आज हाँस्य कविताको पालो : कन्फ्युज भएको हुनुपर्छ कोरोना भाइरस पनि !

रामप्रसाद खनाल २०७६ चैत २५ गते २२:५४ मा प्रकाशित

केही दिन यता
मेरो चाल चलन देखेर
कन्फ्युज भएको हुनुपर्छ
कोरोना भाइरस पनि ।
बुढी माउँ पकाउँछिन्
जोत्ने दाइले झैँ
म स्याम्म बजाउँछु
एक थाल भात
महँगो तरकारी
आलु जत्तिको पनि अडिलो नहुने
भन्नका लागि मासु भनिने
बोईलर कुखुराका झाम्टाहरू ।
सिन्की सकियो
मस्यौरा सकियो
झान झुन पार्दा सबै सकियो
म भात बहादुर
कोरोना बहादुरसँग तर्सिएँ
काम धाम छोडेर
थन्किएका बेला घर
पहिले पहिले
मोइसँग लफन्नाएको आटो
मकैको रोटी सम्झिँदै
कोदो, फापर जस्तै देखिने पिठोको रोटी
बुढी माउँ जे जे दिन्छिन्
घैँटे पेटमा सिन्की खाँदे जस्तै
खाँदी रहेको छु म आजकल
काम नगरी खान कहाँ पाइन्छ ?? भन्थे मान्छेहरू ।
इस् गर्छु काम।
बुढी माउँ किचनमा पकाउंछिन
म स्याम्म खान्छु
जब भरिन्छ घैँटे पेट
बिस्तारामा जान्छु
किनकि
बसेर टिभी हेर्न मिल्दैन
अनि,
बिस्तारामा कहिले उत्तानो परेर
कहिले घोप्टी परेर
कहिले कोखे परेर
फोन बाटै हेर्छु टेलिभिजनहरू
बिना पैसा सित्तैमा कजिन्छु
जुकेरबर्गको फेसबुकमा
गुगलको युट्युब रोला जस्तो गर्छ
मलाई आइजन भनेर
अनि म त्यता पनि जान्छु
समाजसेवी भावना छ मेरो
म कसैसँग ज्याला मजदुरी लिन्न
उनीहरूका लागि काम गर्छु
बुढी माउँ फेरी चिया नास्ता लिएर आउंछिन
म मिठा मुखले बजाउँछु
बजाउँदा बजाउँदै थकाई लाग्न थालेको छ
सुत्दा र बस्दा दिक्क लाग्न थालेको छ
उठ
खाऊ
बस
सुत
मेरो दिन चर्या यस्तै भएको छ आजकल ।
बरु,
यस पटकको अनुभबले लाग्यो
काम गर्न नखोज्ने काम चोरहरु
बसी बसी खान खोज्ने ठगहरु
काममा जान भन्दा मरे झैँ गर्नेहरु
बिचरा तिनीहरुलाई
कति गाह्रो हुँदो हो सधै घरमै बस्न
फिल्म र सिरियलहरु हेर्दै
समय कटाउन।
मलाई ति बिचराहरु देखी
दया लाग्न थालेको छ अहिले
तिनको बन्दी जिबन सम्झेर
रुन मन लागेको छ अहिले !
केही दिन यता
मेरो चाल चलन देखेर
कन्फ्युज भएको हुनुपर्छ
कोरोना भाइरस पनि ।
यस्तो अल्छी मनुवालाई लगेर के गर्नु ?
शायद यसै भन्दै होला कोरोना यमराज !।
धुलो धुँवा फोहोर
उकालो ओरालो
घाँस दाउरा
पानी पँधेरो
खेत बारी
सबै सबै पचाइसकेको म मनुवा
उसले चिनेछ क्यारे
लिन आउने हिम्मत गरेको छैन
म कति ज्याद्रो छु
उसले बुझे जस्तो छ
त्यसैले हिम्मत गरेको छैन
मलाई लिन आउने !
आयो भने मैले पनि जानेको छु
त्यसलाई पचाउन ।
आइजन न मात्रै
निसास्सिएर मर्छस् बाबु तँ म सँग
तँ भन्दा पनि म खतरा छु ।
ज्याद्रो छु
गाई गोठमा जन्मिएको हुँ
सक्दैनस् बाबु सक्दैनस् तैँले
फुर्ती गर्दै नगर ।
मेरो भर पर्दै नपर ।
ढाँट्या भए मरिजाम।
– रामप्रसाद खनाल, हाल भर्जिनिया अमेरिका, अप्रिल ७, 2020

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया