एशियन अमेरिकन प्यासिफिक आईल्याण्डर्स एएपिआईले मंगलवार मेरिल्याण्डमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा अमेरिकाका स्थानीय,राज्य र संघीय जनप्रतिनीधिहरुले अमेरिकामा एशियन मूलका व्यक्तिहरुको प्रभाव र चुनौतीको वारेमा छलफल गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दे मेरिल्याण्ड राज्यका गभर्नर वेज मुरले विविधतामा मेरिल्याण्ड अग्रणी रहेको वताए । उनले मेरिल्याण्ड स्टेटमा एशियनहरुको प्रभाव र प्रतिनीधित्वको वारेमा चर्चा समेत गरेका थिए । उनको उपगभर्नर अरुणा मिलर देखि क्याविनेटमा रहेका व्यक्तिहरुको समेत चर्चा गरेका थिए । गभर्नर मुरले सम्वोधनको क्रममा एशियन अमेरिकनका व्यवसायी, वुद्धिजीवि, विभिन्न पेशा व्यवसायका व्यक्तिहरुको सहभागिताले महत्वपूर्ण आधारशीला निर्माण गरेको वताए ।
कार्यक्रममा अमेरिकाका प्रभावशाली वरिष्ठ सिनेटर क्रिशभ्यान होलेनले पछिल्ला दिनहरुमा संविधान प्रदत्त अधिकार माथि नै हमला भएको उल्लेख गर्दे आप्रवासीहरु डराउन नपर्ने धारणा राखे । उनको भनाई थियो – तपाईहरुको हक अधिकार संविधानले नै ग्यारेन्टी गरेको छ ।
तसर्थ तपाईहरु नडराउनुहोला, तपाईहरुको लागि काम गर्न हामीहरु अहोरात्र खटिरहेका छौं ।होलानले आफनो सम्बोधनको क्रममा नेपाली मूलका डेलिगेट हयारी भण्डारीको कामको प्रशंसा समेत गरेका थिए । कार्यक्रममा नेपाली मूलका पहिलो डेलिगेट एवं मेरिल्याण्डको दुवै सदन ( हाउस र सिनेट) मा एएपिआई ककसका अध्यक्ष डा हयारी भण्डारीले आप्रवासीहरुले नै अमेरिका वनाएको भन्दै निर्धक्क भएर आफनो काम र व्यवसाय सञ्चालन गर्न आप्रवासीहरुलाई आग्रह गरे । उनले अमेरिका भरि एशियाली अमेरिकनहरुले एक पछि अर्को सफलता हासिल गर्दे आएकोले अझै मजवुत र सशक्त रुपमा भूमिका खेल्न नागरिक अधिकारका अभियन्ताहरुलाई आग्रह गरे । भण्डारीले अगाडि थपे मेरिल्याण्डमा करिव पाँच लाख एशियन अमेरिकन वसोवास गर्दे आएको र अमेरिकन भरि करिव २ करोड ४७ लाख एशियन अमेरिकनको जनसंख्या रहेको वताए ।
कार्यक्रममा अमेरिकी सिनेटर एञ्जला अल्सोव्रुक्स, कार्यक्रममा क्यालिफोर्नियावाट प्रतिनीधित्व गर्ने कंग्रेसम्यान टेड लु जसले हाउस अफ डेमोक्रयाटसको ककस भाईस चेयरको रुपमा समेत काम गर्दे आएका छन् । यसै गरि मेरिल्याण्ड राज्यकी उप गभर्नर अरुणा मिलर ,डेलिगेट लिली क्यु, सारा वेलेक, चाओ ऊ, डेभिड मुन लगायतका झण्डै एक दर्जन निर्वाचित प्रतिनीधिहरु , एएपिआई नेसनल कोर्डिनेटर बेल हङले सम्बोधन गरेका थिए ।
अमेरिकाका विभिन्न राज्यवाट आएका डमोक्रयाट पार्टीका नेता तथा जनप्रतिनीधिहरुले खचाखच भरिएको हलमा सहभागीहरुले उत्साह पूर्वक भाग लिएका थिए । नेपाली मूलका अमेरिकीहरु ईन्द्र थापा, अर्जुन हमाल, तीर्थ पाण्डेय, राजीव क्षेत्री,वद्री खतिवडा, प्रकाश सिग्देल, गोपाल भण्डारी, प्रकाश सर्राफ लगायतका एक दर्जन वढी नेताहरुले समेत उक्त कार्यक्रममा भाग लिएका थिए ।
मे महिनालाई अमेरिकामा एशियन अमेरिकनहरुको हेरिटेज महिनाको रुपमा विविध कार्यक्रमहरु मनाईदै आएको छ । कार्यक्रमलाई डेमोक्रयाट पार्टीको एएपिआई डिएलसिले समन्वय गरेको थियो । एएपिआईका संयोजक देवान शाहले आगन्तुकहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा सम्बोधन गरेका वरिष्ठ सिनेटर क्रिस भ्यान होलान र गभर्नर वेस मुर आगामी २०२८ को राष्ट्रपतिको निर्वाचनमा डेमोक्रयाट पार्टीवाट सम्भावित उमेदवारको रुपमा हेरिएको छ ।
प्रतिक्रिया