साथीको साथ

रस्मिला कवाङ ‘रश्मि’ २०७६ असोज १५ गते २१:२३ मा प्रकाशित

जिन्दगीले मान्छेलाई कहाँकहाँ लादॊरहेछ, यो त समयले बताउने रहेछ । सायद लेखेको अनि देखेकोमा फरक हुने भनेकै त्यही होला।चिसॊ मौसमका कारण रुघा लागेकोले धेरै दिनसम्म नि छोडेन अनि ज्वोरॊले समाती रहयो ।जिउ दुखिरहेको थियो । हनहनी ज्वरो पनि आइरहेको थियो । त्यसैले पनि मलाई केही पनि खान मन लागेको थिएन । बिहानदेखि केही नखाएकाले अलिअलि कमजोर भएकी थिएँ । हिजो बिहान बनाएको खाना टेबलमा त्यत्तिकै थियो। घरी जिउ रन्केजस्तो, घरी चिसो भएको जस्तो भइरहेको थियो मलाई ।बाहिरको मौसम बदली र बादल गर्जिएजस्तै मेरो देहमा बदली भइरहेको थियो । उसै त सञ्चो नभएको जिउ, त्यसमाथि युरोपको चिसॊ अनि उसैमाथी हप्तौं दिनदेखिको झरी । मन अशान्त भइरहेको थियो । म ओछ्यानबाट उठ्न सकिरहेकी थिइन । बल्लतल्ल एक गिलास पानी झिकेर खाएँ ।एकछिन फेरी पल्टिएँ। मोबाइलमा मेसेजको आवाज आयो अनि हेरें ।इमेल आएको रहेछ । उफ्फ़। रिपोर्ट बुझाउनु पर्ने मिती तय भैसकेको रैछ। मन अशान्त भयो ।दराजबाट थर्मामिटरले ज्वरो नापें । १०५ डिग्री देखायो । यसै ढुकढुकी बढेर आयो । रात परिसकेको थियो तर सिरक थप्दा पनि कम्प रोकिएको थिएन । मन आत्तिन थाल्यो । ‘कतै आजै यसरी नै पो बित्ने हो कि ।’ आतिएको दिमागमा एक्कासि यस्तो विचार पलायो । त्यसपछि नजिकको फारमेसीबाट सिटामोल किनेर खाएँ ।

आज बिहानदेखि आमाको सम्झना आइरहेको थियो । जिउमा विसञ्चो हुँदा कति केयर गर्नु हुन्थ्यियो आमाले। दुधको मसालेदार चिया। तेजपत्ता, दालचिनी, मरिच, अदुवासहितको मसालेदार चिया खाएपछि थकाई र दुखेको टाउको हलुङ्गो भएर आउँथ्यो । के गर्नु सधैं सबैजना संगैं हुने भए त कति रमाइलो हुन्थियो होला। मनमनै सोचें । धेरै सम्झना आयो आमाबाबाको । पहिला ज्वरो आउँदा खेरि टाउको दुख्यो भनेर आमाको अगाडी गएर धरधरी रुन्थें अनि सानु भाईले कति जिस्काउन्थियो दिदी रोइन भनेर । र म हाँसीहाँसी झन् रुन्थें ।त्यसपछि आमाले दुध अनि पाउरोटी किन्न पठाउनु हुन्थियो भाईलाइ अनि हामी कति झगडा गरिगरि खान्थियो ।यत्तिकैमा तिमीले फोन गर्योउ । कमजोर आवाजमा मैले भनेकी थिएँ तिमीलाई ,- ‘दिनभर ओछ्यानबाट उठ्न सकेकी छैन ।’ तिमीले एकचोटी इमर्जेन्सी जाऊ त भनेकै थियो र पनि सामान्य ज्वरो आएको होला, मौसमी ज्वरो होला भनेर आश्वस्त पार्न खोजें ।‘सिटामोल खाएर मज्जाले निदाउने अनि निको हुन्छ जस्तो लाग्यो । अब यति राति बाहिर जाने जागर नि भएन । रातभरमा मलाई अलि गाह्रै भइरहेको थियो। चिसॊले झन्झन् सताएर घाँटी ठ्याप्पै भएको थियो। लौ । बिहानसम्म त बोल्ने गार्हो भयो मलाई ।

औषधि खान अनि एक थोपा पानी निल्न नि गार्हो भयो ।त्यसमाथि फेरी धेरै रक्तश्राव भएर हेमोग्लोबिनको नि कमी भयो ।एक्कासी ढल्ला जस्तो भयो । धन्न कलेजको अस्पताल नजिकै थियो र हत्पति गैहालें। गेटमा तिमी नि आइपुग्यौ अनि मलाई केहि राहत मिल्यो । खोइ कति खेर प्रेशर कम भएर बेहोस भएँ, मलाई याद नै भएन।सायद हिजोदेखि केहि नखाएकीले होला , धेरै नै कम्जोर भएर । होस आउँदा त, म इमरजेन्सी कोठामा पाएर एकछिन छक्क परें। साथमा तिमीलाई नि देखें अनि हत्पति सोधी हालेकी मैले । म अहिलेसम्म कहिले पनि यसरी बेहोस भएकी थिइन ।मलाई बेहोस कसरी हुन्छ होला भन्ने जस्तो लाग्थियो । पहिला आफू काम गर्दा बिरामीहरुलाई बेहोसीको दबाई दिंदा म हेरीरहन्थें कसरी होश गुमाउछ भनेर ।तिमीले भनिहाल्योउ धेरै होइन १० मिनेट जति भनेर ।

एकछिन त आफैलाई लागेर आयो । नाडीमा क्यनुलाबाट सलाइन नि थियो । ओहो । म कति कम्जोर भएकी रहेछु त । यसरी बिरामी भाको यो नै हो पहिलो चोटी हो मेरो जिबनमा । हरे शिव। के के मात्र देख्नु, भोग्नु परेको होला।मलाई आफ्नो अस्वस्थ्यताप्रति झनक्क रिस उठेर आयो ।आफ्नो अस्वस्थ्य प्रति आफैँलाई दया लाग्यो । जिउको रन्कोले हो या चित्तको फन्कोले, आँशु गुँडुल्किएर आयो । म कति केर्लेस भएकी होला ।आफ़्नॊ ख्याल त राम्रोसंग राख्नु पर्थियो मैले । पढाई अनि जागिरसंगै म यसरी भुलेछु कि समय बितेको पत्तै पाइन्न मैले ।आखिर केका लागी यसरी दौडिने हो र दुइ दिने जिन्दगीमा ? के साँची, म समयसंगै चल्न नसकेकी नै हो त जस्तो लाग्यो । यस्ती सोचहरु थिए मेरो मनमा । एकछिन आखाँ चिम्म गरेर लामॊ स्वास फेरे । मैले सारै एक्लो महसुस गरे।मनमा कति धेरै पिडा भए नि कसैलाई भन्न सकीरहेकी थिइन मैले । भित्रभित्रै गुम्सिरहेकी थिए म ।मानिसको जीवनमा एक्लोपनजस्तो ठूलो सजाय केही रहेनछ !यस्ता अनेकन् कुरा सोच्दासोच्दै कुन बेला भुसुकै निदाएछु, मलाई पत्तो भएन । सलाइनको डोज सकेपछि सपनाबाट ब्युझेजस्तो भान भयो मलाई,केहि हल्का भएजस्तो , सायद दबाइले काम गरेछ । तिमी फेरी आउँदा हाँसीहाँसी आयोउ ।तिमीले त भन्यौ कति सजिलै कि – ‘ के हो तिमी त सुटुकै यसरी बिरामी हुने अनि होश गुमाउने ?।’ तिमी सायद आतिएका थियो ,मनमा अनेक थरी कुराहरु खेल्यो होला । भन्न त केहि पनि भनेनौ तर पनि मैले पढीसकेकी थिएँ तिम्रो कुराहरु तिम्रो अनुहार अनि कुराबाट । तिमी झर्केर कुरा गर्दा मलाई कति रुन मन लागेको थियो । थाहा छ मलाई, तिम्रो सेमेस्टरको जांच चलिरहेको थियो ।त्यही भएर नै मैले एक्लै अस्पताल बस्ने निर्णय गरेकी थिएँ एकदिन।

दिनभरी पल्टीरहदा मेरो मनमा कति धेरै थरि कुराहरु कुस्ती खेल्दै थिए । मेरो जीवन, पढाई, जागिर, अनि गर्नुपर्ने कामहरु। कति पींडा थियो । त्यो त मलाई मात्र थाहा छ । घरमा फोन गर्दा नि म अहिले कलेजमा छु, पछि कुरा गरौला भनेर फोन राख्दा मेरो मन कति छियाछिया भएको थियो । रातभरी निदाउन सकेकी थिएन। मनमा अनेक थरि कुराहरुले मन कति भारी भएको थियो।मलाई यही बेला महसुस भयो कि समय अनि परिस्थितिसंगै म कति ठुलो भैसकेकी रहेछु कि अब आफ़्नॊ सबै जीवनको निर्णय म एक्लै गर्न सक्ने भैसकें, न कि घरमा बाबाआमालाई भन्नु नपर्ने भैसकेकी रहेछु ।भनेर नि के गर्नु र।बेकारमा चिन्ता गरेर आधा ज्यान वनाउनुहुन्छ आमाले फेरी । हाय। कस्तो कस्तो मोड नि आइपर्दो रहेछ ।कोठामा जब बिहान चिया लिएर कोठामा तिमी आउँदा र पर्दा सर्‍याक्क खोल्दा बिहान छ्याङ्ग उज्यालो भएको देखे । बाहिर उज्यालो भएको थियो तर मेरो जिउमा उज्यालो छिरेको थिएन । ज्वरो उस्तै हनहनी आइरहेकै थियो ।ग्लुकोज पानी अनि सिटामोल खाएर सुतें म कयौं दिनहरु ।

अस्पतालमा दिन बिताउनु कम्ता गाह्रो भएको थियो मलाई ।घर सम्झेर विरक्त लाग्यो, ‘बिरामी पर्दा त मान्छेको मनले आफन्त नै खोज्दोरहेछ।’चाडैं निको होस भनेर कति कल्पें , तर दुखाई कम भए नि मनको पिडा चाहिं झन् बढ्ने रहेछ । यसरी अनिदॊ रात मैले अहिलेसम्म बिताएकी थिइन घरभन्दा टाढा यसरी । बेलुका चाडै सुतेर बिहान अबेरसम्म सुत्ने म , अहिले रातभरी दिनभरी निदाउन सकीरहेकी थिएन । युरोप आएदेखिन अहिलेसम्म त्यस्तो दिन थिएन कि म बिहान ६ बजे भन्दा चाडै उठेको होस् , काम पर्दा मात्र हो, अरु बेला त्यस्तो कुनै समय थिएन । बिहान चाडै उठ्नु मेरो लागी सजाँयजस्तै हो ।मास्टर्स पढ्दै गर्दा बरु रातभरी जागा बसेर पढेको याद छ तर बिहान चाडै उठेको कुनै रेकर्ड थिएन । संसारमा सबैभन्दा आनन्दको क्षण बिरामीको सेवा गर्नु रहेछ भनेर पढेकी अनि भोगेकी थिए तर जब आफुलै नै ती कुराहरु लागू हुन्छ, तब धेरै गार्हो हुने रहेछ । तिमी बेलाबेलामा आउँदा मलाई आफ़्नॊ ख्याल राम्रोसंग गरेनौ भनेर गालि गरि, झर्केर बोल्दा मलाई सारै रिस उठ्थियो । मनमनै लाग्थियो , किन आउनु परेको हो र उठ्थियो थोडी न मैले बोलाएकी हू र। म आफ़्नॊ ख्याल आफै राख्न सक्छु भनेर मुखभरीको जवाफ नि फर्काउन मन लाग्थियो ।तर चुप थिए किनकी मेरो रिस तिमीसंग होइन ताकी म आफैसंग थियो। फेरी जाउलॊ खाएर म कहाँ त्यति बलियो थिएँ र तिमीसंग मुखामुख गर्नलाई ।तिमीले कुटुलाझैं गरेर बोल्दा नि म चुपचाप थिएँ । त्यतिबेला म आफैलाई कति एक्लो आभास हुन्थियो । अनि लाग्थियो ,संसारमा मलाई मात्र माया गर्ने त कोहि रहेनछ । न त साथीभाई न त कोहि । धेरै माया गर्ने बाबाआमा टाढा हुनु नि सारै नरमाइलो लाग्ने ।. जब मान्छेहरुलाई साथ चाहिन्छ तब कोहि नहुने रहेछ । त्यतिबेला त आफु मात्र हुने रहेछ आफ़्नॊ लागी ।मैले मनमनै आफुलाई बलियो बनाउदै थिएँ ,मेरो धैर्यको बाँध कति चोटी टुट्न खोजे नि मैले कति सम्हालेर राखें । कति पिडा थियो, त्यो त भनेर साध्य नै छैन ।आफ़्नॊ मनोबललाई मैले कति स्थिर राखीरहें। केही दिनमै आज्ञाकारी बालिकाजस्तो खुरुखुरु आफै खान थाले । मलाई पनि छिटो निको हुन हतार लाग्न थालेको थियो । स्वस्थ बन्नुछ र जीवनमा अझै केही गर्नुछ भन्ने मनमा खेल्न थाल्यो । म अझैं बढ्नुछ अनि अझ धेरै गर्नुछ भन्ने कुरा मैले बारम्बार सम्झाईरहें आफैलाई । हरेक कुरालाई सकारात्मक सोचले लिने मेरो निर्णय थियो । कस्ता कुरालाई निरन्तरता दिने र कस्तोलाई नदिने भन्ने कुरामा अब त म ढुक्क थिए।बीचबीचमा तिमीले पनि मलाई धेरै हौसला दिन्थ्यो ।अधिकांशतः मानिस मनको बिरामी हुन्छ, शारीरिक बिरामी त कमै हुने हो । जब मनको बिरामी निको हुन थाल्छ, मानिसको तनको अधिकांश बिराम त्यसै निको हुन थाल्दोरहेछ भन्ने कुरा यसैबेला मैले चाल पाएँ ।

तिमीले कति कुरामा मलाई साथ दिएका थियौ । थाहा छ, तिमी अलि रुखो छौ तर मनको सफा छौ ।मेरो हरेक चालढाल हेरेर मैले के भन्न र गर्न लागेको हो भनेर थाहा पाउन्थियो नि तिमीले! तिमीले मेरो मौनता पढ्न सक्थियो ।तिमीलाई रंग हालेर कुरा गर्न आउदैन , तर मिठो झुट नि बोल्न आउदैन ।जे गरे पनि निस्वार्थ मनले गर्छौ र त तिमीले गालि गरे नि , रुखो बोले नि , मलाई चित्त दुख्दैन ।मेरो लागि त तिमी उतिखेरै उतिर्ण भैसकेका छौ एउटा असल , आत्मिय साथीको रुपमा । तिमीलाई थाहा छ , जब तिमीले तिम्रो अन्तिम सेमेस्टरको जाच हुँदा नि मलाई साथ अनि भरोसा दियौ नि , त्यतिबेला म कहिल्यै नरुने , कठोर बोलि भएकी छुची पनि तिमीलाई हेर्दाहेर्दै आँखाबाट तप्प आँशु चुहिएको थियो ।वास्तवमा आदर्श सम्बन्ध त्यो हो, जसले बिनाशब्द सबै कुरा थाहा पाउँछ ।

मलाई यतिबेला नै महसुस भयो आफ़्नॊ मान्छेको कमि। मान्छेहरुले जति नै प्रगति गरेर सफल भए पनि के नै अर्थ रहन्छ र। अर्थ त तब हुन्छ जब ती ससाना खुशी बाढ्ने कोहि प्यारो मान्छे होस्, कोहि आत्मिय साथीहरु होस् अनि त्यही खुशी धूमधामले मनाउना सकियोस ।मलाई यति नै बेला हो, सबैभन्दा धेरै हौसला अनि मायाको खाँचो परेको थियो, जति नै बलियो छु भनेर केहि नहुने रहेछ, जब शारीरिक रुप कम्जोर हुन्छ, तब मानसिक रुपमा नि कम्जोर हुने रहेछ । पहिला आफु बाच्न्नु पर्यो अनि पो अरुलाई बाच्न अनि बचाउन सकिन्छ । यही नै बेला नै हो, मलाई संसारमा सबैभन्दा धेरै माया आफ्नै लागेको। आफुलाई माया गर्न सके पो अरुलाई पनि माया गर्न सकिन्छ। जब आफु नै कम्जोर, निरिह अनि निकम्मा छ भने, उसले अरुलाई के नै गर्न सकिन्छ र। मलाई एकाएक आफ्नै माया लागेर आयो । मैले तिमीलाई पनि सोधेकी थिए नि, कि तिमीले संसारमा सबैभन्दा बढी माया कसलाई गर्छौ भनेर ।त्यतिबेला तिमीले भन्यौ कि तिम्रो बाबालाई भनेर , तब मलाई कति डाहा लागेको थियो । अरु आफ्नाहरु त टाढा थिए नै , कमसेकम तिमीले त एउटा मिठो झुट बोलि दिए नि कति मनोबल मिल्थियो होला मलाई । तिमी झुट बोल्न जान्दैनौ , र बोल्न नि सक्दैनौ , त्यो मलाई थाहा थियो । मिठो झुट मलाई मन नि पर्दैन भन्ने नि थाहा थियो तिमीलाई । सायद त्यही भएर तिमीले तितो नै भए नि सत्य बोल्यौ । र यही , तिम्रो तितो सत्य मलाई पहिलो पल्ट नमिठो लाग्यो , नराम्रो लाग्यो , अलिकति मनमा नदेखिने गरि बिझ्यो। त्यसपछि झन् मलाई लाग्यो, सबैभन्दा बढी माया अनि भरोसा त आफैलाई गर्नु पर्दॊरहेछ । हुन त , जब मान्छेहरुले आफुले सोचेजस्तो पाउदैन तब मान्छेहरुले एक प्रकारको बितृष्णा जाग्नु त स्वोभाविक नै हो र पनि मान्छेको काल अनि परिस्थितिमा नि भर पर्ने रहेछ ।

तिमीले जब मलाई स्पोर्ट्स जुत्ता उपहार दिन्छु भन्दा मलाई धेरै रिस उठेको थियो । तिमीले दिनु नै थियो त, कुर्ता या त झुम्का किन दिन सक्दैनौजस्तो लाग्यो । तिमीलाई स्पोर्ट्स मन पर्दैमा सबैलाई त्यही मन पर्छ भन्ने हुन्न । तिमीले कहिले मैले लेखेका कविता या गज़ल पढेका छौ । छैन नि किनकी तिमी त्यस्तो साहित्यमा रुचि नराख्ने मान्छे अनि म ती स्पोर्ट्समा । तर तिमीलाई याद छ, जब कलेजको स्पोर्ट्स हप्ता हुँदा तिमीले फूटबल खेल्दा, म मन नपर्दा नि दर्शक भएर १ घण्टा खेल हेरी बिताएकी थिए ।तिमी अनि तिम्रो टिमले जितोस भनेर चॆर गर्न आएकी थिए । तिमी सोच त एकछिन, जसलाई बिश्वोकप चलिरहदा नि केहि न केहि भएको मान्छेलाई यसरी तिम्रो मनोबलकै लागि आउदा कति बोर भयो होला । तिमीलाई गज़ल लेखाउनु या पढ्नु जतिको गार्हो भनेको मेरो लागि फूटबल हेर्नु हो । म अलि म्युजिकल अनि साहित्य पढ्न रुचाउने तर तिमी उही बैज्ञानिक कुरामा रुचि राख्ने । त्यही भएर हाम्रो रुचि कैले नि मिल्दैन । म फिलिम हेर्न रुचाउने अनि तिमी खेल हेर्न। म आधुनिक गीत अनि तिमी पपरक गीत सुन्ने। र पनि सोच भन्ने मिल्ने। त्यही भएर नै होला हामी बीच यति मिठो आत्मियता भएको, यति मिल्ने साथी भएको।वास्तवमा म अलि त्यस्तै खालकी नै छु । कोहि मिलनसार साथी हुने बितिकै अरु कोहि नचाहिने जस्तो लाग्छ, साथी पुगे जस्तो लाग्छ ।

एकचोटी एकजना साथीले भनेका थिए कि देश छोडेर गएपछि मान्छेहरु किन परिवर्तन हुन्छन भनेर । मैले भनें, अरे साथी, जानेहरु होइन, नजानेहरु चाही परिवर्तन हुन्छन । छोडेर जानेहरु त मनभरी उस्तै अनि उही सम्झना बोकेर गएका हुन्छन, तर जब फर्किन्छन तब सबै अर्कै भैसकेको हुन्छन ।त्यस्तै कुरामा अर्को साथीले सोधेको थियो कि देश छोडेर आउँदा साथीहरु रोए कि नाई ? भनेर । मैले भनें – ‘नाई, म नि रोइन अनि कोहि साथीहरु नि रोएनन ।’ भनेपछि कोहि नि साथी आफ्ना थिएनन। सोचें अनि एकछिन, कठै। बिचरी म। न त मायालुले नै सम्झे, न त साथीभाईहरु ले नै। हुन त साथीहरुकै कुरा गर्दा, देशमा हुदाखेर जहाँ जता गए नि साथीसंगै हिड्ने बानी थियो, जुन यता आउने बितिकै छुटीहाल्दॊ रहेछ । यता साथी त के, पिडा त त्यतिबेला हुन्छ, जब बिरामी हुदा समेत नि एक्लै सहनुपर्छ ।

तिमीलाई याद छ कि नाई , जब तिमीले नमिठो दाल अनि भात पकाउदा नि कति मिठो मानेर खाएकी थिए ।तरकारीमा पनि नून बेसी थियो , अचार नि थिएन र नि तिम्रो न्यानॊ आफ़्नॊपन थियो , हो त्यही हार्दिकतालाई सहर्ष स्वीकार गरेकी थिए । तर जब मैले समर फेस्टमा सलात बनाएकी थिए, तिमी मरिमरि हाँसेर यस्तो नि हुन्छ भनेर गिज्यायोउ नि , हो त्यति बेला मलाई त्यही सलादले तिम्रो मुखभरी खन्याई दिउजस्तो लागेको थियो । त्यतिबेला तिमी मलाई साथी होइन, जानीदुश्मन भन्दा नि अझ धेरै रिस थियो । अनि बिरामी पर्दा पनि सहानुभूति घोलिएका शब्दहरु भन्दा तिमी रिसका शब्दहरु प्रयोग गर्छौ । रातभरि परेको झरीले उज्यालो हुँदा पनि विश्राम लिने संकेत नदेखाइरहेको अनि आकाशको सिंगो वृत्तभरि कालो बादल सल्बलाइरहेको थियो र अझ घनघोर वर्षा हुने सम्भावना बढ्दै थियो अक्टोबर तिर र त्यही बेला तिमीले मेरो त्यो गुलाबी , फूल्बुटे छाता हराई दिएका थियौ । तिमीले मेरा हरेक प्यारॊ चिज हराईदिन्छौ र पनि फेरी तिम्रै ठुलो आवाज हुने गर्छ । तिमीले मलाई त्यसको बदलामा धेरै थोक नि दिएका छौ , एक असल साथीको साथ दिएका छौ , र पनि फेरी मेरो मन बुझ्न सकेका छैनौ । एकाध वर्षयता मेरो दैनिकीमा आमूल परिवर्तन आएको छ । संसारलाई, समाजलाई र मान्छेहरुलाई हेर्ने, बुझ्ने तरिका फरक भएको छ । वर्षौंसम्म पनि मलाई जोशिला र प्रेरणादायी साथ दिएका छौ तिमीले । अनेक विम्बजस्तै संसारमा मेरो जीवन गाथालाई उभ्याउन सक्छु म । तर, अचेल भने तिमी आफैँ पनि परिवर्तित भएका छौ । विगतका काला बादलबाट तिमी क्रमशः मुक्त हुँदैछौ । संसारमा आफ़्नॊ आत्माविश्वासले सिर्जित आर्जनभन्दा ठूलो केही हुन्न ।विगततिर फर्किन मन नलाग्ने होइन मलाई । फर्किउ फर्किउझैं लाग्छ विगततिर, विगतका विशाल झाडीहरुतिर । तर, विगतको ऐनामा आफ्नो रुप, रङ हेर्न मलाई कताकता संकोच लाग्छ, हिनताबोधले नराम्ररी अँठ्याउँछ । अहिले त खण्डित भइसकेको छ, त्यो ऐना पनि, जहाँ म आफ्नो अनुहार अस्पष्ट, विभाजित र सौन्दर्यहीन मात्रै देख्छु ।

यस्तै कुराहरु सोचेर म यथार्थको धरातलमा ओर्लिन पुग्छु कहिलेकाही । अनेकतरंग र कल्पनाशीलताको बाक्लो झाडीमा अल्मलिइरहेका हुन्थे मेरा सपनाहरु । अनि त्यहीबेला हरेक शनिबार शपिंग जाने कुराले मन कति आनन्द मेरो पहिलो रोजाई टिसर्ट अनि झुम्का हुन्थियो । धेरै समय हेर्नुमा भन्दा नि रोझ्नुमा जान्थियो ।त्यतिबेला नि तिमी रिसाईरिसाई बस्थियो । जीवनमा कति कुराहरु हेर्नुभन्दा रोझ्नुमा दोमन हुन्छ भन्ने कुरा तिमीलाई नि थाहा नभएको होइन । कति कलिला रहरहरु , चाहनाहरु अनि रंगिन सपनाहरु मान्छेहरुको जीवनमा कतिखेर त्यो सपनाजस्तै आइपुग्छ ,पत्तै हुन्न । मेरो जीवनको आँखीझ्यालबाट पनि मेरो मनभित्र प्रवेश गरेको थियो, निःसंकोच, बिना स्वीकृति त्यस्तै सपनाहरु, जून रहरहरु पुरा नहुने हो भने जीवनभर दुख्नेछ । कहिलेकाही हठात् रुपमा हुन्छु । र, लामॊ स्वास तानेर केही बेरसम्म सोच्छु तिम्रो बारेमा । अहिलेसम्म त सबै ठीकठाक नै थियो जिन्दगीमा एक्लिएकी थिएन कतैबाट पनि। दुखेको थिएन कतै । भर्खरै मात्र त हो नि तिमीसंग आत्मियेता बढेको । कैलेकाही त आफूले देखेको सपनाप्रति ग्लानीबोध हुन्छ र त्यो सपनालाई घोर रुपले भर्त्सना र खण्डन गर्न मन लाग्छ, ‘थुक्क सपना। कस्तो असम्भब सपना देखेछु । कतै म असम्भब कुरालाई सम्भब गर्न सकुला त ? हो, मेरा यस्ता कुराहरु तिमी बुझ्दैनौ र मलाई प्रस्ट तिमीलाई बुझाउन नि मन लाग्दैन । । र पनि फेरी तिमी घामभन्दा नि न्यानॊ लाग्छ मलाई ।

प्रतिक्रिया