रुकुम चौरजहारी घटना प्रति मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान(काहुरास्ट)को प्रेस विज्ञप्ति

इनेप्लिज २०७७ जेठ १८ गते ११:३८ मा प्रकाशित

 

रुकुम चौरजहारी घटना प्रति मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान(काहुरास्ट)को प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । संस्थाकी महासचिव मीना शर्मा द्वारा जारी उक्त प्रेस बिज्ञप्तिमा काहुरास्ट नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय मानेको अवस्थामा पनि कथित जातीयताका नाममा यति ठूलो जघन्य अपराध हुनु मानव अधिकार र कानुनको उपहास भएको काहुराष्ट नेपालको ठहर छ भनेको छ ।

यसै सम्बन्धमा जारी गरिएको प्रेस विज्ञप्तिको बिस्तृत पूर्ण पाठ जस्ताको त्यस्तै :

मिति १५ जेठ, २०७७
प्रेस विज्ञप्ति

२०७७ साल जेष्ठ १० गते, शनिवारका दिन रुकुम जिल्लाको चौरजहारी नगरपालिका ८, सोतीमा जाजरकोटको भेरी नगरपालिका वडा नं ४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ४ गणेश बुढा र भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको मृत्युभएको घटनाप्रति मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान(काहुरास्ट) नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय मानेको अवस्थामा पनि कथित जातीयताका नाममा यति ठूलो जघन्य अपराध हुनु मानव अधिकार र कानुनको उपहास भएको काहुराष्ट नेपालको ठहर छ ।

सार्वजनिक सूचना अनुसार जाजरकोटको भेरी नगरपालिका वडा नं ४ रानागाउँका नवराज विक र मल्ल थरकी १७ वर्षीय युवतीबीच १ वर्षदेखि प्रेम सम्बन्ध थियो । उनीहरु प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न चाहेको स्थितिमा केटी पक्षबाट स्वीकार नगरीएका कारण केटापक्ष समूह बनेर गएको पृष्ठभूमि देखिएको छ । दुई पक्षबीचको तनाबलाई नियन्त्रण गर्न सकिने स्थिति हुँदाहुँदै उक्त घटना घटन् पुगेको देखिन्छ । यसैक्रममा ४ जनाको शव भेट्टिएको र २ जना अझै बेपत्ता भएको बताइएको छ ।

घटनाको प्रकृति र प्रभाव क्षम्य छैन, अतः घटनाको निस्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कडा कार्वाही गर्न तथा यस्ता प्रकारका घटनाहरु दोहोरिन नदिन सरकारसँग आग्रह गर्दछौँ । साथै बेपता भैरहेकाहरुको शिघ्र खोजी गरी घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था गर्न र मृत्युभएका परिवारका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न काहुराष्ट नेपाल जोडदार माग गर्दछ ।

मीना शर्मा
महासचिव

प्रतिक्रिया