कारागार भित्र

बिमला निरौला २०७६ चैत ३ गते १:३१ मा प्रकाशित

बादलको पछ्यौरी फिँजाउँदै
आकाश ओढेर धर्तीको काखमा
लुटुपुटिंदै बसन्तीको हात समातेर
होलीका रङ्गहरुले मनमा इन्द्रेणी सजाउंदै
ओंठहरुमा गुलाबका पत्र फक्राउंदै
खुशी, उत्साह र उमँगहरुसगँ हातेमालो गरेर
पाेटोम्याक नदीको गुञ्जन र
चाराको चिरबिर चिरबिरमा गुनगुनाउँदै
सुन्दर पुतली झैं डिसीका रंगिन साकुराका
थुँगा थुँगा र डाली डालीमा
निस्फिक्री, निष्पन्द नाच्ने र डुल्ने म ।

एकाएक याे ब्रमाणकाे अथाह बिकाशलाई
जित्न खोज्दै, मनुहरुकाे अनुराेधमा अटेर बन्दै,
विश्व स्वास्थलाई नै चुनाैती दिँदै
जिन्दगीका हराभरा रुखहरु गर्लाम्म गुर्लम्म ढाल्दै
बायुमण्डल नै अँधेरो पारेर
संसारको चाहना बिपरित
संचार सन्जालहरु मै भुकम्प ल्याउने
हावाको बेगले
थर्काउंदै र हल्लाऊँदै छ
यो हाड छालाको स्तम्भलाई ।

यी संसार हेर्ने सुन्दर आँखालाई थुमथुमाई,
ठाडा उठेका दुई कान समातेर दगुर्दैछु ।
आफ्नै बिश्वास र भरोसाले
कर्म कर्तब्य र भाग्यको यो भारीलाई नाम्लोले भिर्दै
जोहोको चटारोमा, सुचनाको जालोले
बाँधेको आकृतीलाई
अन्योलताले उठाई नसक्ने भएको गरुङ्गो शिरले
मिर्मिरेको उजेली देखी
संध्या र अँधेरी हुँदै
रबि र चाँदनी तिर फर्कंदै
लामो खुई…..ए क़ो सुस्केराले आत्मबलको
क्याप्सल घुटुक्क निलेर
उमेर तन्काऊँन खोज्दैछ ।

हाँसो र खुशीको खुल्ला आकाशमा
सन्तोषको सुन्दर पंख फिंजाई पन्छी भएर
हमेशा बत्तासिने यो सिंगो शरीर
यतिबेला,
सपना र कल्पनाको ठेलीसंगै
घरदेशको सम्झना, तिर्सना र तर्कना
मित्रहरुकाे याद,
नाता-आफन्त, परिवार र अझ बढी
सन्तानको चिन्तामा बाँधीएर
आफ्नै आवास रुपी निश्चित परिधीको
लक्ष्मण रेखा भित्र
मौनतामा हे भगवान नाराका साथ
म कैद परेको छु आफ्नै मनको कारागार भित्र !

चैत्र ३,२०७६
फेरफ्याक्स भर्जिनिया

प्रतिक्रिया