चौविस घण्टे कफ्युवीचमा कसरी दिन विताउंदैछन् साउदीका चार लाख नेपाली ?

अनिल आचार्य २०७७ वैशाख ३ गते २२:०० मा प्रकाशित

नेपालभित्रै रहेका नागरिकहरुको त विजोग भइरहेको वेला श्रमका लागि खाडी मुलुक पुगेका नेपालीहरुको अवस्था कस्तो भएको होला भन्ने धेरैका मनमा लागेको हुनुपर्छ । म आफैं वसिररहेको देश साउदी अरवमा कामका लागि आइपुगेका करिव ४ लाख नेपालीहरुको अवस्थाको चर्चा गर्न चाहन्छु ।

वाहिरवाट हेर्दा साउदी अरव न्यूनतम ज्यालादारीमा चर्को श्रम शोषण हुने देशको रुपमा चित्रित छ तथापि यो नेपालीका लागि श्रमको प्रमुख गन्तव्य हो । विगतमा अदक्ष श्रमिकको लागि मात्रै गन्तव्य मानिएको साउदी अरब विस्तारै दक्ष कामदारको पनि गन्तव्य वनेको छ र अहिले इन्जिनियर, चिकित्सक, सीए, नर्स लगायतका प्रतिष्ठित जागिरहरुमा प्रसस्त नेपालीहरु छन् कम्पनीहरुमा सुपरभाइजर, म्यानेजर जस्ता पदमा नेपालीहरुको वर्चश्व नै छ ।

श्रमवजारका उच्च पदमा नेपालीहरुले राम्रो अवसर पाइरहेको वेला कोरोनाले नराम्रो गरी अत्याएको छ । कोरोना संक्रमणलाई फैलिन नदिन साउदी सरकारले थुप्रै प्रान्तहरुमा २४ घण्टे कफ्र्यु आदेश जारी गरेको छ, जसले गर्दा घरवाहिर वसिररहेका नेपालीहरुलाई निकै कष्टपूर्ण जीन्दगी महसुस भएको छ । वढ्दो कोरोना संक्रमणले एकातिर अहिले दैनिक जीन्दगी गुजार्न कठिन भएको छ भने अर्कोतिर अर्थतन्त्र खस्कदै गयो भने रोजगारी गुम्ने होकि भन्ने त्रास पनि छ ।

एनआरएनए मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले समस्या वढ्दै गएमा रोजगारी गुम्ने खतरा रहेको वताउंदै एनआरएनले केही विशेष तयारीहरु सुरु गरेको वताउनुभयो ।

कफ्र्युका वीचमा पनि धेरै कम्पनीहरुले भित्रभित्रै कामलाई भने चालु राखेका कारण अहिले पनि झण्डै २ लाख नेपाली कामदारहरु काममानै व्यस्त छन् भने वांकी २ लाख जति कामदारहरु आफुले काम गर्ने क्षेत्रभित्र समस्या समाधान हुने दिन पर्खिएर वसेका छन् । खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीहरुको पसल अहिले पनि खुल्ला रहेकोले जीवन भने कष्टकर वनिहालेको छैन ।

साउदी अरवमा रहेका करिव ४ लाख कामदारमाथि आइपर्ने समस्याको समाधानका लागि पांच लाख वरावरको कोष निर्माणमा जुटेको साउदी अरब एनआरएनका अध्यक्ष तेज थापा ले जानकारी गराउनुभयो ।

आज साउदी अधिकारीहरुले जारी गरेको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५,८६२ पुगेको छ । आज मात्रै थप ४९३ जनामा संक्रमण भएको छ भने कूल संक्रमितहरुमध्ये हालसम्म ९३१ जना निको भएका छन् । आज ६ जना सहित ७९ जना संक्रमितको मृत्यु भएको जानकारीमा आएको छ ।

प्रतिक्रिया