कोमल गज़ल :-

इनेप्लिज २०७६ कार्तिक ४ गते २:३७ मा प्रकाशित

सद्भावना,सद्प्रेम र भाइचारा छैनन् अब
सम्मानले पुज्न लायक ध्रुवतारा छैनन् अब

लुछाचुँडी गर्दागर्दै नाङ्गो भयो देश हाम्रो
नेता जति धनी भए सर्वहारा छैनन् अब

प्रशंसा भो कुनितिको नेटो काटे सत्सँगले
दुत्कारिए सन्तवाणी अमृत धारा छैनन् अब

ममताको धज्जी उड्यो बिर्को लाग्दा कर्तव्यमा
हत्या भयो जननीको दूधका भारा छैनन् अब

आकाशियो निर्लज्जता सीमा नाघ्यो विकृतिले
व्यभिचारी बढे धेरै स्वच्छ पारा छैनन् अब

खडेरी भो नि:स्वार्थी र राष्ट्रप्रेमी सज्जनको
चुकेकाछन् सबैजना कोही प्यारा छैनन् अब

बेथितिको जङ्घारमा डुबेकाछौँ देशवासी
पारी तार्ने स्वच्छ मान्छे र किनारा छैनन् अब

-कोमल भट्ट
चन्द्रागिरी न.पा -१३
काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

प्रतिक्रिया