लोक दलको प्रेस विज्ञप्ति

इनेप्लिज २०७७ जेठ १ गते १०:४७ मा प्रकाशित

नेपालमा अहिले दुई वटा अन्तर्राष्ट्रिय सीमा सम्बन्धी मुद्दा चर्चामा रहेको छ । एउटा लिपुलेक र अर्को सगरमाथाको । यसका साथै देशको मुख्य सचिवालय सिंहदरबार अगाडि विदेशी नागरिकद्वारा नेपाली सुरक्षाकर्मीमाथिको आक्रमण । यी विषयहरुमध्ये नेपाल सरकार र संसदको अन्तर्राष्ट्रिय समितिले लिपुलेकको विषयमा मात्र कुरा अगाडि बढाएको र त्यसमा पनि भारतलाई मात्र केन्द्रित गरेर, जबकि यसमा चीनको पनि त्यति नै सहभागिता रहेको छ । यस वाहेक बांकी अन्य दुई विषयमा सरकार मौन बस्दा सरकारको एकपक्षीय रुप उजागर भएको छ ।

लिपुलेकमा भारतीय पक्षद्वारा बनाइएको सडक अहिले उदघाटन पछि मात्र किन चर्चामा ल्याइयो, जबकि यो निर्माण कार्यको शुरुवात सन् २००३ देखि नै भएको हो । यति लामो समय सम्म निर्माण कार्य सम्पन्न हुँदा नेपाली शासकलाई थाहा नहुनु पक्कै होइन् । निर्माण हुञ्जेल चुप बस्ने र अहिले उदघाटनपछि आफ्नो नेता कार्यकर्तालाई उचालेर संसद र सडकमा विरोध जनाउनु दोहरो चरित्र हो ।

उता चीनमा सगरमाथा माथिको दाबीको कुरा उठ्दा सरकार चुप बस्नु र सिंहदरबार अगाडि दिउँसै चिनियाँ नागरिक द्वारा सुरक्षाकर्मी माथि आक्रमण हुँदा कुनै कारवाही समेत नगरी छाड्नुले सरकारको चरित्र उदांगो पारेको छ । चीनले जे गर्दा पनि चुप बस्ने र भारत विरुध नक्कली राष्ट्रवादको नारा चर्काएर भारतसँगको रोटीबेटीको सम्बन्धलाई तोड्ने सरकारको दोहरो सुनियोजित षड्यन्त्र रहेको छ ।

कम्युनिष्ट सरकार जुन–जुन बेला संकटमा आउँछ अनि भारत विरुध नक्कली राष्ट्रवादको आन्दोलन चर्काएर सत्ता जोगाउने र सत्ता प्राप्त गर्ने पुरानो शैली हो । तसर्थ नेपाल सरकारले भारतसँग वार्ताको माध्यमबाट सीमा समस्या सामाधान गर्नु पर्दछ र चीनसँग पनि हुम्ला, रसुवा, सिन्धुपाल्चोक र संखुवासभाको ११ स्थानमा सीमा समस्या रहेकाले त्यसको लागि पनि तत्कालै कुटनैतिक पहल थाल्नु पर्दछ । साथै, लकडाउनको बेला सिहंदरबार अगाडि उदण्ड व्यवहार गर्ने पक्राउ परेका र त्यसमा संलग्न सबैलाई नेपालकै अदालतमा मुद्दा चलाउनु पर्दछ र नेपालको कानुन बमोजिम सजाय गर्नु पर्दछ । तर चीन अगाडि लम्पसार पर्दै नेपाल सरकार दुई घंटामै ती अपराधिक गतिविधि गर्नेलाई छाड्नु भनेको नेपाल सरकार चीनको अगाडि कुटनीतिक रुपमा कमजोर साबित भएको छ भने सरकारले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई बदनाम गराएको हाम्रो ठहर रहेको छ ।

यसका साथै भारतीय सीमामा रहेका नेपालीहरुसँग भईरहेको दुव्यवहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सीमामा भारतका विभिन्न शहरबाट आएका नेपालीहरूलाई नेपालको कोरेन्टाईनमा नराखी सुरक्षाकर्मीबाट कुटेर भारततर्फ पठाउने अमानवीय कार्यलाई तत्काल रोकी बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखेर निको हुनेलाई घर पठाउने र संक्रमित भए उपचार गर्न पार्टी सरकारसंग माग गर्दछ । यस कार्यले संक्रमितको पहिचान गर्नमा समेत मद्दत मिल्ने हाम्रो निश्कर्ष रहेको छ । साथै अन्य देशमा समस्यामा परेका नेपालीलाई समेत नेपाल ल्याउने व्यवस्था सरकारले गर्नु पर्दछ ।

त्यस्तै, काम नगरी घरमा बसेर कति दिन र कसरी बाँच्न सकिन्छ भने विषयप्रति सरकार गम्भीर भई प्रत्येक पालिकामा कोरोना भाइरसको चेकजाँचको व्यवस्था मिलाई भारतसँगको सीमामा कडाई गरि र अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरि लकडाउनको विकल्प सरकारले दिनु पर्दछ र आन्तरिक लकडाउनलाई खुल्ला गर्नु पर्दछ । त्यस्तै, घरमा बसेकालाई नगदसहितको महिनावारी रुपमा राहत दिन तथा लकडनको अवधिसम्मको बैंक ब्याज र घरभाडा सरकारले मिनाहा गराउने व्यवस्था गर्नुका साथै नयाँ आ.व. को बजेटमा लकडाउनबाट प्रभावित मजदुर, किसान, विद्यार्थी र उद्योगी, व्यवसायीको लागि प्रभावकारी आर्थिक प्याकेज ल्याउन लोक दल सरकारसंग माग गर्दछ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य विश्वमा नाकारात्मक भईरहँदा कर र नाफा गरि मुल्यको दुई तिहाई सरकारले लिनु भनेको सरकारबाटै कालोबजारी हुनु हो र जनतामाथिको शोषण रहेको हाम्रो निश्कर्ष छ । तसर्थ तत्काल मुल्यमा अधिकत्तम कटौती गरि डिजेल, पेट्रोल, ग्यास लगायका पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न हाम्रो माग छ ।
जय समाज

कौशल कुमार सिंह
अध्यक्ष, लोक दल
मो. ९८५११३३८६१
मिति २०७७।०२।०१ गते ।

 

प्रतिक्रिया