कर्मचारी युनियन बन्द गर्न हल्ला निराधारः प्रम

इनेप्लिज २०७६ साउन ८ गते ११:०६ मा प्रकाशित

काठमाडौँ, साउन ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रतिस्पर्धात्मक प्रणालीमा न्यायोचित माग पूरा गर्न कुनै आन्दोलन गर्न नपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यो आन्दोलनको समय होइन, रचना, योगदान निर्माणको समय हो ।” प्रधानमन्त्री ओलीले सुशासन, लोकतन्त्र र विकासप्रति प्रतिबद्ध सरकारले कर्मचारीको समस्यालाई सुनुवाई र सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरणका लागि बुधबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका पदाधिकारीहरुसँग प्रधानमन्त्री ओलीले भन्नुभयो, “कर्मचारीको समस्याको विषयमा तपाईहरुसँग म छुट्टै बस्छु ।” उहाँले कर्मचारीका समस्यालाई आधिकारिक ट्रेड युनियनमार्फनै सरकारले सुन्ने बताउनुभयो । कर्मचारीको सहयोविना प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन नसकिने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वच्छ र पारदर्शी प्रशासनविना सरकारले वाञ्छित लक्ष्य पूरा गर्न सक्दैन ।

मन्त्रीपरिषद्ले त निर्णय गर्ने मात्रै हो, त्यसको कार्यान्वयन गर्ने कर्मचारी नै हो ।” उहाँले सरकारले कर्मचारी युनियन बन्द गर्न खोजेको छ भनेर चलाइएको हल्लाको भ्रममा नपर्नसमेत कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले कर्मचारीसँग मिलेर राजनीतिक पार्टीहरुले सँगसँगै अधिकार प्राप्तिका काम गरेको स्मरण गर्दै भन्नुभयो, “कहाँनिर भ्रम छर्न सकिन्छ भनेर बेलाबेला प्रयास भएका छन् ।”

उहाँले भ्रष्टाचार नियन्त्रण गरेर मात्रै मुलुकबाट गरिवी हटाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका दिनमा भएका कतिपय चुहावट, अनियमितता र त्यसबाट अनुचित लाभ लिइरहेका पनि होलान् तर अब त्यस्तो हुँदैन ।” उहाँले देश बनाउने हो भने आफ्ना स्वार्थको कारणले व्यवधान र असहयोग गर्न नहुने बताउनुभयो । उहाँले ‘भेइकल ट्रयाकिङ सिस्टम’ बाट व्यवसायीलाई हानी र खरावी केही नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामान एउटा पठायो अर्को पुग्ने, एउटा अनुपातमा पठायो त्यो नपुग्ने । जे गर्नुछ पारदर्शी ढंगले गरे भइगो नि । यस्तो बेथितिलाई नियन्त्रण गरिन्छ ।”

कर्मचारीहरुको आधिकारिट ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले कर्मचारीहरुको तर्फबाट १० लाख रुपियाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभयो । यसैगरी, केडिया ग्रुपले १५ लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया