मुना सहकारीको अवैद्य शाखाको कालिकाका मेयर र वडा अध्यक्षकै संरक्षण, वडा अध्यक्ष रेग्मीले ५ लाख घुस लिएको आरोप

शिशिर सिम्खडा २०७६ कार्तिक २७ गते ०:४४ मा प्रकाशित

 


चितवन । भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लि. ले गैरकानुनी रुपमा संचालन गरेको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारको शाखा कार्यालयको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ र वडा नं. ६ का वडा अध्यक्ष विनोद रेग्मीको संरक्षण रहेको पाइएको छ । गत २०७५ साल असार २५ गतेबाट खोलेसिमल बजारमो सो सहकारीको शाखा कार्यालय संचालन गर्न वडा अध्यक्ष रेग्मीले अनुमति दिएका थिए । वडा कार्यालयले दिएको प्रमाणपत्रको आधारमा कार्यालय संचालन गरिएको सहकारीका संचालकहरुले बताएका छन् । कुनैपनि सहकारी संस्था संचालनका लागि एकै नगरपालिका भित्र भए नगरपालिका र २ वटा नगरपालिका कार्यक्षेत्र पर्ने भए प्रदेश सरकारले अनुमति दिएपछि मात्र कार्यालय संचालन गर्न पाउने व्यवस्था छ । वडा अध्यक्ष रेग्मीले कानुन विपरीत सहकारीलाई अनुमति दिएको पाइएको छ । सो सहकारीले हालसम्म खोलेसिमल शाखाबाट करिव १ करोड ५० लाख रकम गैरकानुनी रुपमा संकलन गरेको छ । सो सहकारीको गैरकानुनी शाखा संचालन बारे कालिका नगरपालिका मौन रहेको छ । नगरपालिका कार्यालय नजिकै रहेको सो सहकारी गैरकानुनी रुपमा संचालनमा रहेपनि नगर प्रमुख खुमनारायण श्रेष्ठले यस बारे चासो दिएका छैनन् । नगरपालिका कार्यालय यसरी मौन रहनु आश्चर्यजनक रहेको स्थानीय सहकारीकर्मीहरुले बताएका छन् ।

डा अध्यक्ष रेग्मीले ५ लाख घुस खाएको आरोप

गैरकानुनी रुपमा खोलेसिमल बजारमा संचालनमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लि. को शाखा कार्यालय खोल्न कालिका वडा नं. ६ का वडा अध्यक्ष विनोद रेग्मीले ५ लाख घुस खाएको बचतकर्ताहरुले आरोप लगाएका छन् । कानुन विपरीत सहकारीको शाखा खोल्न अनुमति दिने र विभिन्न सञ्चारमाध्यममा समाचार आउँदा समेत वडा अध्यक्ष रेग्मीले चासो नदिनुले उनले गैरकानुनी रुपमा ५ लाख घुस लिएको र सहकारी संचालन गर्न कानुन विपरीत अनुमति दिएको बचतकर्ताहरुले आरोप लगाएका छन् । संस्था दर्ता भएर संचालन भयो होला भनेर रकम जम्मा गरेको तर संस्था गैरकानुनी रहेकोमा आश्चर्य लागेको सहकारीका एक बचतकर्ताले नाम नखुलाउने शर्तमा बताए । वडा अध्यक्ष रेग्मीले सो आरोप निराधार रहेको टेलिफोनमा जानकारी दिए ।

मुना सहकारीमा रकम झिक्नेको भीड

आफ्नो रकम असुरक्षित रहेको भन्दै मुना सहकारीका बचतकर्ताहरुले आफ्नो रकम धमाधम झिक्न थालेका छन् । संस्थाले हालसम्म बचतकर्तालाई करिव १ करोड रुपैया फिर्ता दिइसकेको स्रोतले बताएको छ । सो सम्बन्धमा जानकारी माग्दा संस्थाका व्यवस्थापक माधव अर्यालले सबै जानकारी दिन नमिल्ने बताएका छन् ।

सो सहकारीका अध्यक्ष र व्यवस्थापकको मिलेमतोमा करोडौ रकम हिनामिना, बचतकर्ताको रकम जोखिममा भन्ने समाचार सञ्चारमाध्यममा आएपछि भरतपुर महानगरपालिका सहकारी शाखाको ध्यानाकर्षण भएको थियो । सो शाखाको पहलमा भएको छलफलमा मुना सहकारीको आर्थिक अवस्था बारे छानविन गरी ३५ दिनभित्र महानगरपालिकामा प्रतिवेदन बुझाउने गरी एक छानविन समिति गठन भएको सहकारी शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिए । सो छानविन समितिको संयोजकमा भरतपुर महानगरपालिका सहकारी उपशाखा संयोजक राजेन्द्र मणि काफ्ले रहेका छन् । सदस्यहरुमा वडा नं. १० का प्रतिनिधि, जिल्ला सहकारी संघका प्रतिनिधि, बचत संघका प्रतिनिधि र नेफ्स्कुनका प्रतिनिधि रहने पौडेलले जानकारी दिए । साथै सो समितिले एकजना चार्टड एकाउन्टेन्ट राखी सो सहकारीको यथार्थ आर्थिक अवस्थाको प्रतिवेदन बुझाए पछि सोही अनुसार अगाडि बढ्ने पौडेलले बताए ।

प्रतिक्रिया