उपनिर्वाचनका काँग्रेस ओरालो लाग्यो : प्रभु साह

इनेप्लिज २०७६ मंसिर २१ गते १०:२६ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

पहिलेदेखि नै जनाधारको रुपमा मानिँदै आएको मधेसमा उपनिर्वाचनको परिणामले नेपाली काँग्रेस ओरालो लागेको देखिएको साँसद प्रभु साहले बताएका छन् । रौतहटको फतुवाविजयपुर नपाको सन्तपुरमा समृद्धिका लागि जनप्रतिनिधिको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेकपाको प्रदेश २ अध्यक्षसमेत रहेका साँसद साहले गत हप्ता सम्पन्न उपनिर्वाचनको नतिजाले नेपाली काँग्रेसको जनाधार खस्कँदै गएको तथ्यांक प्रस्तुत गरेका छन् ।

प्रदेश २ मा चारैतिरबाट कम्युनिष्ट पार्टी र वर्तमान संघीय सरकारमाथि अनेक किसिमको आक्रमण भइरहेको भए पनि २०७४ मा सम्पन्न निर्वाचनको तुलनामा गत हप्ताको उपनिर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई मन पराएको देखिएकोले नेपाली काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने र आफ्नै लागि गम्भीर हुनुपर्ने अवस्था आएको साहले बताएका छन् । प्रदेश २ मा सम्पन्न उपनिर्वाचनमा नेकपासित अन्य सबै दलको प्रतिस्पर्धा देखिएको पनि प्रदेश २ अध्यक्ष साहले बताएका छन् ।

प्रदेश २ मा भएको उपनिर्वाचनको सम्पूर्ण स्थानको मत परिणामलाई विश्लेषण गर्दा नेकपा कि त विजयी भएको कि त प्रतिस्पर्धामा रहेको स्पष्ट पार्दै नेपाली काँग्रेसले प्रदेशमा एउटामात्र वडामा जित हासिल पारेको र अन्यत्र प्रतिस्पर्धाबाटै बाहिर रहेको देखिएको साहले बताएका छन् । यसै गरी मधेसवादी दल भनेर चिनिने समाजवादी पार्टी र राजपा नेपालको स्थिति पनि जितेको ठाउँमा बाहेक प्रतिस्पर्धामा नै नरहेको देखिएको स्पष्ट पारेका छन् । २०७४ को निर्वाचनमा राजपाको वडाध्यक्ष जितेको ठाउँ रौतहटको गढीमाई नपा २ को वडाध्यक्ष सपाले १२२ र राजपाले १६ मत प्राप्त गरेकाले मधेसवादी दलसित विस्तारै जनताको मोहभंग भइरहेको विश्लेषण पनि साहले गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश साँसद कुन्दनप्रसाद कुशवालाले प्रदेश सरकार चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै प्रदेशको विकासले गति लिन नसक्नुमा प्रदेश सरकार पूर्णरुपमा जिम्मेवार रहेको आरोप लगाएका छन् ।

कार्यक्रममा कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालगायतका जनप्रतिनिधिहरु र स्थानीय भद्रभलादमीहरुले मन्तव्य व्यक्त गर्दै स्थानीय तहमा भइरहेको भ्रष्टाचार तथा जनतालाई चाहिने कामको बारेमा स्पष्ट पारेका थिए । जनप्रतिनिधिहरु जनताकै बीचमा उपस्थित भएर अन्तक्रिया गर्दा सर्वसाधारणको चाहना तथा जनप्रतिनिधिहरुले गरिरहेका कामको बारेमा दुवै पक्ष जान्न पाएको स्थानीय विजय यादव निर्बिजले बताएका छन् ।

प्रतिक्रिया