स्कुल विभाग नछाड्ने पूर्वमाओवादी समूहको निर्णय

इनेप्लिज २०७६ साउन ५ गते ११:३१ मा प्रकाशित

काठमाडाैँ, ५ साउन । नेकपाभित्र पूर्वमाओवादी केन्द्रले स्कुल विभागमा आफ्नो दाबी नछाड्ने भएको छ । आज बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार बसेको पूर्वमाओवादी केन्द्रका नेताहरूको बैठकले स्कुल विभागमा दाबी गरेको हो ।

नेकपाभित्र स्कुल विभाग कसलाई दिने भन्ने सहमति भइसकेको छैन । यद्पी, सचिवालय सदस्यहरु ईश्वर पाेखरेल र नारायणकाजी श्रेष्ठको नाम चर्चामा छ । पूर्वमाओवादी केन्द्रका नेताहरूको बैठकमा आफ्नो समूहले पाएको विभागको नेतृत्वबारे मोटामोटी टुंगो समेत लगाएको छ ।

बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी लिनुस् भनेपनि उनले स्कुल विभाग नछोड्ने बताएपछि सचिवालयमै टुंगो लगाउने गरी बैठक टु‌ंगिएको एक नेताले जानकारी दिएका छन् ।

पूर्वमाओवादी केन्द्रका नेताहरूले जनताको बहुदलीय जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनु पर्छ भनी वकालत गरिरहेका सचिवालय सदस्य ईश्वर पोखरेललाई पार्टीको नीति कार्यक्रम र कार्यदिशाबारे छलफल चलाउने स्कुल विभागको जिम्मेवारी दिन नहुने तर्क गरेका छन् ।

नेकपाका ३२ विभागमध्ये १८ वटामा पूर्वएमाले र १४ मा पूर्वमाओवादीले नेतृत्व गर्दैछन् । यसैगरी शीर्ष नेताहरूले केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, लेखा परीक्षण आयोग र निर्वाचन आयोग गठनमा पनि सहमति जुटाएका छन् ।

एकताका बाँकी काम टुङ्ग्याउनेगरि आज नेकपाको सचिवालय बैठक बस्दैछ । एकता भएको १४ महिना पुगिसक्दा पनि एकताले पूर्णता पाएको छैन ।

प्रतिक्रिया