कोभिड–१९वाट सङ्क्रमित नागरिकको पहिचान गर्न निर्देशन–मुख्यमन्त्री राई

मनोज दाहाल २०७६ चैत १८ गते २१:०९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१८ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशङ्का गरिएका नागरिकको पहिचानमा जुटन सबै स्थानीयतहहरुलाई आज यहाँ निर्देशन दिनुभएको छ ।

कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समितिको आज वसेको बैठकमा उहाँले कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएका व्यक्तिको पहिचान गरी क्वारेण्टाइन वसाउन वा उपचारका लागि आइशोलन पठाउनु पर्नेमा जोड दिनु भएकोछ ।

मुख्यमन्त्री राईले विदेशबाट आएका, होम क्वारेन्टाइमा रहेका र क्वारेन्टाइनमा राख्नुपर्नेको तथ्याङ्क सङकलन अविलम्व सञ्चालन गर्न आग्रह गर्नुभयो ।

प्रदेश कोरोना रोकथाम, प्रतिरक्षा र उपचार निर्देशन समितिको अध्यक्ष समेत रहनु भएका मुख्यमन्त्री राईले कोरोनाको रोकथामका लागि स्थानीयतहको भूमिका प्रभावकारी र महत्वपूर्ण हुने बताउँदै सुत्केरी र गर्भवतीहरु, अपाङ्गता भएकाहरु र दैनिक ज्यालादारीमा काम गर्नेहरुप्रति विशेष ध्यान दिई विवरण संकलन गर्न आग्रह गर्नु भयो ।

उहाँले विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई स्थानीय तहले राहत दिन र स्थानीय तहबाट सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउने समेत जानकारी दिनु भयो ।

बैठकले कोरोना भइरसको विरुद्ध लडन स्थानीय पालिकाहरुको नेतृत्वमा स्थानीयतहमा विभिन्न समिति निमार्ण गर्ने, प्रदेशका सबै स्थानीय तहको तथ्याङ्कक सङ्कलन गर्ने, राहात वितरणको कामलाई एकद्वार प्रणालीबाट वितरण गर्ने, स्थानीयतहले तथ्याङ्कहरु दैनिक मुख्यमन्त्री कार्यलयमा पठाउँने, स्थानीय पालिकाहरुसँग नगरपालिका महासंघ, गाउँपालिका महासंघ, जिल्ला समन्वय समितिहरुले समन्वय गर्ने लगायतका निर्णय गरिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा ‘लकडाउन’को अवधिमा कृत्रिम अभाव हुननदिन र नागरिकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न १० सदस्यीय अनुगमन समिति गठन गरिएको छ।

समितिको सदस्यहरुमा राज्यमन्त्रीहरु, विपक्षी दलका नेता, समाजवादी पार्टी, लिम्बुवान पार्टी र राप्रपाका नेता, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुख न्यायाधिवक्ता र मुख्यमन्त्रीका आर्थिक सल्लाहाकार रहनु भएको छ ।कोरोना सम्बन्धि तत्कालको नागरिकलाई राहत, उद्धार गर्नुपर्ने वा उजुरी, गुनासो र सुझाव भए प्रदेश सरकारले स्थापना गरेको कोरोेना सूचना डेस्क वा मोवाइल एप्लिकेशन मार्फत जानकारी दिन समेत बैठकले सबैमा अपिल गरेको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया