनन्द भण्डारी राजन अधिकारी गोविन्द लुइँटेल जस्ता साथी हरु सित पनि लागु हुन्छ उनीहरु लाई मा सधै नजिकै पाउछु।

केही साह्रै नबिर्सिने घटनाहरू मध्ये दुई चारवटा प्रसङ्गहरू उल्लेख गर्छु। आई.ए.पास काँशीबाट गरेपछि मेरो कलेज पढ्ने बाटो खुल्यो।महेन्द्र मोरंग कलेजमा अंग्रेजी र मनोविज्ञान मूख्य विषय राखी वि.ए.को अध्ययनको लागि भर्ना पनि भए।तर त्यो भन्दा पहिले नै जब म आई.ए.को प्रमाणपत्र लिन काँशी गएको थिए।त्यहि बेला दामोदर गुरू ज्यूले पढ्न विराटनगर मानै पढ्नु तर, यहाँको कुनै कलेजमा पनि भर्ना नहुनु भन्ने सल्लाह दिनु भएको थियो।

काँशीमा हुदा नै मोहन चापागाईं र मञ्जु चापागाईंले उनीहरूका भाई रमेश चापागाईं र मलाई डा.राम मनोहर लोंहीया डिग्री माहाविद्यालय भैरवताला काँशीमा भर्ना हुन सल्लाह दिनु भएको थियो।वहाँहरूकै माध्यमले मेरो डा.राम मनोहर लोहियामा वि.ए.प्रथम वर्षको लागि भर्ना भयो।तिनताका त्यो कलेज गोरखपुर विश्वविद्यालयको आंगिक कलेज थियो।सायद हरिचन्द्र कलेज जहाँ भारतका प्रधानमन्त्री लालबहादुर शास्त्रीले अध्ययन गर्नु भएको थियो।गोरखपुर विश्वविद्यालयका नै अंग थिए।

मोरंग कलेजमा निरन्तर हड्ताल र राजनितिक कलहले निश्चित समयमा पढाई सकिने वातावरण थिएन।एक सेमेष्टरको पढाई सकिन झण्डै दुई वर्ष लाग्थ्यो।उता काँशीमा जे होस् शिक्षण संस्थाले आफ्नो समय भन्दा बरू पहिले नै नभए पनि समयावधि भित्रै परीक्षा चाहीँ संचालन गर्थे।हामी भर्ना भएको कलेजमा पनि दुई वर्षमा नै वि.ए.समाप्त भयो।म दुइ तीन महिनामा एक दुई हप्ता गरेर भए पनि कलेजमा देखा पनि परे र परीक्षा पनि द्वितीय श्रेणीमा उत्तिर्ण गरे।यता मोरंग कलेजको वि.ए. पनि ४–५ वर्ष पछि द्वितीय श्रेणीमा नै उतिर्ण गरे।राम मनोहर कलेजमा पढ्ने बेलामा म पुरानो धर्मशालामा सुवोध नेपाल,उमेश,उज्वल सित बसें।त्यसबेला रोडषेशका अषेश अर्यानका दाजु काँशी विद्यापिढमा अर्थशास्त्रको एम.ए.पढ्दै हुनुहुन्थ्यो।काँशीमा नै नियमित विद्यार्थीको रूपमा वहाँले अर्थशास्त्र राम्ररी सिकाउँनु भएको म अझै विर्सन्न।

माथि नै उल्लेख गरे तीस पटक जति काँशी यात्रा क्रममा करीव करीव साना ठूला गरेर म तीस पटक भन्दा बढी नै ठगिए।एक पटक विराटनगर–जोगवनीबाट रात्री वसमा पटना र पटना देखि काँशी रेलमा जाने क्रममा थिए।

पैसाको जोहो गर्न अत्यन्त कठीन थियो।कृषि सामाग्री संस्थानको मूखियको तलवले काँशीको कलेजको शुल्क,मोरंग कलेजको शुल्क अनि हरेक महिना विराटनगरदेखि काँशी यात्रा गर्दा कार्यालयमा प्रायः वेतलवी विदामा नै हिड्नु पर्ने अवस्था आउँथ्यो।धन्य ती प्रमूखहरू जसले वेतलवि नै भएपनि विदा भने मिलाई दिन्थे।

करीव तीनसय भारुको आवश्यकता थियो।दोस्रो वर्षको भर्नाको लागि मैले चिनेजानेका नाता पर्यन्त सबैलाई गुहारें।वुवाले पनि प्रयास गर्नु भयो।साँच्चै भन्ने हो भने कसैले पत्याएनन्।म कुनै पनि शर्तमा प्रथम वर्ष वि.ए.पास भइसकेको पढाई शुल्क तिर्न नसकेर छाड्न चाहन्थिन्।त्येतिबेला मेरो प्रजिता सित र्भखरै यसो माया पिर्ती वस्लाकी जस्तो मात्र अवस्था थियो।उनको घरमा म गई रहन्थें।उनका दिदीहरू सित गफिन्थे।कुरै कुरामा मैले म काँशी जाने तयारीमा छु।खर्च जुटाउने क्रममा छु भनेर सुनाएँ।भोलीपल्ट प्रजिता उनकी भदै भावनालाई लिएर हाम्रो घरमा आइन्।कविताको कुरो भयो,एकैछिन बसेर हिडि हालिन्।

एकछिनमा यसो कताबाट सिरानेमा आँखा परो,त्यहाँ एउटा पुरानो खैरों खाम थियो।मैले विलम्व नगरी त्यो खाम खोलेर हेरें।त्यहाँ खुजूमूजु परेका थुप्रै नोट सहित केही खुद्रा पैसा पनि थिए।सरसर्ती गन्दा करीव दुई सय जति थियो होला ।मेरो वैसालु मनले पत्ता त लगायो तर मैले मनमनै भने जे होस् यो प्रेमको उपहार मानेर अहिलेलाई चलाउँछु वाँकी देखाजाला।त्यो पैसाको सहयोग भएको कुरो मैले केदार कार्की,श्रीधर भण्डारी र गोकुल अधिकारीलाई खुसुक्क सुनाएँ। मेरो काँशी यात्रा सफल पार्ने श्रेय प्रजितालाई जान्छ।प्रजिता ले मलाई बिबाह हुनु पहिला देखिनै हर तरह ले सहयोग गरेकी हुन् र आज पर्यन्त त्यो प्रयास जारी छ।म जगत म धेरै को ऋणी छु तर प्रजिता को ऋण उनको त्याग र संघर्ष लाई नमन गर्छु र आफुलाई धन्य पनि ठान्छु धन्यबाद भन्छु मेरो जिबन यात्रा कि सारथी प्रजितालाई।

त्यो माथि उल्लेख गरेको यात्रा यस्तै प्रेमको निसानी पैसाले तय भएको हुँनाले मनमा एक किसिमको विचित्र मिठो भाव पनि थियो र डर पनि थियो।जे होस् रात्रीवसबाट ओर्लिएर पटना रेल जंक्सन पुग्न करीव १० मिनेट मात्र लाग्छ ।वास्तवमा पटना रेल जक्सन बस स्टेशन र विमानस्थल करीव करीव जोडिएका नै छन्।म वस बाट ओर्लिएर सरासर रेल स्टेशन पुगें र टिकट लिने काउण्टरमा अरू जस्तै गरेर लाइनमा उभिए।मेरो पालो आयो।मैले १०० रूपैयाँको भा.रु.को नोट टिकट काट्ने मान्छेलाई दिए।त्यस मान्छेले पैसा लियो र यसो अर्कालाई वोलाको जस्तो गर्यो।त्यसले पैसा गोजिमा हाल्यो या भुईमा खसायो त्यो चाहीँ मैले थाहा पाइन्।तर–त्यो मलाई टिकट दिनुको साटो पैसा लायो पो भन्छ।मैले भर्खर १०० का नोट दिया–भने त्यो ता कहाँ दिया झुट बोल्न हो पाजी बहादुर भनेर पूरै गाली गलौज गर्न थाल्यो।मेरो पूरै जमिन भाँसिएको जस्तो भयो।पूरै पसिनाले भिजे यो कस्तो डकैति हो?म बोल्न सक्ने अवस्थामानै रहिन्।एकछिन त्यसै अन्धकार छायो।यसै पनि शुल्क तिर्न पूरा पैसा थिएन।त्यसमा पनि १०० लुटिदा त मेरो सर्वश्व हरण भएको जस्तो भयो।त्यो लाइनबाट वाहिर निस्किए र रेलवे पुलिसलाई भएको विवरण सुनाए।रेलवे पुलिसको चाल बुज्न ठीक लागेन।उसले त सित के प्रमाण छ कसले देखेको छ?अफिसलाई दोष लाउने भनेर उल्टै पो निहूँ खोज्न थाल्यो।

सायद त्यो सबै चर्तिकला सामान्य घटना थियो होला तर म एउटा विचित्रको खाडलमा खसे जस्तो अनुभव भयो।म त्यसै रुन थालें।एक जना आधा उमेरका सज्जनले क्या हुआ क्यो परेसान हो भनेर सोधें।मैले इति वृतान्त सुनाँए।उनले भने यो सामान्य लुटाइ हो यिनले सके त प्राण पनि लुटछन्।यिनीहरूको पछि लाग्यौं भने तिमीले लाएका कपडा पनि बेचेर तिम्रा हात खुट्टा भाँचेर माग्ने बनाएर राख्छन्।मलाई विश्वास लाग्यो उनको कुरामा,त्यसैले म चुपचाप फेरी अर्को लाइनमा बसेर टिकट लिएँ।यस पटक ती सज्जनले टिकट हातमा नआउन्जेल पैसा नदिनु पनि भनेका थिए र उ पनि म सितै उभिई पनि दिएका थिए।

मलाई दानव भनेका पनि यही छन् र मानव पनि यही छन् भन्ने ज्ञात त भयो तर आजसम्म पनि मानिस पैसाको लागि कतिसम्म निर्दयी हुन सक्छ,त्यो आभासले भने पोलिनै रहन्छ।

रेल मुगलसराय हुँदै काँशी पुग्यो।म कैयौं पटक रेलयात्रा गरिसकेको भए पनि यो घटना पछि भने सधैं डरमा नै रहें। मलाई अहिले पनि भारतीय रेलबाट एक्लै यात्रा गर्न डर लाग्छ।वास्तवमा मलाई कुनै पनि यात्रा एक्लै गर्नु नपरोस् भन्ने सधै लागि रहन्छ।काँशी त पुगें धर्मशालामा ठाँउ भने रहेनछ।पाण्डेले चिन्ता नगर छतमा सुत्नु भनेर आश्वासन दिए।तर अब अपुग पैसाको पीडा भने छँदै थियो। सायद दामोदर गुरू वा हरी पाण्डे कसैले पैसाको गर्जो टालिदिए।

त्यस पटकको यात्रामा अर्को पनि घटना घट्यो।मलाई चाइनिज कलम साह्रै मन पर्ने हुदा हरेक पटक काँशी जाँदा ४–५ वटा कलम लिएर जान्थें र कलेजका गुरूहरू अथवा अरू पनि मन परेकाहरूलाई उपहार दिन्थें।मलाई गोजीमा कलम र एउटा पाना कागज म सधै राख्थे।अझसम्म पनि त्यसै गर्छु।एक दिन करीव दुई बजे तीर म त्यो चौखम्वामा रहेको पुस्तक पसलमा जाँदै थिए। गल्लीमा व्यापारको रौनक थियो र हिडि नसक्नु भिड थियो।त्यही भिडमा नै एकजना भुस तिघ्रेले मलाई विना प्रयोजननै कठालोमा समात्यो र जुरुक्क उचाल्दै भुईमा थेचार्दै गर्न थाल्यो।न म कसैसित बोलेको थिए या कसैलाई कुनै प्रकारको चोट नै पु¥याएको थिए।तीन चार पटक उचाल्दै पछार्दै गरे पछि,मेरो गोजीको कलम निकाल्यो र भन्यो “तुम वहादुरको इत्तना अच्छा कलम किसने दिया” भोसडी वाले भनेर मेरो कलम लग्यो।

मलाई त्यो विद्याको खानी काँशीमा राक्षसहरूकै वोलावाला रहेछ भन्ने लाग्यो।मैले त्यो अजङ्गको मानिसलाई भने–“आपको कलम चाहिए था तो माग लेते मै खुःसी खुःसी दे देता” इत्तना उत्तेजना क्यो करते है।क्यो गाली देते हो? मलाई एक किसिमले आफ्नो आन,मान,सम्मान नै लुटिएको महशुस भयो।म चौखम्वाको पुस्तक पसलमा नगईकन धर्मशाला फर्किए।

अर्को दिन यो घटना मैले दामोदर गुरूलाई सुनाए र भने हजुर यस्तो नर्कमा कसरी वस्नु हुन्छ?दामोदर गुरूले नर्कमा भएको स्वर्ग,त्यसभित्र रहेको ज्ञानलाई पर्खने र त्यस्ता विकृतीहरूबाट पनि शिक्षा लिनु पर्ने सल्लाह दिनु भयो।

डा. राममनोहर लोहिया कलेज जान लाई केंट वस स्टेशन÷रेल स्टेशनवाट वस अथवा टेम्पो लिनु पर्थियो र राजातालावमा ओर्लेर करीव १५–२० मिनेट हिड्नु पर्थियो।टेम्पोवालाले मलाई सिट अर्थात पूरा सिटमा बस्न कहिल्यै दिएनन्।भाडा भने पुरालिने तर सिट चाँही नदिने क्रम सधैं भयो।अनादर गरेर र त होइन तर सानो शरीर भएको हुँदा अरू ठूलालाई बसाए पछि यसो आडमा मात्र बस्न दिन्थे ।म वि.ए. दोस्रो वर्षको विद्यार्थी तर अरू विद्यार्थीको जस्तो मेरो हैसियत ट्याम्पोमा पनि थिएन।जति कक्षा लिए गुरूज्यूहरू र अरू साथी बीचमा भने लोकप्रिय नै रहे।काँशीमा हुँदा म प्रायः जसो विश्वनाथ मन्दिर भने गई नै रहन्थे, गंगामा विभिन्न थरिका घटना क्रम हेर्थे।

मणिकर्निका घाटमा लास आउने,जलाउने,अलिकति नजल्दै अर्को लास थप्ने अनि मृत शरीरलाई गंगामा डुवाउने क्रम निरन्नतर हुन्थ्यो।आज पर्यन्त पनि भई रहेछ। मानिसलाई आफ्नो वास्तविकताको पहिचान कहिलै पनि हुदैन रहेछ भन्ने कठोर उदाहरण मणिकर्णिका घाटबाट सिक्नु पर्ने हुन्छ ।स्वजन भनेको को हो ? डरलाग्दो सत्यता देखिन्छ मणिकर्णिकामा।

त्यो सानो क्षेत्र भित्र विशाल लास माथिको व्यापार चल्छ।वरिपरी लास सँग विक्री हुने सामाग्रीहरू छन्,क्रेता छन्,विक्रेता छन्,मोलतोल छ।कसले कति ठग्न सक्ने कसले कति कमाउन सक्ने डरलाग्दो क्रयविक्रय छ।त्यहाँ ज्यूदैलाई नै स्वर्ग नर्क कता हो कता पु¥याउने देखि लासलाई त सिधै वैकुण्ठ नै पु¥याउने सम्मका तर्क आउँछन्।पर्यटकहरू फोटो खिच्न र रमाउनमा मस्त त्यहि छन्,पण्डाहरू पटाउन र कमाउन व्यस्त त्यही छन्।मानौं लास भनेको राम्रो व्यवसाय हो।त्यहाँ प्रतिष्पर्धा पनि उत्तिकै छ,मान्छे सितै काग र कुकुरहरू पनि प्रतिष्पर्धामा छन् त्यहाँ। लासको पनि प्रतिष्पर्धा छ,को पहिला जल्न पाउने र घरवाला–भूतपूर्व घरवालाहरूलाई सधैको लागि छुट्टी दिलाउने प्रतिष्पर्धा।

त्यहाँ आफन्तलाई जलाउनको लागि ल्याउनेलाई जति हतार सायद कसैलाई होला ।उनीहरूको व्यवहार विग्रेला भन्ने चिन्ता छ।बस छुट्ने चिन्ता छ,रेल छुट्ने चिन्ता छ वा गाडीवालाले भाडा बढाउँछ कि भन्ने चिन्ता छ।जसले आफ्नो सारा जीवन तिनै आफ्नाका लागि अर्पण गर्यो र आज विदा भयो।उसका लागि एकै छिन धैर्य गर्ने फुर्सद कसैलाई छैन।लासको सास जान पाएको छैन,कतै कुनै पैसा,गहना पो शरीरमा छन् कि भनेर छामछुम सुरु भई हाल्छ नाकको एक रत्तिको फूली तान्नलाई सास जाउनजेल पनि आफन्तहरू पर्खिदैनन्।

त्यो लास माथि गरेको आक्रमण देख्दा लाग्छ ती आफन्तहरू ति मर्नेवालाको मृत्युको लागि लामो समयदेखि प्रतिक्षारत थिए।यस्तो पनि देखिन्छ कि घरमा गएपछि पनि त्यो लडाई कायम रहन्छ कि अमुकले नाकको फुलिलियो या अमुखले त औठी नै लतारो।त्यो घाट वास्तवमा घाट होइन एउटा भयकंर सत्य घटना हो।जीवनको यर्थाथ मणिकर्णिकामा देखिएन भने अन्त कहाँ देख्ने।

म त्यो घाट वाहेक अस्सिघाट,दशासमेहघाट गौरीघाटहरूमा प्रायः ती विभिन्न खाले मञ्चनहरू हेर्न जान्थे।एउटा विचित्र सत्य चाहिँ ठग्नेले छल गरेर भएपनि ठग्छ भनेको मैले काँशी यात्राबाट सिंके।तर त्यो सिकेको ज्ञान प्रयोगमा चाहीँ कहिल्यै आएन किनकी आजसम्म मलाई त्यस्तो छल प्रवृतिलाई समाजबाट कसरी चाहीँ हटाउन सकिन्छ भन्ने ज्ञान नै प्राप्त भएको छैन।

विचित्रता चाहीँ के भने यो संसार क्षण भंगुर छ भनेर एक तरफ लामा लामा प्रवचन गर्ने अनि अर्का तर्फबाट चाहीँ कसरी लुट्न सकिन्छ भन्ने प्रपञ्च बुन्ने वौद्धिक शोषण काँशीमा छ्याप्छयाप्ती थियो।आजको परिवेश र प्रसङ्ग परिपर्तित भएर तिकडमका स्वरूपहरू परिवर्तन हुनपनि सक्छ तर त्यो प्रवृति देख्न भने काँशी जानु पर्दैन।

जे होस् काँशीले धेरै कुरा धेरैलाई सिकाएको छ।आज नेपालमा भएको परिवर्तनले पृष्ठभूमि काँशीमा नै बुनिएको थियो।कैयन म जस्ता हारेकाहरूको फेरी उमिन काँशीबाट सिकेको कुरा विर्सन हुदैन।परिस्थितिसँग अनुकुलता हुने गुणकै कारण मानविय सभ्यताको विकास भएको हो।काँशीको परिस्थितिहरू अन्त नहुन सक्छन् तर मानव प्रवृति जहाँ गएपनि कतै सरल र कतै कुटिल भेटिन्छन्।हरेक परिस्थितिलाई एउटा बिध्या स्थलका रूपमा लिएर दामोदर गुरूले भने जस्तो कमलको सुगन्ध र सुन्हरतालाई हृदयमा सजाउने र दलदल दुर्घन्ध हिलोलाई छिछौदै समाजलाई ज्ञानमय बनाउन प्रयत्नरत हुनु नै विद्यार्थीको लक्षण हो।

काँशीमा हुँदा मल घर नै महत्वपूर्ण व्यक्तित्वहरूका साथै साह्रै सहयोगी र अत्यन्तनै विनयशाली अग्रजहरू पाए।मलाई हरेक दुःख सुखमा साथ दिने मित्र क्षितिज प्रसाईं अनि रन्जन प्रसाइ, मेघराज भण्डारी, शान्तिराम, डम्वर तामाङ्ग र अग्रजहरू नेत्र वस्नेत,डिल्ली भुषाल,राम पाण्डे,हरी पाण्डे,सरोज पाण्डे, अजय सत्याल, सुनिल कोइराला, हरी गौतम, सहपाठी सुवोध नेपाल, उमेश, उज्वल लगायत अरू थुप्रैहरूको ठूलो सहयोग रहेको छ । म सबैलाई सम्मान स्मरण र नमस्कार अनि धन्यवाद दिन्छु।

– प्रा. डा. मेदनीप्रसाद भण्डारी

प्रतिक्रिया