विराटनगर, ८ साउन । प्रदेश नं.१ को आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलले कोभिड–१९ ले अर्थतन्त्र र राजस्वको क्षेत्रमा गम्भीर असर पारेको बताउनुभएको छ।
प्रदेश सभाको बैठकमा विभिन्न समयमा शून्य समय र विशेष सयममा उठाउनु भएको सांसदहरुको प्रश्नको आज जवाफ दिँदै उहाँले यस प्रदेशमा आर्थिक वर्ष २०७६÷७७ मा चालु खर्च ६४दशमलव पाँच प्रतिशत, पूँजीगत खर्च ७५ दशमलव ७९ प्रतिशत भएको छ भन्नुभयो।
कुलमा ७०दशमलव ८३ प्रतिशत बजेट खर्च र राजस्वमा ७१ प्रतिशत प्रगति भएको जनाउँदै कोरोनाका कारण भन्सार तथा आन्तरिक राजस्वमा पनि असर परेको बताउनुभयो।
उहाँले उत्पानदशील र रोजगारीका क्षेत्रमा सरकार लगानी गर्ने भन्दै बजेटले निर्देशन गरेको क्षेत्र बाहेक गैर क्षेत्रमा सरकारले बजेट खर्च नहुने स्पष्ट पार्नुभयो ।
मन्त्री आङ्बोले सरकारले पुरानो योजनालाई सम्पन्न गर्न बजेटले निरन्तरता दिएको छ भन्दै सरकार अनुत्पादक क्षेत्रको बजेट कटौती गरेको छ भन्नुभयो ।
सभामा प्रदेश सभा नियामावली, २०७४ को नियम १४३ बमोजिम सुशासन तथा योजना समितिका सभापति अर्जुन राई, अर्थ समितिका सभापति मोहनकुमार खड्का र न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले समितिको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सदनमा पेश गर्नुभयो ।
यस्तै, प्रदेश सभा नियमावली, २०७४ को नियम १०५ बमोजिम सामाजिम विकास समितिका सभापति सरिता थापाले प्रतिवेदन सहित प्रदेश नं.१ को जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ का सम्बन्धमा समितिको संशोधन प्रतिवेदन सदनमा पेश गर्नुभयो।
शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य उमीता विश्वकर्माले सङ्घीय सरकारले गोरखा सैनिकले पाउने सामाजिक सुरक्षा भत्ता काट्न नहुने बताउनुभयो ।
अर्कासदस्य गोपालचन्द्र बुढाथोकीले जनता आवास कार्यक्रमबाट लक्षित समूह वा वर्गलाई मात्र दिन सरकारसँग माग गर्दै झापाका विभिन्न नदीमा आएको बाढीका कारण विस्थापित परिवारमा सरकारले राहत वितरण गर्नु पर्ने र किसानलाई मलको अभाव हुन नदिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो।
सदस्य यशोदा अधिकारीले भ्रष्टाचारलाई निर्मूल पारी जनतलाई सुशासनको अनुभूति दिलाउन सरकार गम्भीर बन्नु पर्छ भन्नुभयो । सदस्य राजकुमार ओझाले बाल सुधार गृह र कैदी बस्ने घरलाई सरकारले अविलम्ब सुधार गर्नु पर्ने भन्नुभयो ।
त्यस्तै, सदस्य वशन्त बानियाँले झापाको कचनकवल नेपालकै सबैभन्दा गहिरो ठाउँ भएको र अहिले अबिरल बर्षाका कारण सो क्षेत्र डुवानमा परि मानिसहरु मर्माहत भएकाले प्रदेश सरकारले पीडित परिवारलाई उचित बास एवं राहत दिन माग गर्नुभयो । प्रदेश सभाको अर्को बैठक भोलि बिहान ११ः३० मा बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो।
प्रतिक्रिया