नागढुंगादेखि कलंकीसम्मको सडक हरियाली बनाइने

इनेप्लिज २०७६ साउन २७ गते ११:४५ मा प्रकाशित

काठमाडौँ, २७ साउन । सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान सुरु गरेको हो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियानको विधिवत थालनी गरे ।

नागढुंगादेखि थानकोटसम्मको तीन किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएकाले वृक्षारोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सह–सचिव डा. रामप्रसाद लम्साललले जानकारी दिए । लम्सालले विस्तार जारी रहेका सडकको काम सकिएपछि क्रमशः कलंकीसम्मै वृक्षारोपण गरिने जानकारी दिए ।

यसअघि मन्त्रालयले कोटेश्वर–कलंकी सडकखण्डमा वृहत वृक्षारोपण गरिसकेको छ । मन्त्रालयले देशभर पाँच करोड वृक्षारोपण गर्ने योजनाअनुसार अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया