मधानी महायज्ञले पर्यटन विकासमा सहयोग पुग्ने :राष्ट्रपति भण्डारी

सञ्जय मित्र, रौतहट २०७६ फागुन ७ गते १:३७ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

राष्ट्रपति विद्यादेवी भण्डारीले मधानी महायज्ञले पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । रौतहटको मौलापुर नगरपालिका ५ मा अवस्थित पुरातात्विक महादेवस्थलमा मौलापुर नगरपालिकाद्वारा आयोजित मधानी महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले तराई–मधेसमा रहेका तिलक प्रथा, बोक्सीप्रथा जस्ता अन्धविश्वासलाई हटाउनुपर्ने पनि बताउनु भएको छ ।

तराई मधेसमा पर्यटन पूर्वाधार विकासको आवश्यकता रहेको आफूलाई महसूस भएको बताउँदै राष्ट्रपति भण्डारीले बाढीले वर्षेनी तराई मधेसमा ठूलो जनधनको क्षति हुने गरेकोमा आफूलाई गहिरो दुःख लागेको पनि बताउनु भयो । राष्ट्रपति भण्डारीले नेपालको बढ्दो बेपार घाटालाई प्रदेश २ ले कम गर्न ठूलो योगदान दिन सक्ने पनि बताउनु भएको छ । राष्ट्रपति भण्डारीले तराई मधेसमा पर्यटनको ठूलो सम्भावना रहेको पनि बताउनु भयो । पूर्व–पश्चिम राजमार्गसित जोडिएको र निजगढ विमानस्थल बनेमा तराई मधेसमा समृद्धिको ठूलो सम्भावना रहेको पनि राष्ट्रपति भण्डारीको भनाइ छ ।

मधानी महायज्ञलाई सम्बोधन गर्नुअघि राष्ट्रपति भण्डारीले पतौराको पुरातात्विक महादेवको विशेष दर्शन पूजा गर्नु भयो । काठमाडौँस्थित पशुपतिनाथको मूल भट्टद्वारा राष्ट्रपति भण्डारीलाई पूजा विधिपूर्वक पूजा गराइएको थियो । पतौरा महादेव मन्दिर मंगलवारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

कार्यक्रमलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बोधन गर्दै मधानी महोत्सवले प्रदेशमा साम्प्रदायिक सहिष्णुतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । महिला सशक्तिकरणबिना प्रदेशको समृद्धि असम्भव रहेकोले प्रदेश सरकारले महिलाका लागि पचास प्रतिशत आरक्षणको व्यवस्था गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले दलितलाई पनि मूल धारमा ल्याउन देशमा पहिलोपटक प्रदेश सरकारले दलित ऐन ल्याएको बताएका छन् । मुख्यमन्त्री राउतले छोरी शिक्षा बिमा कार्यक्रमले गत वर्षको माघ १ देखि जन्मिने हरेक छोरी लखपति बन्ने बताउँदै बीस वर्षपछि प्रदेशकी छोरीको नाममा बीस लाख पुग्न रुपैया पुग्न सक्ने विश्वास पनि व्यक्त गरेका छन् । मौलापुर नगरपालिकाको कामको प्रशंसा गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको कामलाई मौलापुर नगरपालिकाले सहयोग गरी सफल बनाउने विश्वास पनि प्रकट गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृतिविद् सञ्जय मित्रले नेपालको रौतहट र बारा जिल्लामा मुख्य गरी मधानी प्रचलनमा रहेको र मधानी महायज्ञले स्थानीय संस्कृतिको विश्वव्यापीकरण भएको बताएका छन् । राज्याभिषेकको खुसीयालीमा बोलबम कामरनाथुहरुले बिना कुनै पण्डित सम्पन्न गर्ने शिवको विशेष यज्ञ मधानी भएको र राष्ट्रपति भण्डारीको उपस्थितिमा मधानी महायज्ञ सम्पन्न हुनुले स्थानीय संस्कृतिको सम्मान बढेको तथा नेपाल भ्रमण वर्ष २०२० मा स्थानीय संस्कृतिको पनि योगदान साबित भएको संस्कृतिविद् मित्रले बताएका छन् ।

राष्ट्रपति भण्डारी, मुख्यमन्त्री तथा संस्कृतिविद् सञ्जय मित्रले मात्र सम्बोधन गरेको कार्यक्रमको अध्यक्षता मौलापुरका नगर प्रमुख रिनाकुमारी साहले गरेकी थिइन् । कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार विशिष्ट अतिथि थिए । पत्रकार सञ्जयकुमार मिश्रले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सबैलाई मौलापुर नपाका कार्यकारी प्रमुख सिकेन्द्र यादवले स्वागत गरेका थिए ।
मधानी महायज्ञ नेकपाको प्रदेश २ अध्यक्ष एवम् संघीय साँसद प्रभु साहको विशेष सक्रियतामा भएको हो । करिब तीन लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको महायज्ञले आफ्नो गाउँको विश्वव्यापी प्रचार हुने र स्थानीय संस्कृतिको संरक्षण विश्वास साँसद साहको रहेको छ । मौलापुरकै स्थानीयबासीसमेत रहेका साँसद साह स्थानीय भाषा, संस्कृति तथा कलाप्रति प्रतिबद्ध नेताको छवि बनाएका छन् । मधेसमा विकास पुरुषको नामले चिनिएका साँसद साहका करिब आधा दर्जन विभिन्न विधाका पुस्तक पनि प्रकाशित छन् । साँसद साहकै सक्रियतामा पतौराको पुरातात्विक महादेवको अन्वेषण, उत्खनन तथा अध्ययन थालिएको हो । पतौरामा अन्य पुरातात्विक संरचना पनि रहेको देखिएको र विस्तारै अन्य संरचनाको पनि सम्बद्र्धन गरिने साँसद साहको भनाइ छ ।
कार्यक्रममा नेपाली सिनेमाका कलाकाहरु निखिल उप्रेती, केकी अधिकारी, स्मिता दाहाल, भारतीय भोजपुरी सिनेमाका कलाकाहरु दिनेशलाल यादव निरहुआ, आम्रपाली दुवे, विजय यादव निर्बिज, सन्तोष राजलगायतका कलाकारहरुका साथै हजारौँ जनसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुत गरेको झाँकी राष्ट्रपति भण्डारीले हेर्नु भएको थियो ।

प्रतिक्रिया