महाभारत युद्धमा नेपालका पात्र

सञ्जय साह मित्र २०७७ असार ८ गते २:४४ मा प्रकाशित

सञ्जय मित्र,

महाभारतलाई कतिपयले महाकाव्य मान्दछन्।यदि यसलाई महाकाव्य मात्र मान्ने हो भने यसको इतिहाससित कुनै सम्बन्ध हुँदैन।

महाभारतलाई इतिहास मान्नेहरु पनि छन्।यस कृतिलाई इतिहास मानेर पनि साहित्यको भाषामा लेखिएको इतिहास मान्दछन्।यस कृतिलाई इतिहास मान्नेहरुले के तर्क दिन्छन् भने जुन समयमा यो कृतिको रचना भयो, त्यस समयमा पुस्तकहरुको रचना छन्दमा नै गर्ने चलन थियो । छन्दमा नै विद्वानहरुले आफ्ना अभिव्यक्तिलाई सुरक्षित राख्दथे।

इतिहासको घटनालाई कविले आफ्नो क्षमताले अत्यन्त कलात्मक किसिमले प्रस्तुत गरेका छन् भनेर पनि महाभारतको विषयमा भन्ने गरिन्छ।मार्गशीर्ष (मङ्सिर) महिनाको शुक्ल १४ (चतुर्दशी वा पूर्णिमाभन्दा एक दिनपहिले) महाभारत युद्ध सुरु भएको थियो भन्ने तथ्य पनि पाइन्छ । यो युद्ध अठार दिनसम्म चलेको थियो।

महाभारत युद्धलाई इतिहासको दृष्टिले विचार गरेर कहिलेकाहीँ यस युद्धमा नेपालको पनि सहभागिता रहेको चर्चा चल्दछ, कतै कतै पढ्न पनि पाइन्छ ।

हुन त त्यत्तिवेला नेपाल भन्नाले वर्तमान काठमाडौँ उपत्यकालाई मात्र जनाउँदथ्यो होला ? यसवेलाको इतिहास त्यत्ति प्रकाशमय पाइँदैन।महाभारत युद्ध हुँदा नेपा (सम्भवतः नेपाल) को राजा यलम्बर थिए ।उनी किराँतका सरदार थिए । प्रथम किराँती राजा थिए ।उनले महाभारतमा कौरवको पक्षबाट युद्ध लड्न गएका थिए ।यलम्बरलाई कृष्णले मारेका थिए भन्ने उल्लेख पाइन्छ।

यलम्बरलाई आकाश भैरवको रुपमा पूजा काठमाडौँमा पूजा गरिन्छ भन्ने उल्लेख पनि पाइन्छ । युद्ध सकिएपछि यलम्बरको टाउको आकाशमार्ग भएर काठमाडौँ आएको र आकाश भैरवको रुपमा पूजा हुन सुरु भएको किंवदन्ती पाइन्छ ।

धेरै पहिले मैले कता हो कुन्नि यो पनि पढेको थिएँ कि यलम्बरले पाण्डवको पक्षबाट युद्ध लडेका थिए । मैले कहाँ पढेको वा सुनेको थिएँ,अहिले सम्झना भएन।

महाभारत युद्ध हुँदा नेपालमा किराँतहरुको राज्य थियो भन्ने अर्को पनि प्रमाण पाइन्छ । अहिले पनि मूल रुपमा किराँत क्षेत्र भनेर चिनिएको कोसीको आसपासको पहाडी क्षेत्रको किराँती राजा हुमति थिए।किराँती राजा हुमतिले महाभारत युद्धमा कौरवहरुको साथ दिएका थिए ।उनी आफ्ना सेनासहित पाण्डवहरुको विपक्षमा युद्ध लगेका थिए ।राजा हुमतिको विषयमा खासै थप जानकारी पाइन्न । तर यदि राजा नै गएका थिए भने उनका सेना पनि गएका थिए । यसरी संख्याको हिसाबले ठूलै हुनुपर्दछ।

महाभारत युद्धको समयमा कपिलवस्तुको शाक्यवंशको स्थापना भएको र राज्य संचालनमा रहेको पनि संकेत पाइन्छ तर स्पष्ट पाइन्न । यसबारे पनि खोज हुनु आवश्यक छ।

महाभारतमा विराट नरेशको प्रसंग खूब सम्मानका साथ आउँछ । विराट राजा, राजा विराट, विराट नरेश आदि नाम त महाभारतमा खूब आउँछ । उनको राज्यको नाम विराट थियो र राजधानी विराटनगर थियो कि ?विराटनगर मुख्य केन्द्र भएको राज्यका राजा थिए कि ? विराटनगरको स्थापना पो गरेका थिए कि ? आफ्नै नाउँमा नगर बसालेर राजा भएका थिए कि ? कि उनको प्रसिद्धले उनी निवास गर्ने ठाउँकै नाम परिवर्तन भएको थियो ? वास्तविक नाम त सितिमिति पाइन्न तर लोकजीवनमा भने राजा विराट नै भन्ने गरिन्छ । उनको प्रतिभा विराट थियो, उनको प्रशंसा विराट थियो, उनको राज्य विराट थियो, उनको सम्पत्ति विराट थियो, उनको उदारता विराट थियो वा नाम नै विराट थियो ? वा विराटतासँग सम्बन्धित कुनै मुख्य उपलब्धि थियो ?

नाम जे भए पनि विराट नरेश आफ्नो सम्पूर्ण शक्ति लगाएर युद्धमा पाण्डवका साथ दिएका थिए । छोरो उत्तर र आफू दुवै जना विराट युद्धमा मारिएका थिए । विराट नरेशको छारो उत्तर आफैँमा पनि शक्तिशाली वीर मानिन्छन् । तर युद्धमा पहिलो दिन नै उत्तरले वीरगति प्राप्त गर्दछन् । युद्धको चौधौं दिनमा राजा विराट पनि वीरगति प्राप्त गर्दछन्।द्रोणाचार्यसँगको युद्धमा राजा विराटले वीरगति प्राप्त गरेको उल्लेख पाइन्छ।

पाण्डवहरु अज्ञातवासको समयमा विराटकहाँ नै भेष बदलेर बसेका थिए । एक वर्षसम्म चिन्दैनन् तर अन्त्यमा कौरवहरुसितको युद्धमा अर्जुनको सहयोगले छोरो उत्तरले विजय प्राप्त गरेपछि केही दिनमा भेद खुलेको थियो।

महाभारत युद्धका अर्का एक महत्वपूर्ण पात्र हुन् – घटोत्कच।हात्तीको जस्तो टाउको भएको र कपाल नभएको अवस्थाले गर्दा नै उनको नाम घटोत्कच राखिएको हुन सक्छ । घटोत्कचको जन्म भीम र हिडिम्बाबाट भएको थियो । यही हिडिम्बाको नामबाट हेटौँडा बस्ती (हाल बागमती प्रदेशको राजधानी सहर) बसेको किंवदन्ती पाइन्छ । हिडिम्बा राक्षस जातकी युवती थिइन्।

घटोत्कचको भूमिका महाभारतमा अद्वितीय छ।उनको महत्व यसैबाट बुझ्न सकिन्छ कि कौरव पक्षलाई उनले हराउनै लागेका थिए तर अर्जुनबधका लागि कर्णले जोगाएर राखेको इन्द्रास्त्र (इन्द्रद्वारा प्रदत्त दिव्यास्त्र) को प्रयोग उनैमाथि गर्नु परेको थियो । दिव्यास्त्र लागेर भूइँमा ढल्न लाग्दा उनका पिता भीमले आफूहरुतिर नाइँ शत्रु पक्षतिर ढल भनेर आग्रह गरेका थिए।घटोत्कच भूइँमा ढल्दामात्र उनको शरीरले थिचिएर कैयौँ योद्धा मरेका थिए।

घटोत्कचको छोराको नाम बर्बरिक थियो । बर्बरिकको जन्म घटोत्कच र अहिल्यावतीको संयोगबाट भएको थियो । कतै कतै बर्बरिकको आमाको नाम कामकंटका रहेको पनि पाइन्छ । मौरवी र घटोत्कचको पुत्रको रुपमा पनि बर्बरिकको परिचय पाइन्छ । दैत्य जातिका मूरकी छोरीको नाम मौरवी भएको उल्लेख पाइन्छ । मूर चाहिँ प्रागज्योतिषपुर (वर्तमान आसाम) का प्रसिद्ध दैत्य थिए । बर्बरिक पनि महान योद्धा भएको उल्लेख पाइन्छ । बर्बरिकको टाउकोलाई पूजा गरिने ठाउँ वर्तमान राजस्थानको सिकर जिल्लामा रहेको छ । आजभोलि कतिपयले यस ठाउँलाई खाटूधाम पनि भन्ने गरेका छन् ।

यहाँ अलिकति शंकाको पक्ष के रहेको छ भने पाण्डवहरु बार वर्ष वनवास र एक वर्ष अज्ञातवास गरी तेर वर्ष बसेका थिए । अज्ञातवास सकिएको कति समयपछि महाभारत युद्ध भयो भन्ने कुरो पनि एउटा पक्ष हो ।

वनबासमा रहेको बखत हिडिम्बासित भेट भएको थियो र घटोत्कचको जन्म भएको थियो । महाभारत युद्धको समयमा घटोत्कचको पनि छोरो पनि युद्ध गर्न लायक भइसकेको थियो । घटोत्कचको जन्म र महाभारत युद्धको बीचमा कति वर्षको अन्तराल देखिन्छ ? यही विषयलाई अलिकति खुल्दुली लागिरहन्छ ।

यलम्बर, हुमति र विराट त राजा नै भइहाले महाभारत युद्धमा । घटोत्कचको बासस्थान पनि चुरे र महाभारतकै बीचको क्षेत्र हुनुपर्छ किनभने घटोत्कचको विवाह अझ पूर्वतिर भएको देखिन्छ । यसले बर्बरिकलाई पनि यतैको मान्न सकिन्छ।

घटोत्कच महाभारतमा एक्लै गए कि साथीहरुलाई लिएर ? यदि साथीहरुलाई लिएर गएका छन् भने महाभारतमा दैत्य जातिको पनि पाण्डवको पक्षबाट योगदान साबित हुन्छ । बर्बरिक त एक्लै गएको उल्लेख पाइन्छ तर यलम्बर, हुमति र विराट तरी तीन राजाहरुले महाभारत युद्धमा आफ्ना सेनासहित गएका थिए । राजाहरु कहिल्यै पनि एक्लै युद्ध गर्दैनथे । यसबाट यो अनुमान हुन्छ कि महाभारत युद्धमा नेपालका कैयौँ पात्रहरुले कौरव र पाण्डव दुवै पक्षबाट युद्ध लडेका थिए।

पश्चिम नेपालका तत्कालीन क्षेत्र वा राज्यहरुबाट पनि महाभारत युद्धमा भएको सहभागिताबारे खोजी हुनु आवश्यक छ।वा,भएको भए हाम्रो परिवेशमा पनि जानकारी आवश्यक देखिएको छ।

(कतिपय ठाउँमा यो पनि उल्लेख भएको पाइन्छ कि विराट नरेशको दरबार रहेको विराटनगर भारतमै छ । राजस्थानमा विराटनगर भन्ने एउटा बस्ती छ । विराटनगर नामका अन्य बस्तीहरु पनि पाइन्छन् ।उसो त हिडिम्बाको वनप्रान्त पनि भारतमा रहेको उल्लेख कतै कतै पाइन्छ तर नेपालमा भने जे जस्ता किंवदन्तीहरु र त्यसकैका आधारमा साक्ष्यहरु दिइन्छन्,तिनैलाई यहाँ आधार मानिएको हो ।)

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया