यस वर्ष १२५ वटा विओपी निर्माण हुने

मोहम्मद सदरुल २०७७ साउन ८ गते २१:१४ मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर, ८ साउन(रासस) ः नेपाल सरकारको सहमतिमा नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले उद्योगी र व्यावसायी उत्साहित बनेका छन्।

उद्योगी व्यावसायीले सङ्घीय सरकारले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको राष्ट्रिय बजेटबाट उद्योगी एवं व्यावसायी उत्साहित हुन नसकेपनि मौद्रिक नीतिबाट हाम्रो क्षेत्रमा धेरै टेवा पुग्ने भएकोले यसको सफल कार्यान्वयनमा सरकारले ध्यान दिनु बताएका छन्।

कोरोनाका कारण निजी क्षेत्रले अर्थतन्त्रमा खेल्ने भूमिका खेल्न नसकेको र उद्योग एवं व्यापार नै सङ्कटमा परको बेलामा मौद्रिक नीति सार्वजनिक हुनुले हामीमा खुशी छाएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो।

मोरङ व्यापार संघ, उद्योग संगठन र विराट व्यापार संघद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उद्योगीहरुले पूर्व क्षेत्रमा पर्यटनको विकास गर्न र माउन्टेन उडान भर्न विराटनगर विमान स्थलको स्तरोन्नति हुनु पर्ने भन्नुभयो।

उहाँहरुले राज्य कोषलाई बलियो बनाउने र अहिले कारोनाका कारण सङ्कटक व्यहोरिरहेको निजी क्षेत्रका होटल व्यावसाय, पर्यटन व्यावसाय, शैक्षिक संस्थालाई उकास्न सरकारले ध्यान दिनु पर्ने भन्दै विराटनगमा लामो समय देखि उद्योगी र व्यापारीले माग गर्दै आएको उद्योग प्रदर्शनी केन्द्रको निर्माण गर्न सङ्घीय सरकारले मद्दत गर्नु पर्ने कुरामा जोड दिनुभयो।

सो अवसरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले उद्योग एवं व्यापारका क्षेत्रमा तत्काल सरकारले गर्न सक्ने मात्र सुझाव दिन उद्योगी एवं व्यापारीलाई आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिले जनताका समस्यामा गम्भीर हुने भन्दै पीडा र दुःखको अवस्थामा नै निकास निस्कन सकिने धारणा राख्नुभयो।

प्रतिनिधि सभाका सदस्य एवं राज्य व्यवस्था समितिका सदस्य समेत रहनु भएका नेता पण्डितले नेपाल भित्रका व्यापार फस्टाउन सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो।

उहाँले स्वदेशमा व्यापारहरु फस्टाउन नेपालीहरु सीमावर्ती बजार जान रोकिनु पर्ने भन्दै नेपाल सरकारले सीमालाई व्यवस्थित गर्न सीमावर्ती क्षेत्रमा विओपी (बोर्डर आउट पोस्ट) बनाएको र चालु आर्थिक वर्षमा १२५ वटा व्यवस्थित विओपी बनाउने जानकारी दिनुभयो।

एउटा बोर्डर पोस्टबाट नाङ्गो आँखाले अर्को बोर्डर पोस्ट देख्न एवं निगरानी गर्न सक्ने दुरीमा निर्माण हुने भन्दै केही वर्ष भित्रैमा नेपाल सरकारले नेपाल र भारतको सीमाना नजिक रहने ५०० विओपीलाई व्यवस्थित गरिसक्ने जानकारी दिनुभयो । सीमा क्षेत्रलाई व्यवस्थित गर्ने योजना अनुरुप सरकारले पूर्वाधार अन्तर्गत सडक बिजुली, टेलिफोन पनि विस्तार गर्ने नेता पण्डितले बताउनुभयो ।

विराटनगर महानगरपालिका क्षेत्रमा निर्माण हुने चक्रपथको उचाई बढाउने जसबाट विराटनगर क्षेत्र बाढी र डुबानबाट जोगिने जानकारी दिँदै नेता पण्डितले विराटनगरको पश्चिम क्षेत्रमा रहेका नहरलाई वाइपास सडक निर्माण गर्न सरकारले रु.२० करोड बजेट विनियोजन गरेको छ भन्नुभयो । उहाँले सरकाले कुनै नयाँ योजना शुरु नगर्ने र पुरानो योजनाहरुलाई सम्पन्न गर्न बजेट व्यवस्था गरेको छ भन्नुभयो।

प्रतिक्रिया