हेर्नै पर्ने प्रेरणादायी जीवन कहानी (भिडियो)

इनेप्लिज २०७६ भदौ ९ गते १०:२९ मा प्रकाशित

पाल्पाका कृष्ण खड्का मिठो गीत गाउँछन् । पहिले त नाच्थे पनि । तर अहिले उनी मुन्टो भन्दा मुनिको भाग चलाउन सक्दैनन् । एसएलसी सकेर पढ्नका लागि काठमाण्डौं आएका कृष्णले बुवा बितेपछि पढाई थाँति राखेर मलेशियाको बाटो रोजे । वैदेशीक रोजगारका लागि मलेशीयामा रहँदा उनी बिरामी परे । उनको शरिर चल्न छाड्यो । कारण सानो थियो । तर, तीन महिनासम्म उनी बेहोसीमै बाँचे ।

एघार महिनासम्म उनी बोल्न पनि सकेनन् । मुढो जस्तो खाटमा लडेको शरिर पिल्सीयो । पिल्सीएको शरिर लिएर उनी बिरामी भएको करिब १ वर्षपछि मात्र बल्ल नेपाल फर्किन सफल भए । आफैं हिँडेर प्लेन चढेका उनी ह्वीलचेयरमा गुड्दै नेपाल फर्किए । भाईको अवस्था देखेर दाईले आँशु थाम्न सकेनन् । दाईको माया र स्नेहले कृष्णका आँखा रसाए । घरबाट नजिकै पर्ने लुम्बिनी मेडिकल कलेजमा उनलाई भर्ना गरियो । केही समय उतै राखियो । तर त्यति सहज थिएन, उनको स्याहार गर्न । त्यसैले तारतम्य मिलाएर उनी खगेन्द्र नवजीवन केन्द्रमा आए, साँच्चीकै नयाँ जीवन पाए ।
उनको आत्मबल अहिले निकै बलियो भएको छ । ज्यान चलाउन नसके पनि प्रविधिको सहायताले उनी ह्वीलचेयर चलाएर हिँड्न सक्छन् । साथीभाईसँग कुराकानी गर्न सक्छन् ।

आईप्याड चलाउन सक्छन् । कोठामै बसेर सबै कुराको जानकारी राख्न सक्छन् । बोनसको जीन्दगी बाँचीरहेको बताउने उनी भन्छन्, न मलाई घर ठड्याउनु छ, न त सम्पत्ती जोडेर सम्पन्न बन्नु छ । आफ्नो आवाजको सहायताले असहायहरुलाई जति धेरै सहयोग जुटाउन सक्छु त्यति धन्य हुनेछ, जीवन । फलस्वरुप अहिले उनी आफु जस्तै अपांगता भएका साथीभाईलाई सहयोग गरिरहेका छन् । हेर्नुहोस् उनको प्रेरणादायी कथा समेटिएको भिडियो ।

प्रतिक्रिया