गुणस्तरहीन स्वास्थ्य सामाग्री खरिद गरेर गल्ती गरेको सरकारले स्वीकारिसक्यो- विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

इनेप्लिज २०७६ चैत २६ गते १०:३७ मा प्रकाशित

काठमाडौं, २६ चैत्र । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा यतिबेला आरोप प्रत्यारोपभन्दा सिंगो देश कोरोना भाइरसविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । संकटको घडीमा एकजुट हुनुका बाबजुद सरकारले गरेको गल्ती औल्याउने समेत बताए । सरकारले चीनबाट स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द गरेर त्यसमा गल्ती आफै स्वीकारेको तर्क गरेका छन् । यसै विषयमा शर्मासँग ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्रीले त संकटको बेलामा कुप्रचार भयो भन्नुभयो नि, कांग्रेसले किन त्यस्तो गरेको ?
पहिलो प्रश्न नै नकारात्मक ढंगले आयो । सम्मानीय प्रधानमन्त्रीले नै त्यसो भने पछि सञ्चारकर्मीको नाताले तपाईंले त उठाउनु नै हुन्छ । तर, मेरो जवाफ चाहीं के छ भने यो समय एकले अर्कोलाई आरोप लगाउने होइन । अहिले संकटसँग लड्ने समय हो । यसको ज्ञान जति सर्वसाधारण, सञ्चारकर्मीलाई हुनुपर्छ, त्योभन्दा बढी सम्मानीय प्रधानमन्त्रीलाई हुनुपर्छ । यतिबेला उहाँसँग सबैका आलोचना, टिकाटिप्पणीहरुलाई सहेर जिम्मेवारीपूर्वक काम गर्नुको विकल्प छैन ।
विश्वलाई संकट परेका बेला उठेको प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ पनि दिनुभयो नि ?
प्रधानमन्त्रीजीलाई मनमा जे लाग्यो त्यो बोल्नुभयो । यस्तो अवस्थामा प्रधानमन्त्रीले बोलेका कुरा सुनेर विज्ञ, बुद्धिजीवी, सरकारको निर्देशनको पालना गरेर कष्टका साथ घरमा बसिरहेका दाजुभाइ दिदीबहिनीहरुले के भन्नुहोला । यस्तो बेलामा प्रधानमन्त्रीले बोल्ने कुरा लेखिदिने, विषय छनोट गरिदिने टिम हुन्छ । त्यो टिमभित्र आवेगहरु हावी भयो त्यो दोष प्रधानमन्त्रीलाई पर्छ । यस्तो विपदको बेलामा सबै तह, तप्का, समुदाय, शक्ति, सत्ता, पार्टीहरु एकजुट भएर लड्ने हो कि होइन । त्यसको लागि आफ्ना जोखिमहरु मोलेर रिर्पाेटिङ गरेर जनतालाई सुसूचित गराउने काम गरिरहेको छ, त्यो सरकारलाई सहयोग हो कि होइन ? सुरक्षाकर्मीहरुले जसरी चुनौतिको सामना गरेर काममा खटिरहेका छन् संकटमा साथ दिएको हो कि होइन ? चिकित्सकहरुले जे–जति साधन, स्रोत उपलब्ध छन् त्यो प्रयोग गरेर चेक, जाँच र उपचारमा खटिरहेका छन्, त्यो सरकारलाई सहयोग भयो कि भएन ? प्रतिपक्षले के गरिरहेको छ, जनतामा सचेतनाको कार्यक्रमहरु चलायो । लकडाउनलाई पालना गर्न सबैमा अपिल ग¥यो । पार्टीको तर्फबाट एकमुष्ट ५० लाख लगेर सरकारलाई बुझायो त्यो सहयोग हो कि होइन ? सरकारले कमजोरी गर्दा ओलाचना गर्ने त प्रतिपक्षको दायित्व हो । प्रतिपक्षले कमजोरी केलाउँछ त्यो गर्दैगर्दा त्यसबाट सच्चिने अवसर कसलाई हुन्छ भन्दा सरकारलाई हुन्छ । यसरी सरकारलाई हरसम्भवबाट सरकारलाई सहयोग गर्ने छौं, गरेका छौं । यस्तो बेलामा सम्मानीय प्रधानमन्त्रीले सार्वजनिक रुपमा त्यसरी प्रस्तुत हुनु जिम्मेवार होइन त्यो ढंगबाट जानु हुँदैन ।
प्रधानमन्त्रीले जिम्मेवार मिडिया हाउसदेखि सोसल मिडियालाई कुप्रचारको आरोप लगाउनुको साथै ओम्नी कम्पनीसँग भएको खरिद सम्झौतामा आफूलाई थाहै नभएको भनेर अनविज्ञता प्रकट गर्नुभयो नि ?
तपाईंले महत्वपूर्ण प्रश्न गर्नुभयो ऋषिजी । यसमा म आरोप, प्रत्यारोप र जवाफमा जान चाहन्न । सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई प्रष्ट हुने तथ्यमा जान चाहन्छु । यसलाई क्रमशः भन्छु । हिजो कैलाली र कञ्चनपुरमा एउटा महिलाबाट फैलिएर संक्रमण दोस्रो चरणमा प्रवेश गर्यो, एक । त्यहाँ रयापिट परीक्षण गर्ने भनिएको छ । अहिलेसम्म परीक्षण त्यो रुपमा सुरु भएको छैन । दोस्रो बाग्लुङ जहाँ संक्रमण देखिएको थियो । त्यो ठाउँमा कांग्रेसका जिल्ला सभापतिले हिजो फोन गरेर भन्दै हुनुहुन्थ्यो, ‘बाग्लुङका सरकारी अस्पतालका चिकित्सकहरु स्वास्थ्य सामाग्रीको अभावमा हामीलाई खोजिरहेका छन्’ । तेस्रो बुटवल जहाँ कोरोना अस्पताल भनिएको छ । आज दशौं दिन भइसक्यो एउटा व्यक्तिको मृत्यु भएको थियो त्यो लाश अहिलेसम्म उठेको छैन । अहिले तीन तहको सरकार छ, हामी राजनीतिक दल छौं । केन्द्रीय सरकार छ त्यो तर्फ हाम्रो भूमिका हुनुपर्छ कि पर्दैन ? चौथो प्रधानमन्त्रीकै जिल्लाको एउटा निजी अस्पतालले ४ वर्षको बालकलाई हनहनी ज्वारो आएकाले अस्पताल पु¥याउँदै गर्दा उनका अभिभावकलाई गुटैबाट लगारियो । अब आयो सञ्चारमाध्यमका कुप्रचारका कुरा ओम्नीसँगको सम्झौता रद्द कसले गरेको ? यदि त्यो गलत होइन राम्रो गरिराखेको छ भने रद्द किन गरियो त ? सरकारले रद्द गरेपछि नागरिकले गलत थियो भन्ने कुरा त सरकार आफैले स्वीकार्यो नि । स्वास्थ्य परीक्षणका लागि आएका किटहरु गुणस्तरहीन छन् भनेर स्वास्थ्य मन्त्रालय भन्यो । अनि किन परीक्षण नगरेको त ? आफैले खरिद सम्झौता गरेको कुरा रद्द गरेर सरकारले किन गलत भनेर स्वीकारेको ? गल्ती थियो र त स्वीकार्यो । त्यसैले सरकार आपैmले गलत भयो भनिसकेपछि त्यही कुरा लेख्दा, भन्दा कसरी कुप्रचार भयो ? त्यसैले म जवाफ दिन चाहन्न । तथ्य यिनै हुन् यसलाई नागरिक समाज, सञ्चारमाध्यम र प्रतिपक्षले जे औल्लाउँछ । त्यसलाई स्वीकारेर हामी सबैले सच्चिनुपर्छ । यी कुराबाट सरकारले सच्चिएर जानुपर्छ । हामी सधैं सरकारको साथ र सहयोगमा छौं ।
यी सबै कुरा आइरहँदा कांग्रेसकै नेताहरुले सरकार परिवर्तन, मध्यावधी निर्वाचनका कुरा गरेर बेमौसमको बाजा बजाए भन्ने छ नि अहिलेको अवस्थामा त्यो सही हो ?
सम्माननीय प्रधानमन्त्रीले कांग्रेसका नेताले यसो भनेर बेमौसमको बाजा बजाए भनेर त्यसमा गाँस्नुभएको छैन । त्यसरी गाँस्नु नभए तापनि यो खालको आसय उहाँबाट आएको हो भने पनि यदि प्रधानमन्त्रीले उठाउनु भएको छैन । सञ्चारकर्मी ऋषि धमलाजीले उठाउनुभएको भए पनि मैले जिम्मेवार ढंगले र नेपाली कांग्रेसको प्रवक्ताको नाताले प्रष्ट्याउनुपर्छ । कसैका व्यक्तिगत धारणामा सम्मान गर्दागर्दै पनि व्यक्तिगत धारणाका सीमा तहगत रुपमा मात्रै रहन्छन् । नेपाली कांग्रेसको धारणा यो संकटको घडीमा होस् या पछिको पनि । न सरकार परिवर्तन, न मध्यावधी चुनाव, न सहमतिको सरकारमा छ । न त्यसको बारेमा कुनै खोजी छ । हाम्रा आदरणीय नेताहरुले पनि आसय त्यो होइन भनिसकेपछि त्यही प्रश्न क्यारी गर्न उहाँहरुलाई जरुरी छैन । एउटा प्रवक्ता भएको नाताले नेपाली कांग्रेसको प्रष्ट धारणा यो संकटमा हामी सरकारमा नरहेर पनि सरकारलाई सकेसम्म सहयोग गरेर अगाडि जाने हो । यसबाट एक इन्ची पनि दायाँबायाँ छैनौं । यो कोरोनाबाट नेपाली जनतालाई जोगाउन हरतरहबाट सरकारको साथमा छौं । तर, सरकारको कमीकमजोरी औल्याउन पनि साथमै छौं है । यसबाहेक अन्य कुरामा अलमलिनुपर्ने जरुरी बिलकुलै छैन ।
त्यसोभए कांग्रेसका नेताहरुको त्यो व्यक्तिगत विचार हो ?
यो चरण पनि गुज्रिइसक्यो । त्यो उठेको दुई, चार दिन भइसक्यो । अब यो बारेमा नेपाली कांग्रेसबाटै पटक–पटक धारणाहरु आइसकेका छन् । चर्चा गरिरहनुपर्ने आवश्यकतै छैन । अहिलेको आवश्यकता भनेको घरमा बसिरहनुभएको नागरिकलाई राजनीति पार्टीले गर्ने काम के हो ? किन नेपाल कांग्रेसले सचेतना कार्यक्रम चलायो ? किन नेपाली कांग्रेसले आफ्ना सांसद्हरुको १५ दिनको तलब बराबरको रकम रु ५० लाख रुपैयाँ सुरुमै बुझायो ? किन सरकारलाई हरतरहले सहयोग गरौं भन्यो भने यो सरकारमाथिको मात्रै संकट होइन । यसले संसारभरका मानव जातिलाई नै संकट परेको छ । र, हामी सबैले नेपाल र नेपालीको लागि जुट्न जरुरी छ । यो बेलामा सानो सहयोग किन सानो भने यत्रो संकटमा त्यो सानो हो । तर, किन त्यो बुझाएको भन्दा सन्देश हो । राजनीतिमा विचार, सत्ता, पार्टीबीच द्वन्द्व हुन्छ । तर संकटका बेलामा सरकारका कमीकमजोरीको आलोचना गर्दै, सच्चिन खबरदारी गर्दै उसलाई सकेसम्म सहयोग गर्नुपर्छ, भनेर जिम्मेवार ढंगले हामी आएका छौं । यस्तो बेलामा फेरि आत्माबल बढाउने, विश्वास सिर्जना गर्ने, भरोसा देखाउने पनि हो । नेपाली कांग्रेस त्यो अभियानमा छ । त्यसले अहिले पहिला सबै एकजुट भएर कोरोनालाई जितौं त्यसपछि बाँकी कुरा हुन्छन् । यो तपाईं, हामीसामु छापामारशैलीमा आइरहेको छ । यसका अगाडि क्षेप्यास्त्र, गोला, बारुद, बम हायलकायल भएका छन् । त्यसको लागि लकडाउन गर्ने भनेको डिफेन्स बलियो भयो । अब जहाँ–जहाँ संक्रमण देखिन्छन्, त्यहाँ–त्यहाँ परीक्षणहरु गर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्रीले त अहिले वैयक्तिक स्वतन्त्रताभन्दा जीवन ठूलो हो भन्नुभयो नि ?
हो, जीवन नै सबैभन्दा ठूलो कुरा हो ।
त्यसमा कांग्रेसको विमति छैन हो ?
त्यस्तोमा विमति राख्नुपर्ने कारण नै के छ । तर, सम्वेदनशील कुरा त तथ्यमा आधारित हुनुपर्छ । मैले अघिनै भनिसकेको छु । १० दिनसम्म लाश पनि नउठ्नु त्यो त तथ्य होला नि । एउटा महिलाले साना बच्चा च्यापेर १० दिनसम्म लाश कुरेर अस्पतालमा बस्नु भनेको कम कष्टपूर्ण कुरा हो । एउटा व्यक्ति मृत्यु हुँदा त्यही पनि कोरोना हो वा होइन भनेर प्रमाणित भइनसकेको कुरा त १० दिनसम्म लाश उठाउने हिम्मत कसैले गरेर भने इटाली, अमेरिकाको जस्तो हुने हो भने हाम्रो हालत के होला ? त्यसको लागि नेपाल कांग्रेसले स्वाब परीक्षणको एप बनाएको छ । त्यसमा तपाईंका लक्षणहरु लिन्छ । त्यसका आधारमा तपाईंलाई कोरोना छ छैन भन्ने कुराको रिपोर्ट आउँछ । त्यसमा अहिले ४० हजार हाराहारी मान्छेहरुले भिजिट गरिरहेका छन् । त्यसमा ठेगाना राख्ने कि नराख्ने भनेर सोध्छ । तपाईंले राख भन्नुभयो भने फलाना ठाउँको फलानो व्यक्ति भनेर पत्ता लाग्छ । त्यसको आधारमा उहाँहरुको घरमा पुगेर चेकजाँच गर्न सकिन्छ । प्रतिपक्षमा बसेकाले डाटा राख्न मिल्दैन । जसले त्यहाँ राख भनेर थिचोको हुन्छ त्यसको रेकर्ड रहन्छ ।
सर्वोच्च अदालतले स्वदेश आउन चाहनेलाई नरोक्नुस् भनेको छ, त्यो कति सम्भव छ ?
ऋषिजी यसमा लकडाउन गर्नुभन्दा केही अगाडि भारतीय सीमामाबाट कम्तिमा पूर्वदेखि पश्चिमसम्म गरी लाखदेखि डेढलाखसम्म मान्छे आएको छ । यसले के देखाउँछ भने हामी आफैले एक भन्दा बढी मान्छेलाई बिना परीक्षण अव्यवस्थित ढंगले प्रवेश गरायौं । त्यसपछि हजार हाराहारी मान्छे दार्चुलाको सीमामा आइपुगेका व्यक्तिलाई व्यवस्थित ढंगले प्रवेश गराउन सकेनौं । जुन व्यक्ति चुनावका बेला लाम लागेर भोट हाल्न आए, दशैंको बेलामा पनि आउन सकेनन् । आज संसारमा संकट भएको बेला आफ्ना देश आए उनीहरुलाई देशभित्र ल्याउँ र व्यवस्थित ढंगले क्वारेन्टाइमा राखौं । १४ दिनपछि स्वास्थ्य परीक्षण गरेर घर पठाइदिऊँ यो हो नि त राज्यको जिम्मेवारी । बाहिर बसेका जनसम्पर्क समितिका साथीहरुले फोन गरेर भनिरहनुभएको थियो नेपालबाट बेलायतका नागरिक लिएर प्लेन आउँदै छ भने त्यहाँबाट नेपाल आउन चाहने नागरिकले आउन पाउँनुपर्छ भन्नुभएको थियो । त्यसकारण नेपाली कांग्रेसले पनि भनेको छ । सर्वोच्च अदालतले भनेको छ । कोही मान्छेहरु देश, घर सम्झेर आउन चाहन्छ भने उसलाई आउने व्यवस्था गरौं । उनीहरुलाई अस्तिको जस्तो भद्रगोल ढंगले होइन सीमानामा परीक्षण गर्ने त्यसपछि नेपालमा सुरक्षित ढंगले १४ दिनसम्म राख्ने अनि स्वास्थ्य परीक्षण गरेर घर पठाउने हो । यही कुराको लागि त राज्य, दल र सरकार चाहिएको हो नि । त्यसैले सम्मानित अदालतले गरेको फैसलालाई राज्यले ग्रहण गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।-File Photo

प्रतिक्रिया