अल्टिमेट आकाशको नेपाल संस्करण लोकार्पण

इनेप्लिज २०७६ कार्तिक १ गते २२:४२ मा प्रकाशित

कार्तिक १, २०७६ दिउसो युवा साहित्यकार सन्तोष लामिछानेद्वारा लिखित उपन्यास “अल्टिमेट आकाश” को नेपाल संस्करण लोकार्पण भएको छ ।  उपन्यास काठमाण्डौको बागबजारमा रहेको हार्दिक होटलको सद्भाव हलमा गरिएको थियो ।  लोकार्पण कार्यक्रमको आयोजना उपन्यासको प्रकाशक जनमत प्रकाशन काभ्रेले गरेको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुलपति द्वय नारायणभक्त श्रेष्ठ (रायन) – संगीत तथा नाट्य प्रतिष्ठान र के के कर्माचार्य – ललितकला प्रज्ञा प्रतिष्ठान ; जीवेन्द्र देव गिरी – बरिष्ठ समालोचक तथा पुर्व सचिव नेपाल प्रज्ञा प्रतिष्ठान; प्रा. डा. उषा ठाकुर – प्राज्ञ र माया ठकुरी – प्राज्ञको बिशेष आतिथ्य रहेको थियो ।

जनमत प्रकाशनका अध्यक्ष तथा बरिष्ठ साहित्यकार मोहन दुवालको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेखकका पिता सामाजिक अभियन्ता डा. भरतप्रसाद लामिछानेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यस लगत्तै अतिथीहरूद्वारा उपन्यासको संयुक्त रुपमा लोकार्पण गरिएको थियो । त्यसपछि प्रा. डा. जीवेन्द्रदेव गिरीले पुस्तकको सविस्तार समिक्षा तथा समालोचना गर्नुभएको थियो ।  अमेरिका जान खोज्ने जो कोही र सन्तान अमेरिका पठाउन खोज्ने अभिभावकहरूलाइ उपयोगी होस् भनेर उक्त कृतिको रचना गरेको उपन्यासकार सन्तोष लामिछानेले प्रकाश पार्नुभयो ।

कार्यक्रममा लेखकलाई के के कर्माचार्य र माया ठकुरीले शुभकामना मन्तब्य राखेपछि कुलपति गङ्गा उप्रेतीले अल्टिमेट आकाश जस्तो उपयोगी उपन्यास प्रकाशित हुनु खुसीको कुरो भएको उल्लेख गर्नुभयो । करिब २००को संख्यामा विशिष्ठ साहित्यकारहरू र साहित्य अनुरागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम साहित्यकार यादव भट्टराईले संचालन गर्नुभएको थियो ।  सभाअध्यक्ष दुवालले बिट मारेपछि खाजापान गरेर कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया