साहित्यिक पत्रकारिता भनेको प्राज्ञिक पत्रकारिता हो : धमला रौतहट

इनेप्लिज २०७६ मंसिर ८ गते १६:०० मा प्रकाशित

नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय उपमहासचिव तथा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य साहित्यकार चेतनाथ धमलाले साहित्यिक पत्रकारिता आफैँमा प्राज्ञिक पत्रकारिता रहेको बताएका छन् । रौतहटको चन्द्रपुरमा सूर्योदय पुस्तकालयद्वारा प्रकाशित सूर्योदय साहित्यिक त्रैमासिक पत्रिकाको विमोचन गर्दै धमलाले साहित्यिक पत्रकारिता सामान्य समाचार पत्रकारिताभन्दा केही फरक रहेको बताएका छन् ।

साहित्यिक पत्रिकाका सम्पादकलाई साहित्यका विधाको राम्रो ज्ञान हुनुपर्ने र अरुका सिर्जनाको भाव पनि तथा सिर्जनाको प्राविधिक पक्षको पनि जानकारी हुनुपर्ने हुनाले साहित्यिक पत्रकारितालाई विशेष किसिमले हेर्नुपर्ने धमलाले बताएका छन् । कौशिकी साहित्यिक द्वैमासिकका प्रधान सम्पादक तथा प्रकाशकसमेत रहेका धमलाले सांस्कृतिक जीवनशैलीको रूपान्तरणप्रति चिन्ता व्यक्त गर्दै “पहिलेको आफ्नो घरको खाजा तथा दही–महीको ठाउँ अर्कै आयातीत पेय पदार्थले लिनु संस्कृतिमाथिको अतिक्रमण भएको” बताएका छन् । सर्वसाधारणले आफ्नो संस्कृतिमाथिको अस्वस्थ्य हस्तक्षेप पनि सजिलै स्वीकार गरिरहेकोप्रति धमलाले आश्चर्य व्यक्त गरेका छन् ।

पत्रिकाको संयुक्त विमोचन गर्दै नेपाल साहित्यिक पत्रकार संघ प्रदेश नम्बर दूका संयोजक सञ्जय साह मित्रले सूर्याेदय साहित्यिक पत्रिकाले लामो समयपछि आफ्नो सुन्दर अनुहार देखाएको बताउँदै यसले आफ्नो ऐतिहासिक गरिमालाई बचाउनुपर्ने बताएका छन् । पत्रिकाले नवजागरण ल्याउने कुरामा आफू विश्वस्त रहेको मित्रले बताए ।

त्रैमासिकका प्रधान सम्पादक रमेशमोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित साहित्यकारहरुलाई सम्पादक बालमुकुन्द कार्कीले स्वागत गरेका थिए । अर्का सम्पादक कृष्णप्रसाद दाहालद्वारा संचालित कार्यक्रममा डा. शालिग्राम शर्मा, नारायणहरि उपाध्याय, शंकर भटराई, दीपक गौतम, विश्वनाथ संजेल, धनदेव जोशी, मनोज विश्वकर्मा, तेजविक्रम कार्की, रामउदित, सौगात विकसहित करिब दुई दर्जन साहित्यकारहरुले रचना र मन्तव्य राखेका थिए । पत्रिकाका प्रधान सम्पादक अधिकारीले अब पत्रिकाको निरन्तरतामा कुनै अवरोध नआउने विश्वास प्रकट गरेका छन् ।

प्रतिक्रिया