तामाङ समाज अमेरिकाको प्रेस विज्ञप्ती        

इनेप्लिज २०७६ पुष ११ गते ११:२८ मा प्रकाशित

डिसेम्बर २६, २०१९

 

प्रेस विज्ञप्ति ।

अमेरिकी तामाङ समाजमा विगत डेढ वर्ष देखि देखिएको विभाजनलाई सम्बोधन गर्ने उद्देश्यले तामाङ समुदायका अगुवा अभियन्ताहरु लुईसाङ वाईवा तामाङ र ङिमा पाख्रिन तामाङको मध्यस्थकर्तामा तामाङ समाज अमेरिका र तामाङ सोसाइटी अफ न्युयोर्क बीच वार्ता बस्ने औपचारिक निर्णय गरिएको थियो । औपचारिक वार्ताको लागि आवश्यक प्रक्रियाहरु पुरा गरेर गत डिसेम्बर १८ मा प्रथम चरणको वार्ता बसेको थियो भने दोश्रो चरणको वार्ता डिसेम्बर २१ मा बसेको थियो । यथेष्ट प्रयासको बाबजुद वार्ता सफल नहुनु दु:खद रहेको छ तर यो पहिलो प्रयास नै अन्तिम होइन भन्ने हाम्रो विश्वास छ । वार्तामा आमने सामने भएर विमतिहरुमा छलफल गर्नु पनि एक किसिमको सफलता हो । विश्व इतिहासमा यस्ता धेरै दृष्टान्तहरु छन् जहाँ पहिलो वार्तामा सफलता हासिल भएका छैनन् । तर भबिष्यमा वार्ताका सम्भावनाहरुलाई जीवित राखिरहन वार्ताका पक्षधरहरु सदा नैतिक एवं चरित्रवान रहिरहनु पर्ने हुन्छ ।

यस वार्ताकोबारेमा वार्ताका एक पक्षधर तामाङ सोसाइटी अफ न्युयोर्कले जारी गरेको बिज्ञप्ति एवं त्यो संस्थाको सल्लाहकार शान्त बाबु थोकरको सामाजिक संजालमा देखिएको भ्रमपूर्ण सम्प्रेषणप्रति हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । तामाङ सोसाइटी अफ न्युयोर्कले वार्ताको आचारसंहिता उल्लङ्घन मात्र गरेका छैनन् कि एउटा जिम्मेवार पक्षको भूमिका निर्वाह गर्नबाट समेत चुकेको छ । औपचारिक वार्ता बस्ने क्रममा तामाङ सोसाइटी अफ न्युयोर्कका वार्ता समितीले कुनै पनि किसिमको एजेन्डा वार्तामा प्रस्तुत गरेका थिएनन् अर्थात् उनीहरु एजेन्डा विहिन वार्तामा बसेका थिए । तामाङ समाज अमेरिकाको वार्ता समितिका संयोजक म स्वयम् बुद्दिमान तामाङले संस्थाको तर्फबाट वार्ताका एजेन्डाहरु मध्यस्थकर्ताद्वय र उपस्थित १० जना वार्ता प्रतिनिधिहरुलाई वितरण गरेको थिएँ ।  तामाङ समाज अमेरिकाले प्रस्तुत गरेको प्रस्तावित एजेन्डामा छलफल एवं बहस गर्दै सहमति  र निर्णयहरु मध्यस्थकर्ताद्वयले टिपोट गरेका थिए । प्रस्तावित अधिकांश एजेन्डामा सामान्य परिमार्जन सहित सहमति र निर्णय गरिएको थियो । तर नेतृत्व चयनको सवालमा गम्भीर ढंगले बहस गरिएको र अन्तत: दुवै पक्षले दुवै संस्थाका अध्यक्षहरुलाई अर्को अधिवेशन सम्पन्न नगरुन्जेलसम्मको लागि अध्यक्ष स्वीकारेर जाने निर्णय भएको हो । विमति कहाँ मात्र रहेको थियो  भने यी दुवै अध्यक्षहरुलाई कहिले सम्म अधिवेशन सम्पन्न गर्न अधिकार दिने? तामाङ सोसाइटी अफ न्युयोर्कका वार्ता संयोजक दिपेन्द्र लामाले यी दुवै अध्यक्षहरुको कार्यावधि २ महिनामा सिमिति राखौं भनेर तर्क गरेका थिए भने म  बुद्दिमान तामाङले दुवै अध्यक्षहरुको कार्यकाल २ वर्ष अझै बाँकि रहेकोले त्यो पूर्ण कार्यकालसम्म महिला अध्यक्षद्वयलाई नेतृत्व गर्न दिनुपर्छ भन्ने मेरो तर्क थियो । मध्यस्थकर्ताद्वयको समन्वयमा दुवै अध्यक्षहरुको कार्यावधि १ वर्ष राखौं भन्ने प्रस्ताबमा मैले उद्दारता देखाएँ तर अर्का संयोजक दिपेन्द्र लामाले २ महिना भन्दा बढी समय महिला अध्यक्षहरुलाई दिन कुनै पनि परिस्थितिमा  नसकिने अडान लिएपछि वार्ता भंग भएको थियो ।

एजेन्डाविहिन वार्तामा सहभागी भएका तामाङ सोसाइटी अफ न्युयोर्कले सामाजिक संजाल मार्फत मनगडन्ते एजेन्डाहरु सुचिकृत गरेर प्रकाशन गर्नु र तोकेर नै यो एजेन्डामा सहमति हुन नसकेको भन्न नसक्नु कम्जोरहरुको यो विशेष चरित्र हो भन्ने हाम्रो मान्यता छ। आचारसंहिता पालना गर्ने प्रतिबदत्तालाई उल्लङ्घन गर्दै समुदायमा भ्रम फैल्याउन गरेको दुस्प्रयास प्रति हाम्रो घोर आपत्ति छ । तामाङ समुदायलाई एक ढिक्का बनाउने पबित्र उद्देश्य लिएर गरिएको वार्ता प्रक्रियालाई निजि स्वार्थ पूर्तिको लागि अपब्याख्या नगर्न समेत चेतावनी दिइन्छ । हाम्रा सम्पूर्ण शुभचिन्तकहरुलाई यस्ता भ्रमहरुबाट सचेत रहन अनुरोध गर्दछौ ।

मध्यस्थकर्ताद्वय  लुईसाङ वाईवा तामाङ र ङिमा पाख्रिन तामाङको सकारात्मक प्रयास र योगदानको उच्च प्रशंसा गर्दै समुदायमा फैलाइएको भ्रमलाई चिर्न यहाँहरुको तर्फबाट संयुक्त विज्ञप्तिको लागि हामी आग्रह गर्दछौ । समुदायलाई यथार्थपरक बस्तुस्थिति सम्प्रेषण गर्नु मध्यस्थकर्ताद्वयको प्रमुख जिम्मेवारी पनि हो । यस वार्तामा सहयोगी भूमिका निर्वाह गर्नु हुने मेरा सहकर्मी मित्रहरु विनिता तामाङ, रोज बहादुर घिसिङ, तुल बहादुर तामाङ र दिल माया तामाङ प्रति आभार प्रकट गर्दछु ।

 

लास्सो ।

_________________

बुद्दिमान तामाङ

वार्ता संयोजक

तामाङ समाज अमेरिका

 

वार्तामा छलफल र बहस भएका एजेन्डाहरु सहमति/निर्णय सहित

(प्रस्तावित एजेन्डाहरु तामाङ समाज अमेरिकाको तर्फबाट प्रस्तुत गरिएको थियो ।

तामाङ सोसाइटी अफ न्युयोर्क एजेन्डा विहिन वार्तामा उपस्थित थियो ।)

 

प्रस्ताव १: तामाङ सोसाइटी अफ न्युयोर्कको अध्यक्ष गोमा योन्जनले तत्कालिन कार्य समिति पूर्ण गराउन ९ जनालाई मनोनयन गरेको प्रक्रिया संस्थाको विधान विपरित भएको आत्मालोचना गर्नु पर्नेछ ।

सहमति/निर्णय १: प्रस्ताव १ मा छलफल गरेपछि तामाङ सोसाइटी अफ न्युयोर्कको प्रथम अधिवेशनमा भएका प्रक्रियागत त्रुटीको कारण न्युयोर्कमा दुईवटा तामाङ संस्थाहरुको जन्म भएको र भबिष्यमा त्यस्तो त्रुटी नदोहोरियोस् भन्नको लागि संस्थाको विधानमा आवश्यक ब्यबस्था गर्ने निर्णय गरियो ।

 

प्रस्ताव २: तामाङ सोसाइटी अफ न्युयोर्कको अध्यक्षले मनोनित प्रक्रियामा गरेको गल्तीको नैतिक जिम्मेवारी तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको अध्यक्ष लक्यान लामाले लिनु पर्नेछ ।

प्रस्ताव ८: तामाङ समाज अमेरिकाको संरक्षक लुईसाङ वाईबा तामाङ लगायत सल्लाहकार भोजराज थोकर माथि तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले तत्कालिन अवस्थामा गरेको कारवाही संस्था एकता भएको घोषणा अगाडि नै प्रेस बिज्ञप्ति मार्फत फिर्ता लिनु पर्नेछ ।

प्रस्ताव २ र ८ लाई एकै ठाउँमा समाहित गरेर गरिएको निर्णय: तामाङ समाज अमेरिकाको संरक्षक लुईसाङ वाईबा तामाङ लगायत सल्लाहकार भोजराज थोकर माथि तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले तत्कालिन अवस्थामा गरेको कारवाही संस्था एकता भएको घोषणा अगाडि नै प्रेस बिज्ञप्ति मार्फत फिर्ता लिन तामाङ सोसाइटी अफ न्युयोर्कले अनुरोध गर्नेछ । यदि त्यो अनुरोध अस्विकार गरियो भने तामाङ सोसाइटी अफ अमेरिकाले आफुलाई तामाङ सोसाइटी अफ नर्थ अमेरिकासँग आबद्द राख्ने छैन ।

प्रस्ताव ३: एकतापछि अब उप्रान्त तामाङ सोसाइटी अफ अमेरिका (२००२ मा स्थापना गरिएको संस्था) भन्ने संस्थामा तामाङ समाज अमेरिका विलय हुन तयारी छ तर संस्थाको नयाँ विधानमा तामाङ सोसाइटी अफ अमेरिकाको नेपाली संस्करण “तामाङ समाज अमेरिका” भनेर विधानको प्रस्तावनामा उल्लेख गर्नु पर्नेछ ।

सहमति/निर्णय ३: प्रस्ताव ३ मा छलफल पश्चात जस्ताको तस्तै अनुमोदन ।

 

(प्रस्ताव ४ मा प्रवेश गर्नु भन्दा अगाडि बाँकी रहेका सम्पूर्ण एजेन्डाहरुमा सामान्य परिमार्जन गरेर अनिमोदन गर्ने पूर्व सहमति गरिएको थियो । तर त्यसको लागि प्रस्ताव ४ मा सहमति हुनु अनिवार्य थियो ।)

 

प्रस्ताव ४: एकता लगतैको तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षको जिम्मेवारी तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङलाई सर्बसहमत सुम्पिनु पर्नेछ ।

सहमति/निर्णय ४: दुवै महिला अध्यक्षहरु क्रमश: सानुमाया तामाङ र गोमा योन्जन तामाङलाई तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष स्वीकार्न दुवै वार्ताका पक्षधरहरुले सहमति जनाएका थिए । तर कार्यकालको समय अवधिमा सहमति जुट्न सकेन ।

यसबारेमा भएका बहस र तर्कहरु यस प्रकार छन् :

 

बुद्दिमान तामाङको धारणा:  

  • दुवै महिला अध्यक्षहरुले आफ्नो बाँकि कार्यकाल (२ वर्ष बाँकि रहेको) पुरा गर्न पाउनु पर्ने र उहाँहरुको कार्यकाललाई ऐतिहासिक सफलता प्रदान गर्न दुवै कार्य समितिलाई एकीकृत गरेर सक्रिय बनाउने र २ वर्ष भित्रमा नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने ।
  • (मध्यस्थकर्ताको अनुरोधलाई स्वीकार गर्दै) दुवै संस्थाका महिला अध्यक्षहरुको कार्यकाल अब उपरान्त १ वर्ष तोकेर उहाँहरुको कार्यकाललाई ऐतिहासिक सफलता प्रदान गर्न दुवै कार्य समितिलाई एकीकृत गरी सक्रिय बनाउने र १ वर्ष भित्रमा नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने ।
  • वार्ता असफल भएको घोषणा ।

 

दिपेन्द्र लामाको धारणा:

  • दुवै महिला अध्यक्षहरुको कार्यकाल २ महिनामा सिमित बनाएर तत्काल अर्को अधिवेशन गरेर महिला अध्यक्षहरुलाई बिसर्जन गरी नयाँ समिति निर्माण गर्ने ।
  • (मध्यस्थकर्ताको अनुरोधलाई अस्वीकार गर्दै) दुई महिना भन्दा बढी समय दुवै महिला अध्यक्षहरुलाई कुनै पनि परिस्थितिमा दिन नसकिने । यही प्रस्ताव अघिल्लो वार्तामा आएको भए त्यो सम्भब थियो तर आज यो सम्भव छैन । कुनै पनि परिस्थितिमा २ महिना भित्रमा दुवै महिला अध्यक्षहरुलाई जसरी पनि बिसर्जन गर्ने ।
  • वार्ता असफल भएको घोषणा ।

 

प्रस्ताव ५: तामाङ समाज अमेरिकाको कार्यकारिणी बोर्डका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई अब उप्रान्त तामाङ सोसाइटी अफ अमेरिकाको कार्य कारिणी सरह मान्यता दिनु पर्नेछ ।

 

प्रस्ताव ६: तामाङ समाज अमेरिकाको सम्पूर्ण सल्लाहकारहरुलाई तामाङ सोसाइटी अफ अमेरिकाको सल्लाहकारमा मनोनयन गर्नु पर्नेछ ।

 

प्रस्ताव ७: तामाङ गुम्बा तथा बौद्ध सांस्कृतिक केन्द्रको कार्य समितिमा सह-संयोजक एवं सदस्य सचिव सहित ५० प्रतिशत सदस्य तामाङ समाज अमेरिकाको प्रतिनिधिहरुलाई दिइनु पर्नेछ ।

 

प्रस्ताव ९: एकता घोषणा गरेको दुई हफ्ता भित्र सम्पूर्ण सहमतिहरु कार्यन्वयन भए पश्चात तामाङ समाज अमेरिका तथा तामाङ सोसाइटी अफ न्युयोर्कलाई कानुननत: विधिवत ढंगले भंग गर्नु पर्नेछ ।

 

लास्सो ! धयाबाद !!

 

_________________

बुद्दिमान तामाङ

वार्ता संयोजक

तामाङ समाज अमेरिका

 

प्रतिक्रिया