कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप तीनजना पक्राउ, पक्राउ पर्नेको संख्या १६ पुग्यो

इनेप्लिज २०७६ असोज १० गते ११:१६ मा प्रकाशित

काठमाडौँ, १० असोज । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप तीनजना पक्राउ परेका छन् । यस संगै कृषि विकास बैंक ह्याकिङ प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

महानगरीय अपराध महाशाखाले स्थानीय प्रहरी युनिटको सहयोगमा कंचनपुरबाट यज्ञराज भट्ट र पर्वतबाट मालतीदेवी न्यौपाने तथा काठमाडौं बसपार्कबाट पर्वतका गणेशप्रसाद बस्याल पक्राउ परेका हुन् ।

कंचनपुरबाट पक्राउ परेका भट्टको कृषि बिकास बैंक कंचनपुर शाखामा रहेको खातामा ४५ लाख र पर्वतबाट पक्राउ परेका न्यौपानेको कृषि विकास बैंककै पर्वत शाखामा २८ लाख रुपैयाँ ट्रान्सर्फमर भएको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए । प्रहरीले कंचनपुर र पर्वतबाट पक्राउ परेका दुबैजनालाई काठमाडौं ल्याउदै गरेको जनाएको छ ।

बिहिवार स्याङ्जाबाट पक्राउ परेका रामकृष्ण भुसालले बयानको क्रममा गणेशप्रसाद बस्यालको नाम पोलेपछि उनलाई काठमाडौंको बसपार्कबाट महाशाखाको टोलीले आज पक्राउ गरेको हो ।

स्याङ्जामा पक्राउ परेका भुसाल स्थानीय प्रतीक्षा निर्माण सेवाका मालिक हुन् । प्रहरीसंगको बयानमा उनले पर्वतका गणेशप्रसाद बस्यालले आफ्नो खाता नम्बर मागेर पैसा हाल्न लगाएको र आफूबाट पटकपटक गरि ४७ लाखको चेक लिएर खाताबाट पैसा निकालिसकेको बताएपछि अपराध महाशाखाको विशेष टोलिले आज बिहान बस्याललाई नियन्त्रणमा लिएको थियो ।

अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको थियो ।

घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटर भने फरार छन् । उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ ।

कृषि विकास बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए ।

प्रतिक्रिया