माघे सङ्क्रान्तिको स्नान: संम्झना

शशी के.सी २०७६ माघ १ गते १:२३ मा प्रकाशित

शशी के.सी । कुरा यस्तै ३०-३५ बर्ष अगाडीको, हामी स्कुल पढ्नेबेलातिरको हो। स्कुले जिवन त होस्टेल मै बितेकोले दशैं तिहार बाहेक अरू चाडपर्वचाहीॅं तेती घरमा मनाएको याद पनि छैन। तर माघे सङ्क्रान्ति, जाडो महिनाको छुट्टीमा घर आएको बेलामा पर्ने भएकोले मनाएकोराम्रोसॅंग सम्झना छ। ओहो त्योबेला, माघे सङ्क्रान्ति आउनु हप्ता दिन अगाडीदेखि काठमाडौंको बजार भरी थरीथरीका तरूल, सखरखण्ड( सुठुनी), खैरो तिल,घिउ, सख्खर/चाकु, तिलौरी ( तिलको सेतो, कालो लड्डु) देखिन थाल्थ्यो भने घरमा पनि ति सबै आउनेनैभयो। घरमा चहलपहल अघिल्लो दिनै, तिल पखालेर माटो निकाल्यो, सुकायो, भुटेर भोलीलाई लड्डु बनाउन तयार, तिलौरी किने पनि, घरमा सख्खर पगालेर, खैरो तिलको ताजा लड्डु भगवानलाई चढाउन चोखो त बन्थ्यो नै, तेस्तै तरूल, सख्खरखण्ड ताछेर/पखालेर तयार, सख्खर पगाल्न चोखो भाॅंडा तयार, त्योबेला त चुलो भनेको नै, दमदिने वा फित्तावाला स्टोभ त हो, त्यो पनि पुसपास पारेर चोखो बनायोअघिल्लो दिनै, अनि भोली बिहान सबै प्रसाद तयार हुने चाहीॅं पुजा कोठामै!

यी खाने परिकार बाहेक, माघे सङ्क्रान्तिको स्नानको त ठुलो महत्व छ।बिभिन्न धार्मिक ग्रन्थ( भविष्य पुराण, बिष्णुवचन आदीमा) उल्लेख भए अनुसार माघे सङ्क्रान्तिको दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, तरूल,बस्र, पानीको भाॅंडो र मकल आदि सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ। यस दिननेपालभर विभिन्न पवित्र नदीमा स्नान गर्नेको घुईॅंचो लाग्छ। अहिले लेख्दा नपत्याउने कुरा जस्तो,त्योबेला काठमाडौंको बाग्मती नदी, गुहेश्वरीको गौरीघाट, बिष्णुमती नदीमा नुहाउनेहरू धेरै हुन्थे।

अब रहयो घरको माघे स्नानको कुरा, ओहो माघको महिना काठमाडौं, जाडो त कति कति,साथै पानी छुॅंदा ठिर्याएर हातै झर्ला जस्तोहुन्छ। अरूबेला त बिस्तारै घाम लागेपछि तातो पानी तताएर नुहाए पनि हुने, तर माघे सङ्क्रान्तिको दिन त ननुहाई केही खान पाइनेभएपो, एकातिर ओछ्यानमै हरहर लड्डु बनाएको, तरूलहरू पाकेको बास्ना आएको छ, अर्कोतिर नुहाउनु छ त्यो पनि केटाकेटीबेला।

एकपटकको माघे सङ्क्रान्तिमा पहाड ( सोलुखुम्बु, जुबु) गाउॅंबाट हजुरबुबा काठमाडौं आउनुभएको बेला परेको थियो।हामी सबैकेटाकेटी नुहाउन नमानेर गनगन गर्दै थियौं। हजुरबुबाले हामीलाई “माघे सङ्क्रान्तिको स्नान” को महत्व बुझाउॅंदै, हेर आजको दिन त दुधकोशीमा बिहानै बाघ पनि झम्लङ् हाम फालेर माघे नुहाएको माथी गाउॅंसम्म पनि सुनिन्छ भन्नु भयो। केटाकेटी न परियो, ओहो बाघ तनुहाउने रहेछ भन्दै, सबैजना नुहाईवरी मिठोमिठो प्रशाद, तिलको लड्डु, घ्यु, चाकु, तरूल खान तयार भइयो। अहिले पनि जब जब माघेसङ्क्रान्ति आउॅंछ, हजुरबुबाले भनेको “दुधकोशीमा बाघले नुहाएको” किस्सा याद आउॅंछ।

सबैलाई माघे सङ्क्रान्तिको शुभकामना

 

शशी के.सी

लेखिका

प्रतिक्रिया