नेपालको पहिलो गायिकाको निधन

मृदुला कोइराला २०७७ वैशाख १९ गते ४:५६ मा प्रकाशित

भाइ अविन अधिकारीले राती अमेरिका बाट २ बजे फोन गरेछन्। त्यस बेला मेरो फोन उठ्ने कुरै भएन। बिहान मेसेज हेर्दा “Aama is no more” यस्तै लेखिएको थियो। मेसेज ले मन विचलित भयो। मेरी गुरुआमा रानुदि (रानु अधिकारी) बितेको पिडाले असह्य भयो। जेठी छोरी र छोरा अमेरिकामा बस्थे। त्यही भएर वहाँ अमेरिका आउने जाने गर्नु हुन्थ्यो। न्यूयोर्कमा मलाई भेट्न मेरो घर आउनु हुन्थ्यो। साई भक्त हुनु हुन्थ्यो। मीठो भजन गाउनु हुन्थ्यो। हाम्रो अनुरोधमा हामीलाई मीठो भजन गाएर सुनाउनु हुन्थ्यो

२००७ सालमा स्वर्गीय तारिणी प्रसाद कोइरालाले विराटनगरमा स्थापना गर्नु भएको रेडियो नेपालबाट क्रान्तिको गीत गाउने औपचारिक रुपमा भन्नु पर्दा रेडियो नेपालकी प्रथम महिला गायिका हो वहाँ। त्यो बेला वहाँले तारिणी बाबुले रचेका गीतहरू मात्रै गाउनु भयो। वहाँ नेपाली काँग्रेस नेत्री नोना कोइरालाकी बहिनी पनि हो, रानु देवी।

आदर्श बालिका विद्यालय विराटनगरमा अध्यापन गर्नु भएकी अत्यन्त सरल स्वभावकी रानुदि वहाँका सबै विद्यार्थीहरूका लागी आदरणीय हुनु हुन्थ्यो र अहिले पनि हुनुहुन्छ। श्रद्धेय गुरु आमाले लामो समय अध्यापन गर्नु भयो र त्यही बालिका विद्यालयबाट रिटायर हुनुभयो।

जन आन्दोलन पछि केही समयका लागी वहाँ नेपाल महिला संघ मोरङ को अध्यक्ष पनि हुनु भयो। २०३६ सालको शिक्षक आन्दोलनमा मेरी आमा संगै जेल पर्नु भएको थियो।

मलाई असल मानिस बन्नु भन्ने शिक्षा दिने श्रद्धेय गुरुआमा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वहाँको चीर शान्तिको कामना गर्दछु।

अर्चना दिदी, अल्पना, भाइ अविन र अन्य परिवार जनमा हार्दिक समवेदना..

(तस्विरमा पहिलो गायिका रानुदेवीका साथमा मृदुला)

प्रतिक्रिया