युवतीहरुलाई सफ्टवेयर डेभलपमेन्ट शीप सिकाउने तथा रोजगारी प्रदान गर्ने उद्देश्यका साथ ‘कोड लाईक हर’ फेलोशिप संचालन गरिँदै

इनेप्लिज २०७६ माघ २९ गते ११:५४ मा प्रकाशित

२०७६ माघ २९ गते, काठमाडौं ।

किशोरी तथा महिलाहरुको समूहले सुरु गरेको सफ्टवेयर डेभलपमेन्ट स्टार्टअप ‘कोड रश’ ले ‘कोड लाईक हर’ (उनले जस्तै कोडिङ गर्नुहोस) फेलोशिप संचालन गर्ने भएको छ । छ महिना लामो यस फेलोशिपको मुख्य उद्देश्य युवतीहरुलाई सफ्टवेयर डेभलपमेन्ट तथा अन्य प्राविधिक सीप सिकाउने तथा रोजगारी प्रदान गर्ने रहेको छ । स्नातक तहमा आईटी तथा इन्जिनियरिङ्ग विषय अध्ययनरत तथा भर्खरै स्नातक उत्तीर्ण गरेका युवतीहरुले उक्त फेलोशिपका लागि आवेदन दिन सक्नेछन् जस मध्ये १२ जना उपयुक्त आवेदकलाई ’कोड लाईक हर फेलो’ का रुपमा छनोट गरिनेछ ।

अहिले नेपालमा सूचनाप्रविधि क्षेत्रमा काम गर्ने नेपाली महिलाको सङ्ख्या ज्यादै न्यून छ । आइटी उद्योगमा काम गर्न आवश्यक पर्ने उपयुक्त सीपको अभाव नै महिलाहरुको करिअर अगाडि नबढ्नुको एउटा मुख्य अड्चनको रुपमा देखिएकोले निस्शुल्क रुपमा संचालन गरिने यस फेलोशिपले उनीहरुलाई सफ्टवेयर डेभलपमेन्ट तथा नेतृत्व विकास सम्बन्धि विभिन्न सीप प्रदान गरी क्षमताअभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ । यस फेलोशिपमा सहभागीहरुले मुख्य गरी अहिले उद्योगमा अति नै माग गरिएको फुल स्ट्याक डेभलपमेन्ट, फ्रन्टएन्ड (रियाक्ट जेएस), ब्याकएन्ड (नोड डट जेएस, एक्सप्रेस जेएस), डाटाबेस आदि सीप सिक्नेछन् । फेलोहरुलाई यस्ता विभिन्न सीपका साथै नेपालका सूचना प्रविधी क्षेत्रका विशेषज्ञहरूबाट उचित मार्गदर्शन र सल्लाह पनि प्रदान गरिनेछ ।

यस फेलोशिप मार्फत ’कोड रश’ले प्राविधिक क्षेत्रमा महिलाको पहुँचलाई थप विस्तार गर्ने र आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । फेलोशिप अन्तर्गत तीन महिनासम्म वर्कशप तथा विभिन्न प्रोजेक्टहरु मार्फत सफ्टवेयर डेभलपमेन्ट तथा अन्य विभिन्न सीप विकास तालिम दिइनेछ भने अर्को तीन महिना सूचना प्रविधि क्षेत्रमा क्रियाशील कम्पनीहरुमा इन्टर्नशीपका लागि सामेल गराईनेछ । उक्त इन्टर्न्शिप अवधि पश्चात उनीहरुलाई विभिन्न कम्पनीहरुमा रोजगारी पाउनका लागि मद्दत गरिनेछ ।

‘कोड लाईक हर’ फेलोशिप विवरणः

सुरु मितिः २ मार्च २०२०
फेलोशिप अवधिः ६ महिना
फेलोहरूको लागि छानिने संख्याः १२
लक्षित सहभागीहरूः आईटी, इन्जिनियरिङ्ग वा सम्बन्धित विषयमा स्नातक अध्ययनरत तथा भर्खरै उत्तीर्ण युवतीहरु
आवेदन दिने अन्तिम म्यादः २० फरबरी २०२०

‘कोड रश’को वेबसाईट (sf]8/z 86sd 86PgkL_ ) मार्फत फेलोशिपका बारेमा थप विवरण थाहा पाउनका साथै अनलाईन आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया