क्यानडाको रियल ईस्टेट व्यवसायमा नेपालको एभरेष्ट रियल्टी

डा. गोबिन्दसिंह रावत, टोरोन्टो २०७६ फागुन २ गते १८:२२ मा प्रकाशित

 

डा. गोबिन्दसिंह रावत ,टोरोन्टो । रियल ईस्टेट व्यवसाय भन्नाले घर–जग्गा किन–बेच सम्बन्धी काम गर्ने व्यक्ती÷समूह÷कम्पनी भन्ने बुझाउँछ । रियल ईस्टेट व्यवसायको इतिहास पल्टाएर हेर्दै गयौं भने हामी अमेरिकासम्म पुग्न सक्छौं । (यसअघिको इतिहास मैले खोज्दा नपाएको सन्दर्भमा) । हुन त अमेरिकाभन्दा अघि पनि यो व्यवसाय युरोपमा कतै भएको अनुमान लगाउन सकिन्छ । तर अहिलेलाई सन् १८८० मा देखा परेको “द नेसनल एसोसिएसन अफ रियलेटर (एन.ए.आर.)” लाई घरजग्गा सम्पत्ति किन–बेचचिखान गर्ने पहिलो कम्पनीका रुपमा लिइदा अत्योक्ती नहोला । क्यानडाको सन्दर्भमा यहाँ रियल ईस्टेट व्यवसायको थालनी सन् १८८८ ताका भएको मानिन्छ जुन पहिलो विश्वयुद्धका कारण रोकिएको थियो । त्यसपछि सन् १९०३ मा विनिपेगमा “विनिपेग रियल ईस्टेट बोर्ड” गठन भएको देखिन्छ । सन् १९४९ मा “विनिपेग रियल ईस्टेट बोर्ड” लाई “मनिटोवा रियल ईस्टेट एसोसिएसन” बनाएर यस कम्पनीले विगत ११७ वर्षदेखि रियल ईस्टेट व्यवसाय गर्दै आएको छ । भ्यानकुभरमा पनि रियल ईस्टेट व्यवसाय सन् १८८८ देखि शुरु भएको र त्यसको पहिलो रियल ईस्टेट एजेन्ट भ्यानकुभरका तत्कालिन मेयर रहेका थिए । यसरी घरजग्गा किनबेचलाई व्यवस्थित तरिकाबाट अगाडि बढाउँदै गएको रियल ईस्टेट व्यवसायलाई पहिलो र दोस्रो विश्वयुद्धले आँशिक रुपमा असर पारे तापनि यसले विस्तारै प्रगति गर्दै गएको देखिन्छ ।

भ्यानकुभरको रियल ईस्टेट व्यवसाय पहिलो विश्वयुद्धका कारण रोकिएपछि सन् १९१९ देखि यसले निरन्तरता पाउँदै गयो । शुरुमा १५ जना स्थानीय घरजग्गा किनबेचबिखान गर्ने व्यवसयाहरु मिलेर भ्यानकुभर रियल ईस्टेट एक्सचेन्ज लिमिटेड स्थापना गराएका थिए । यही कम्पनीको रोहवरमा प्रान्तीय सरकारले रियल ईस्टेट व्यवसाय गर्न चाहने एजेन्टहरुका लागि लाईसेन्स बनाउने कानून पास गरेपछि रियल ईस्टेट व्यवसाय गर्नेहरुका लागि लाईसेन्स अनिवार्य बनाई दिएको थियो ।

अर्कोतिर “विनिपेग रियल ईस्टेट बोर्ड” ले सन् १९१९ मा विन्डसोरमा र सन् १९२० मा टोरन्टोमा रियल ईस्टेट बोर्डको गठन गरेको बुझिन्छ । अनि विस्तारै विस्तारै रियल ईस्टेट व्यावसायलाई निरन्तरता दिन अटवा, हामिल्टोन, रेजिना, भिक्टोरिया आदि विभिन्न शहरमा फैलाउँदै गएको देखिन्छ ।

दोस्रो विश्वयुद्धको बेला सन् १९४३ मा क्यानडा एसोसिएसन अफ रियल ईस्टेट बोर्ड (सि.ए.आर.ई.बी.-C.A.I.E.B.) गठन भएपछि अप्रेल १९४४ मा यसले रियल्टर (REALTOR) शब्दलाई रियल ईस्टेट व्यवसाय गर्नेहरुका लागि ट्रेड मार्क (स्थाई चिन्ह) को प्रतिपादन गरायो । यही रियल्टर शब्द र आर ® को चिन्हले रियल ईस्टेट व्यवसायलाई परिचय गराएन थाल्यो । ‘सि.ए.आर.ई.बी.’ ले नै सरकारसँग मिलेर घर किनबेचका नयाँ नियमकनूनहरुको प्रतिपादन गर्दै रियल ईस्टेट व्यवसायलाई सजिलो र व्यवस्थित बनाउने काम गर्दै गयो । यहीँबाट घरजग्गा सम्पत्ति जोड्न चाहने नागरिकहरुका लागि सजिलो ऋणको व्यवस्था (मोर्टगेज), खरिद कर्ता र बिक्रीकर्ताको सुरक्षासँगै यस व्यवसायमा आवद्ध कम्पनी, स्वरोजगार व्यक्ती र कर्मचारीको विमा प्रणाली व्यवस्था पनि शुरु भयो । मार्च २, १९४३ मा अन्टारियो, भिक्टोरिया, भ्यानकुभर, एडमन्टन, विनिपेग र मोन्ट्रियलका रियल ईस्टेट बोर्डले मिलेर सि.ए.आर.ई.बि. को विधान नै बनाए । हेमिल्टनका चाल्र्स पुर्नेल यस रियल ईस्टेट बोर्डको पहिलो संस्थापक अध्यक्ष बने । त्यसपछि यस व्यवसायले विस्तरै गति लिदै गएको पाइन्छ ।

रियल ईस्टेट व्यवसायलाई अझ क्रियशिल बनाउने उद्देश्य लिएर ‘सिएआरईबी’ले सन् १९५१ मा फोटो को–अप सिस्टमका माध्यमबाट बहुप्रयोजन सूचि सेवा (मल्टिपल लिस्टिङ्ग सर्भिस–एम.एल.एस.) को स्थापना गराएपछि रियल ईस्टेट व्यवसायहरुले किनबेच गरिने रियल ईस्टेट सम्पत्तिको सूचिकरण गरेर एकअर्काको सूचि हेर्न सकिने व्यवस्था शुरु भएको थियो ।

सन् १९५५ मा क्यानेडियन ईन्टिच्युट अफ रियलेटरको स्थापना भएपछि रियल ईस्टेटको अध्ययनका लागि पाठ्यक्रम बन्न थालियो । सन् १९५६ मा पहिलोपटक एकजना विद्यार्थीले टोरन्टो विश्वविद्यालय (युएफटी) बाट पत्राचार (करोस्पोन्डेन्ट) पाठ्यक्रमका माध्यमबाट रियल ईस्टेटमा ग्रेजुएसन गरेको देखिन्छ । यसरी रियल ईस्टेट व्यवसायलाई व्यवस्थित बनाउन स्थापना गरिएको सि.ए.आर.ई.बि. अहिले क्यानेडियन रियल ईस्टेट एसोसिएसनको नामबाट चिनिन्छ ।

क्यानडामा पहिलो रियल ईस्टेट व्यवसाय गर्ने कम्पनीमा रोयल लेपेज (Royal LePage_) को नाम आउँछ । सन् १९१३ को जुलाई २ मा अल्बर्ट ई. लेपेजले ए.इ. लेपेज बङ्लो स्पेसलिष्ट (Albert E. LePage Bungalow Specialist) को नामबाट स्थापना गराएको यो कम्पनी अहिले रोयल लेपेज (Royal LePage) को नामबाट चिनिन्छ । आफु २६ वर्षको हुँदा स्थापना गरेको रोयल लेपेज को अहिले क्यानडाभरी ६०० शाखा र १७,००० रियल्टर (REALTOR) छन् ।

अहिले क्यानडामा अनुमानित सवा लाख रियल ईस्टेट व्यवसायीहरु रहेको मानिन्छ । सन् २०१४ को तथ्याङ्क अनुसार ब्रोकर, एजेन्ट, सेल्स पर्सन सबै मिलाएर त्यसबेला १०८,७०६ जना रहेको थियो भने ६ वर्षको अन्तरालमा अनुमानित सवा लाख रियल ईस्टेट व्यवसायीहरु रहेको अनुमान लगाउन सकिन्छ ।

क्यानडामा नेपाली

क्यानाडामा नेपालीहरुको आगमनको थालनी कहिले र कोबाट भयो भन्ने बारेमा कुनै लिखित दस्तावेज प्राप्त नभए तापनि आगमनको इतिहासको थालनी दोस्रो युद्धपछि भएको थियो । दोस्रो विश्वयुद्धपछि क्यानाडाका सैनिकहरुले बेलायती सेनामा रहेका र युद्धताका आफ्ना समकक्षी सहयोद्धा रहेका गोर्खा सैनिकहरुलाई विभिन्न मानवीय क्षेत्रमा सहयोग गर्न गोर्खा वेल्फेयर अपिल (क्यानाडा) स्थापना गरेका थिए । यही संस्थाका माध्यमबाट केही भुतपुर्व सैनिकहरुले क्यानाडाको भुमीमा पाईला टेक्ने मौका पाएका थिए । ती मध्येको दार्जिलिङ्गबाट आउनु भएका सेवानिवृत सैनिक श्री लादानको परिवारसँग सम्पर्क गर्ने मौका पाएको थिए । श्रीमती लादान याकलिनले सत्तरीको दशकसम्म वहाँका नेपालीहरुका बीच भेटघाट गराउनु हुन्थ्यो । पारिवारिक स्रोतका अनुसार लादान दम्पत्ति सन् १९५८ तिर आएको अनुमान गरेका छन् । त्यसपछि नोभेम्बर १९६१ मा राजजित सिंह कटोच दम्पत्ती आउनु भएको देखिन्छ । स्व. कटोचले आफु क्यानाडा (टोरोन्टो) आउँदा दार्जिलिङ्गबाट आएका नेपाली रहेको बारे सुनेका थिए । सन् १९६२ मा आउनु भएकी श्रीमती सुरा हल (जङ्ग थापा) र सन् १९६३ मा डा. सुर्यबहादुर बस्नेत क्यानाडा आउनु भएको देखिन्छ । त्यसपछि पारिवारिक सम्पर्कबाट साठीको दसकमा केही नेपालीहरु क्यानडा आएको देखिन्छ भने सत्तरीको दशकमा भने अध्ययनका लागि नेपालीहरुको आगमनले केही गति लिन थालेको थियो । क्यानडामा नेपालीहरुको आगमन नेपालबाट मात्र नभएर भारत, वर्मा, भुटान सँगसँगै फिजी, हङ्गकङ्ग, बेलायत र अमेरिकाबाट बसाई सरेर क्यानडामा आएका पनि छन् । अहिले लगभग ४० हजार नेपालीहरु क्यानडामा रहेको अनुमान गरिन्छ ।

नेपाली रियल ईस्टेट व्यवसायी र एभरेष्ट ब्रोकेज

क्यानडामा नेपालीहरुको आगमनसँगै क्यानडामा देखा परेका विभिन्न व्यवसाय मध्ये घरजग्गा किनबेच (रियल ईस्टेट) व्यवसायलाई आफ्नो जिविकोपार्जनको माध्यम बनाउनेतिर पनि केही नेपालीहरु लाग्न थाले । मेरो सोधपूछ र खोजतलासका आधारमा भन्ने हो भने श्री साम कटोच क्यानडामा पहिलो नेपाली रियल ईस्टेट व्यवसायका रुपमा देखा पर्छन । सन् १९६१ मा नेपालबाट क्यानडा आएका श्री राजजित सिंह कटोचका काञ्छा छोरा साम कटोचले आफ्नो अध्ययनपछि नब्बेको दसकदेखि (सन् १९९४ तिर) यो व्यवसायमा लाग्नु भएको देखिन्छ । साम कटोच अहिलेसम्म निरन्तर यही व्यवसायमा काम गर्दै आउनु भएको छ । त्यसपछि सन् १९९८ मा अमेरिकाबाट आएर क्यानडालाई आफ्नो कर्म थलो बनाउने मदन केसी (माईक) ले २००० देखि नेपालीहरुको प्रतिनिधित्व गर्दै रियल ईस्टेट व्यवसाय शुरु गर्नु भएको देखिन्छ । उनले क्यानडामा (विशाल टोरोन्टो क्षेत्र) धेरै नेपालीहरुलाई डेरा (अपार्टमेन्ट) बाट निकालेर घरमा प्रवेश गराएका छन् । रियल ईस्टेट व्यवसायमा सफल मानिएका मदन के.सी. पछि पनि सन् २०१० सम्म औलामा गन्न सकिने नेपाली रियल ईस्टेट व्यवसायहरु थिए । तर आजको मितिमा यो संख्या ह्वात्त बढेर गएको छ । अहिले प्रारम्भदेखि नै नीजि रुपमा रियल ईस्टेट व्यवसाय गर्दै आएका साम कटोच, मदन केसी, कृष्ण तिम्सिना, विष्णु अर्याल, लक्ष्मण सुवेदी, विनाद पौडेल, खेजराज खनाल, भानु सिवाकोटी, राजन चन्द, ऋषिराम गैरे, प्रदिप पौडेल, रमेश बानिया, सरीता श्रेष्ठ एकातिर छन् भने अर्कोतिर समूह बनाएर यो व्यवसायमा लाग्नेहरुमा घिमिरे दम्पत्ती ‘जिमी पूर्ण सृष्टि घिमिरे’ धेरै अगाडिदेखि रियल ईस्टेटट व्यवसायमा संलग्न छन् भने ‘टिम रारा’ को नामबाट रमेश राना, आर्शिवाद सुवेदी, दिनेश खतिवडा, गिरी बुढाथोकी र राजेन्द्रराज महर्जनको एउटा समूह छ भने अर्कोतिर ‘टिम २४/७’ को नामबाटः सुनन्दा सुवेदी, हेमराज पाण्डे, पुष्प थापा, पुण्य शाही, अमृता शाह, संजिव श्रेष्ठ र धिरेन्द्र शाहको समूह रियल ईस्टेट व्यवसायमा लागेको देखिन्छ । (यसमा कसैको नाम छुटेकामा क्षमाप्रार्थी छु)

यी मध्ये रियल ईस्टेटको स्वतन्त्र व्यवसाय गर्ने उदृेश्यका साथ एउटा पृथक समूह स्थापना गरेर कम्पनीनै दर्ता गराएर व्यवसायिक रुपमा एभरेष्ट रियल्टी लिमिटेड, ब्रोकेज देखा परेको छ । सम्भवतः नेपालबाहिर नेपालीको पहिलो रियल ईस्टेट व्यवसाय गर्ने कम्पनी यो नै होला । सन् २००० देखि रियल ईस्टेट व्यवसाय गर्दै आउनु भएका मदल के.सी. ले नेपालको पहिचानसमेत रहने गरी सबै नेपाली रियल ईस्टेट व्यवसायहरुलाई समेटेर एउटै रियल ईस्टेट कम्पनीमा काम गर्ने सपना देख्दै आउनु भएको थियो । एउटै छहरी मुनि बसेर रियल ईस्टेट व्यवसायलाई सजिलो तरिकाबाट नेपालीहरुका माझ पुर्याउने उद्देश्यका साथ मार्च ३०, २०१७ मा एभरेष्ट रियल्टी लिमिटेड, ब्रोकेज कम्पनीको थालनी भएको पाइन्छ । दुई वर्षअघि विशाल टोरन्टोको मिसिसाँगाबाट शुरु भएको एभरेष्टले आफ्नो शाखा विस्तार गर्ने क्रममा गत वर्ष स्कारबोरोमा अर्को शाखा कार्यालय खोलेको छ भने विण्डसोर शहरमा पनि सेटलाईट कार्यालयका माध्यमबाट सेवा पुर्याउदै आएको छ । एभरेष्ट रियल्टी लिमिटेड, ब्रोकेजका संस्थापक मदन के.सी. का अनुसार हाल यस कम्पनीमा १७ जना एजेन्टहरु कार्यरत छन् । यिनमा १२ जना नेपाली मूलका एजेन्टहरु (मदन केसी, राज महत, मनोज विष्ट, शान्तम खड्का, लोक दोराङ्गा, परशु श्रेष्ठ, राजन तामङ्ग, निलम कडेँल रिजाल, बाबुराम कडेँल, प्रितम त्रिपाठी, तारा बस्नेत र गोबिन्द खत्री) छन् र ५ जना विदेशी (हरबक्स सिंह, जुनेजा, राजि हसन, गगन माभी, जस्टिन सिवो र बलजित कौर जुनेजा) एजेन्टहरुले एभरेष्ट रियल्टी लिमिटेड, ब्रोकेज अन्तर्गत काम गर्दै आएका छन् । के.सी.का अनुसार सन् २०२० भित्र एभरेष्ट रियल्टी लिमिटेड, ब्रोकेजको शाखा अन्टारियो प्रान्तका अन्य शहरहरुमा पनि खोलिने लक्ष्य राखिएको छ भने त्यसपछिका दिनहरुमा क्यानडाका अन्य प्रान्तमा एभरेष्ट रियल्टी लिमिटेड, ब्रोकेजका शाखाहरु खोलिने छन् । कार्यक्रममा यसका संस्थापक मदन केसीले सबै नेपालीहरुका लागि सजिलो तरिकाबाट घर उपलब्ध गराइ दिने जिम्मा एभरेष्टल रियल्टीले लिने वचन दिदै नेपालीहरुमा एक्यवद्धका लागि अनुरोध गर्नु भएको थियो ।

एभरेष्ट रियल्टी लिमिटेड, ब्रोकेजको वर्षभरी गरिएका कामहरुको मूल्याङ्कन गर्दै पहिलो ‘एभरेष्ट पुरस्कार साँझ २०१९’ सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेर नेपाली समुदायका माँझ आफ्नो कार्यक्षमता र भावि योजनाका बारेमा जानकारी गराउँदै कम्पनीको निशुल्क तालिमसँगै नयाँ एजेन्टका लागि मासिक शुल्क नलाग्ने आदि बारे परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो । एकजना आप्रवासी नेपालको अथक प्रयासबाट एभरेष्ट रियल्टी लिमिटेड, ब्रोकेजको नामबाट शुरु भएको रियल ईस्टेट व्यवसायले यस क्षेत्रको सगरमाथा टेक्न सफल बनोस ।

एभरेष्ट शब्दसँगको गोरुबेचाई साईनो

नेपालको सगरमाथालाई अँग्रेजीमा एभरेष्ट भनिन्छ भनेर सानोमा पढेको सम्झना छ । पढ्दै बढ्दै गएपछि सगरमाथालाई बुझ्दै गए । एभरेष्टलाई चिन्दै गए । अनि अन्त्यमा एभरेष्टको बारेमा बुझ्ने मौका पनि पाए । अर्थात, सन् १८६५ मा रोयल जोग्राफिकल सोसाईटीका बेलायती नागरिक जोर्ज एभरेष्टले विश्वमै उच्च शिखरहरुमा नेपालमा रहेको हिमालको उचाँई ८८४८ मिटर भएको घोषणा पत्ता लगाये । यही हिमाल विश्वकै सर्वोच्च शिखर रहेको पत्ता लगाएपछि उनको नामबाट विश्वकै उच्च शिखर हिमालको नाम राखिएकोले यस हिमाललाई माउण्ट एभरेष्ट भनिएको हो । अर्थात माउण्ट एभरेष्ट भएको देशभन्दा नेपाललाई बुझाउँला तर एभरेष्ट (बेलायती नागरिकको एउटा थर) मात्र भन्दा नेपाललाई कदापी बुझाउँदैन । हामी लहैलहमा जबरजस्ति एभरेष्ट शब्द प्रयोग गरेर नेपालको पर्यायवाची बनाउन सक्दैनौं । यो विश्व शिखरलाई हामी सगरमाथाको नामबाट चिन्ने गर्छौ भने चिनमा यसलाई जुमुलाङ्मा (झुमुलाङ्मा) र तिब्बतमा यसलाई चोमोलुङ्मा भनेर चिनिन्छ । एभरेष्टकै कुरा गर्ने हो भने विश्वभरी नै एभरेष्टको नामबाट विभिन्न व्यवसायहरु चल्दै आएका छन् । एभरेष्ट रियल ईस्टेट व्यवसायको नाममा अमेरिका, बेलायत, अरब आदि विभिन्न देश–महादेशमा रहेको पाइन्छ । अझ क्यानडाको क्यालगरीमा नै ‘एभरेष्ट रियल्टी एण्ड प्रोपर्टी मेनेज्मेन्ट कर्पोरेसन’, ले सन् २००९ देखि रियल ईस्टेट व्यवसाय गर्दै आएको छ । एभरेष्ट भन्ने शब्दको नेपालीसँग झड्केलो साईनो रहेता पनि यो शब्द सगरमाथा जस्तै नेपालको ट्रेड मार्क चाहीँ होइन भन्दा अतिशयोक्ती नहोला ।

(स्रोत : रियल ईस्टेट बोर्ड अफ अन्टारियो, ग्रेटर भ्यानकुभर, अल्बर्टा, क्यानेडियन रियल ईस्टेट एशोसिएसनका गुगलमा प्राप्त सामग्रीहरु तथा व्यक्तीगत सोधपूछ)

(६२ औं जन्मदिनको पहिलो रात, सन् २०२०)

डा. गोबिन्दसिंह रावत, टोरोन्टो

प्रतिक्रिया