बहुदल भन्दा पञ्चायतमा कृषि उत्पादन राम्रो: कृषि मन्त्री खनाल

इनेप्लिज २०७६ साउन २७ गते ११:४३ मा प्रकाशित

काठमाडौँ, २७ साउन । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले विगत तीन दशकमा कृषिको विकास हुन नसकेको स्वीकार गरेका छन् ।
उनले अहिले भन्दा पञ्चायतमा कृषि उत्पादन राम्रो भएको जिकीर गरे ।

कृषिका लागि छिट्टै विषादी चेकजाँच ऐन ल्याउन लागेको बताउँदै ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्वारा आयोजना गरिएको यशियन कृषि सम्मेलन तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० वर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गरे ।

मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै युवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्ने जोड दिए । कार्यक्रममा बोल्दै मन्त्री खनालले २१ देखि ३५ बर्षका युवाहरुलाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने बताए ।

मन्त्री खनालले नेपालको कृषि क्षेत्रको वर्तमान अवस्था हेर्दा पञ्चांयत कालिनभन्दा पनि खतम भएको भन्दै विज्ञहरुले गरेको अनुसन्धान किसानसम्म पुर्याउन सके मात्र कृषि क्षेत्र सुधार हुने दावी गरे ।

मन्त्री खनालले किसानहरु अनुसन्धान केन्द्रमा समेत जानै नसकेको भन्दै सातै प्रदेशमा किसान आभाष परियोजना ल्याइएको बताए ।
मन्त्री खनालले मुलुकमा २ लाख ८० हजार जनसंख्या भएको मुलुकमा ३ करोड ७ लाख कित्तामा जग्गा टुक्राटुक्रा भएको भन्दै जमिनको खण्डिकरण पनि कृषि क्षेत्रको समस्या रहेको बताए ।

कार्यक्रममा बोल्दै खनालले मुलुक भित्रने तरकारीहरुको विषादी परीक्षण नरोकिने बताउँदै तत्काल अहिले अन्तर्राष्ट्रिय स्तरको ल्यायव भने सम्भव नभएको बताए ।

विषादीको समस्या समाधान गर्न सरकारले विषादी चेकजाँज ऐन ल्याउन लागेको भन्दै मन्त्री खनालले ऐन आएपछि समस्या समाधान हुने बताए ।

अहिले पनि विषादी परीक्षणका तीनवटा ल्यावको लागि बजेट छुट्याइएको बताउँदै मन्त्री खनालले अबको आठ महिना भित्र अन्तर्राष्ट्रिय स्तरका ती परीक्षण केन्द्रहरु स्थापना गरिसकेपछि विषादी परीक्षणका धेरै जसो समस्याहरु समाधान हुनेमा जोड दिए ।

मन्त्री खनालले यूवाहरुको बढ्दो विदेश पलायनका कारण ४२ प्रतिशत जमिन बाँझो हुन पुगेको बताउँदै सरकारले अर्गानिक र आधुनिकिकरण योजनाबाट १० बर्षमा मुलुकको कृषि क्षेत्रको समस्या समाधान गरिने बताए ।

प्रतिक्रिया