पौडेल तेस्रो पटक पनि निर्विरोध

इनेप्लिज २०७७ असार २७ गते ११:५० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आफ्नो अन्तर्राष्ट्रिय अध्यक्ष निर्विरोध चयन गरेको छ । संसारभरि छरिएर रहेका नेपाली साहित्यकारहरुको संस्था अनेसासले जापानमा बसेर नेपाली साहित्य प्रवर्धन गरिरहेका प्रकाश पौडेल ‘माइला’लाई आफ्नो अध्यक्षका रुपमा निर्विरोध गरेको हो ।

यसअघि दुई पटक उनी उपाध्यक्ष र एसिया क्षेत्रका उपाध्यक्षका रूपमा पनि निर्विरोध चयन भएका थिए। यससँगै उनी अनेसासमा निर्विरोधमा ह्याट्रिक गर्ने दुर्लभ साहित्यकार बन्न पुगेका छन्।

‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा पदका आकांक्षीहरु धेरै छन् । अरु विभिन्न पदमा जान भित्र ठूलो लडाईँ छ तर प्रकाश मात्र यस्ता निष्कलंक व्यक्ति हुन्, जो निरन्तर निर्विरोध हुँदै अध्यक्षसम्म पुगेका हुन्,’ अनेसासका आजीवन सदस्य एवं सर्जक महेश पौडेलले साहित्यपोस्टसँग भने, ‘एक अर्थमा प्रकाश भाग्यमानी पनि हुन् ।’

एक दशकभन्दा बढी समयदेखि अनेसासमा सक्रिय प्रकाश पौडेल ‘माइला’ले जापान, अस्ट्रेलिया, अमेरिका र नेपालमा नेपाली साहित्यको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । जापानमा नेपाली साहित्यका महत्त्वपूर्ण कार्यक्रम निरन्तर हुनुमा पनि पौडेलको नेतृत्वलाई मुख्य मानिन्छ । १५ वर्षअघि अध्ययनका लागि जापान पुगेका पौडेल त्यहाँका सफल रेस्टुरेन्ट व्यवसायी पनि हुन्।

पौडेल हाइकु लेखनमा पनि सक्रिय छन् । जापानमा केन्द्रीय कार्यालय रहेको वर्ल्ड हाइकु एसोसिएसनका कार्याकारी सदस्य पनि हुन् । उक्त पदमा पुग्ने एक मात्र गैरजापानी नागरिक हुन् ।

कथा लेखनमा पनि सक्रिय पौडेलको कथा संग्रह प्रकाशनको तयारीमा छ ।

शाभार :साहित्यपोस्ट कम (https://sahityapost.com/2020/07/11136/

प्रतिक्रिया