वामदेव गौतम भन्छन् : संगठन विभाग मैले पाउने पक्का छ

इनेप्लिज २०७६ साउन ५ गते ११:३४ मा प्रकाशित

काठमाडाैँ, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आफूले पार्टीको संगठन विभाग पाउने निश्चित भएको दाबी गरेका छन् ।

आइतबार नेकपाको सचिवालय कमिटीको बैठकबाट बाहिरिएका गौतमले बैठकका सम्बन्धमा संचारकर्मीले जिज्ञासा राखेपछि उनले संगठन विभाग आफूले पाउने पक्कापक्की भएको दाबी गरेका हुन् ।

‘बैठकमा अपेक्षित सकारात्मक छलफल भएको छ । मैले संगठन विभाग पाउने पक्का छ,’ उनले भने । तर, आजको बैठकमा यस विषयमा कुनै निर्णय भएको छैन ।

बैठकले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ । यसका साथै जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरको इन्चार्ज र सहइन्चार्जको समेत टुंगो लगाएको छ । बैठक पर्सी मंगलबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बस्नेछ ।

नेकपामा यसअघि नै संगठन विभाग प्रमुख वामदेव गौतम, विदेश विभाग प्रमुख बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहने निश्चित भइसकेको चर्चा छ ।

माओवादीको भागमा परेको आर्थिक विभाग र प्रचार विभाग पनि टुंगो लाग्न सकेको छैन । स्कूल विभागमा आकांक्षी धेरै हुँदा टुंगो लाग्न बाँकी छ । स्कुल विभागमा तत्कालीन पूर्वएमालेका ईश्वर पोखरेल र पूर्वमाओवादीका नारायणकाजी श्रेष्ठको दाबी रहेको छ।

नेकपाको ३२ विभाग रहनेछन् । पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा विभाग लिने समझदारी भइसकेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच अघिल्लो वर्ष जेठ ३ गते एकता भएको थियो । तर, १४ महिनासम्म पनि एकताले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया