काठमाडौं : निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ। कात्तिकमा बस्ने भनिएको विशेष साधारणसभा स्थगित गरिएपछि वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष बन्ने स्थिति पैदा भएको छ भने अन्य पदका आकांक्षीले पनि छलफल तीव्र पारेका छन्।
विशेष साधारणसभा किन डाकियो र किन स्थगित गरियो भन्ने विषयले महासंघभित्र निकै चर्चा पाइरहेको छ। एकातिर, विशेष साधारणसभा रोकेर नेतृत्वले महासंघलाई दुर्घटनाबाट बचाएको व्याख्या गरिएको छ।अर्कातिर, व्यवसायीका एजेण्डा सरकारसमक्ष पुर्याउन समस्या परेको भन्दै सबल नेतृत्वको खाँचो औँल्याइएको छ। जिल्ला, क्षेत्र र प्रदेशमा नेतृत्व सम्हालिसकेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीसँग थाहा खबरकर्मी भागवत भट्टराईले महासंघको चुनाव र निजी क्षेत्रको वर्तमान अवस्थाबारे कुराकानी गरेका छन् :
कात्तिकमा बस्ने भनिएको विशेष साधारणसभा स्थगित गरियो। यो अवस्था कसरी उत्पन्न भयो?
महासंघको संघीय संरचनामा सुरुमा केही समस्या थिए। हामी पहिलेदेखि संघीय संरचनामा त थियौं तर राज्यको संघीय स्वरूपसँग मिल्दोजुल्दो थिएन। सबै जिल्ला र नगरहरूमा महासंघका शाखा थिए, ती शाखालाई आर्थिक अधिकारदेखि स्वतन्त्ररूपमा संस्था चलाउनेसम्मको अधिकार दिइएको थियो। तर, हाम्रो प्रदेश संरचना थिएन। प्रदेश संरचना गठन हुने बेलामा हाम्रा साथीहरूले अध्यक्षको चुनावमा धेरै खर्च भयो, अहिले वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाऔं, अध्यक्ष स्वत: पाइहालिन्छ भन्ने राय दिए। कम्तीमा दुई कार्यकाल समय दिन प्रतिबद्धता जनाउनेलाई अध्यक्ष बनाउनेगरी विधान बनाउने तय गरियो। लगत्तै केही समयपछि- होइन, चुनाव नै गर्नुपर्छ भन्ने आवाज उठ्यो। राज्यको संघीय संरचनासँग मिल्नेगरी विधान संशोधन गरौं भन्ने कुरा पनि सँगसँगै उठ्यो। त्यसैले विशेष साधारणसभा डाकियो। तर, भइदियो के भने- निर्वाचनको मुखमा त्यसो गर्दा त्यसको अपव्याख्या हुने सम्भावना पैदा भयो। विधान संशोधन नै गर्न नहुने भन्ने त होइन, तर महासंघ एक प्रजातान्त्रिक संस्था भएकाले सदस्यहरूबाट आएका सुझाव मनन गर्दै विशेष साधारणसभा स्थगित गरिएको हो।
साधारणसभा रोकिँदा महासंघको शाख जोगियो भनिन्छ नि?
हो, यसलाई कसरी हेर्नुपर्छ भने, अघिल्लोपटक विधान संशोधन गरेर तय गरिएको कुराको अभ्यास हुन नपाउँदै खुला प्रतिस्पर्धामा जाने कुरा गर्दा दुईवटा कुरा उठे। केहीले पद प्राप्त गर्ने भए, केही पीडित हुने भए। बहुसंख्यक पीडित नै हुन्थे। यसले द्वन्द्व सिर्जना गर्थ्यो। आन्तरिक कुरामै द्वन्द्व हुन थाल्यो भने शाख त गिर्ने नै हो। साधारणसभा स्थगित गरेर अहिलेको नेतृत्वले एक किसिमको सक्षमता देखाएको छ।
महासंघमा लामो समयदेखि एउटै व्यक्तिको उस्तै भूमिका रह्यो, विवादको जरो त्यही हो भनिन्छ। तपाईंको बुझाइ के हो?
म त्यसरी हेर्दिनँ। व्यवसायिक घरानामा बाबु पुस्ताले उद्योग खडा गरेको हुन्छ, छोरा हुँदै नाति पुस्ताले चलाइरहेका हुन्छन्। अभिभावकले सल्लाह दिन सक्छन्, त्यसको आफ्नै महत्व छ। महासंघलाई यहाँसम्म ल्याइपुर्याउन मिहिनेत गर्ने हाम्रा पूर्वअध्यक्षहरूले विशेष साधारणसभाको विपक्षमा राय दिनुभयो, अहिलेको नेतृत्वले स्वीकार्यो। पूर्वनेतृत्व वा कुनै व्यक्तिले महासंघलाई बढी समय दिएको विषयलाई अन्यथा मानिरहनुपर्छ जस्तो लाग्दैन।
तपाईं लगातार चार कार्यकालदेखि महासंघ कार्यसमितिमा रहँदै आउनुभएको छ। जिल्ला, क्षेत्र र प्रदेश नेतृत्व गरिसक्नुभएको छ। यसपटक महासंघको जिल्ला नगर उपाध्यक्षमा रुचि देखाउनुभएको चर्चा छ। तपाईं उपाध्यक्षको दाबेदार हो?
व्यवसायमा र महासंघको विभिन्न तहमा लामो समयदेखि क्रियाशील रहँदै आएकाले स्वाभाविक रूपमा मेरो पालो अब उपाध्यक्षमा जाने हो। जिल्ला चलाइयो, मध्यमाञ्चल अध्यक्षको भूमिका निर्वाह गरियो। मेरो योगदानको मूल्यांकन गर्दै साथीहरूले प्रदेश निर्वाचन नहुञ्जेलका लागि संस्थापक अध्यक्षको जिम्मेवारी दिए, त्यो भूमिका पनि कुशलताका साथ निर्वाह गरियो। अहिले तीन नम्बर प्रदेश अध्यक्ष रहनुभएका दिनेश श्रेष्ठजीलाई उहाँको पहिलेदेखिको योगदान हेरेर त्यो स्थान दिइएको हो। अन्यथा उहाँले जिल्ला नगरको चुनाव हार्नुभएको थियो, तर हामीले अध्यक्षको स्थान दियौँ। त्यतिखेर, साथीहरूले पनि मेरो त्यागको मूल्यांकन गर्ने वचन दिएका थिए। त्यसकारण, स्वाभाविक रूपमा मैले साथ-सहयोगको अपेक्षा गर्छु। सुरज वैद्यको कार्यकालदेखि कार्यसमितिमा छिरेर चार/चारजना अध्यक्षसँग काम गरेको मान्छे, तपाईं आउनुपर्छ भन्ने साथीहरूको आग्रह छ। काम गरेको ठाउँ यही हो, हिँड्ने बाटो यही हो, साथीहरूसँग छलफल गर्दै अघि बढ्छु।
जिल्ला नगरको उपाध्यक्षसँग अपेक्षा धेरै हुन्छ भनिन्छ, दबाबपूर्ण र कठिनाइयुक्त पद हो भन्ने पनि छ, यहाँ के भन्नुहुन्छ?
जिल्ला र नगरले नै नेपाल उद्योग वाणिज्य महासंघलाई बोकेको छ। ७७ जिल्ला घुमौं, हरेक जिल्लामा ४०/५० वर्षको इतिहास बोकेको संगठन छ। स्थानीय सरकार नै नभएका बेलासमेत राज्यले स्थानीय उद्योग वाणिज्य संघलाई पत्याएको विगत छ। त्यसकारण, जिल्ला नगर संगठनको आफ्नै गरिमा छ। यसो भन्दै गर्दा, अरू सदस्यको भूमिका छैन भन्ने होइन। भन्न खोजेको के मात्र भने, भौतिक रूपमा देखिने भनेकै जिल्ला नगर हो। सिंहदरबार जानुपरोस् वा प्रदेश सरकारको ढोका ढकढक्याउन परोस्, जिल्ला नगरको समस्याबारे, उद्योगी व्यवसायीको समस्याबारे राज्यसँग दह्रो कुरा गर्न सक्ने व्यक्तिको खाँचो छ। जिल्ला र महासंघकै पनि तालमेलमा समस्या भएको धेरै साथीहरूको गुनासो छ। महासंघ धेरै माथि छ, जिल्ला नगर तलको तलै छन्। यो दूरी पनि मेटाउनुपर्ने छ।
श्रोत :थाहाखबर डटकमका पत्रकार भागवत भट्टराईले लिएको अन्तर्वार्ता ,उनि आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया