मानवताको घण्टी

बिकास थापा २०७७ असार १० गते २१:४३ मा प्रकाशित

कसरी सक्छु
फुकाए मन
अटाउन सहजै यो संसारको पीडा

कसरी सक्छु
भत्काएर चौतारी
नपर्ख भन्न अव आइन्दा बटुवा

कसरी सक्छु
बनेर फगत ईश्वर
फर्काइदिन सहजै घाट पुगेको मृत्यु

कसरी सक्छु
जोगाएर टाल्न
प्वाल परेको विश्वासको पर्खाल

कसरी सक्छु
च्यातेर हृदय
फक्राउन सधै ह्रदयकै मुस्कान

कसरी सक्छु
हटाएर बिसौनी
नबिसाऊ भन्न जिन्दगीको भारी

कसरी सक्छु
खसालेर ॲासु
अरूलाई दिॅदै हिॅड्न सान्त्वना

यो क्रुद्ध समयमा
अव कति नै हुन सक्ला र
मानवताको बिस्तार
कसले बोल्ला र अब
सत्यमा अडिक दुई शब्द

सत्यको किनबेच चलेको समय
कसले पिउला र सहजै अव हेमलक बिष
कसले उठाउला र अब
सुकरात बन्न जोखिम

सुन्ने कानहरू नै बहिरा भएपछि
बज्दाबज्दै यतिखेर बज्न छोडेको छ
मानवताको घण्टी


स्रोत : कविता संग्रह “ओकलेर आगो “

प्रतिक्रिया