सञ्जय मित्र, रौतहट
रौतहटमा बज्जिका भाषाको चारवटा कृति एकैसाथ विमोचन गरिएको छ । रौतहटको मुख्य स्थानीय भाषाको रुपमा रहेको बज्जिकामा विभिन्न विधाका चार साहित्यकारको कृतिलाई गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवले विमोचन गरेका हुन् । रौतहटमा सक्रिय बज्जिका साहित्य संगम रौतहटको चौथो वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष श्याम सहनी चन्द्रांशुको उपन्यास पुरइनके फूल, सल्लाहकार रामाधार पासवानको कविता संग्रह सुखदुख, सचिव भोला पासवानको कविता संग्रह इजोतसे इजोत र कोषाध्यक्ष किशुनदयाल यादवको विभिन्न विधा समेटिएको लटरपटर साहित्यिक पुस्तकको मेयर यादवले विमोचन गरेका हुन् ।
कार्यक्रममा बज्जिका भाषा र साहित्यको विकासमा सक्रिय दर्जनौँ सिर्जनकर्मीको सहभागिता रहेको थियो भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमका वक्ताहरुले बज्जिका भाषाको इतिहास, वर्तमान तथा भविष्यको विषयमा विशेष चर्चा गरेका थिए । करिब चार घन्टा चलेको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । कार्यक्रमको अध्यक्षता बज्जिका साहित्य संगमका अध्यक्ष चन्द्रांशुले गरेका थिए ।
प्रतिक्रिया