एकान्तवासका अनुभूति किताबमा

सुरेश कोइराला ,नेपाल २०७७ साउन २४ गते १६:५२ मा प्रकाशित

सुरेश कोइराला ,अमेरिका

ईनेप्लिज सम्बाददाता । पत्रकार विनोदबाबु रिजालले लकडाउनको अनुभूति समेटेर लेखेको पहिलो पुस्तक ‘एकान्तवास’ बजारमा ल्याएका छन् । यो पुस्तक कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न गरिएको लकडाउनको सेरोफोरोमा लेखिएको हो ।

२०७६ चैत ८ देखि २०७७ असार १ गतेसम्मका मुख्य घटनाक्रम, तथ्यांक र अनुभूतिलाई रोचक ढंगले पुस्तकमा समावेश गरिएका छन् ।
लेखक रिजालले एकान्तवास अविष्मरणीय लकडाउनको सम्झनाको संगालो भएको बताए । “गाहिरो कल्पनामा डुबेर लेखिएको किताब होइन, कोरोना त्रास र लकडाउनको कालोदिनलाई सम्झने प्रयास गरेको हुँ ।”

लकडाउन अवधिमा अर्थतन्त्र र सामाजिक जीवनमा पारेका प्रभावलाई एकीकृत गरी पुस्तकको आकार दिएको उनले बताए । कृतिमा लकडाउन अवधिमा भएका राजनीतिक उतारचढाव, प्रधानमन्त्रीका अभिव्यक्तिहरु, नयाँ नक्सा जारी, संक्रमितको बढ्दो प्रभावलगायतका घटना समेटिएका छन् ।

कृति युरेका पब्लिकेसनले प्रकाशन गरेको हो । युरेका पब्लिकेसन तथा सम्पूर्ण किताबका लेखराम सापकोटाले पत्रकार रिजालले लकडाउन अवधिलाई पत्रकार र नागरिकको आँखाबाट नियालेर दैनिकीमा लिपिबद्ध गरेको बताए । सापकोटाले लकडाउन अवधिका तथ्यांक मात्रै नभई त्यसले पारेका प्रभाव र आउन सक्ने चुनौतीसमेत समेटी कृति आएकाले पढ्न उपयोगी हुने बताए ।

रिजालले डायरीलाई ७८ मूल शीर्षकमा लेखेका छन् । २ सय ७६ पृष्ठ रहेको पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ । कृतिमा ३ लामा कविता पनि छन् ।

पत्रकार रिजाल चितवनबाट प्रकाशन भइरहेको कायाकैरन दैनिकका सम्पादक हुन् । उनी १६ वर्षदेखि चितवनको पत्रकारितामा क्रियाशील छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको उनी कानुन संकायमा एलएलबी पनि गर्दैछन् । व्यवथापनतर्फ कक्षा ११ र १२ मा कविलास माविमा अध्यापन पनि गर्छन् । धादिङको वेनिघाट रोराङ–१० का रिजाल हाल भरतपुर–१० मा बस्छन्

 

प्रतिक्रिया