राहत र उद्धारमा एकद्वार

इनेप्लिज २०७६ असार २९ गते ९:२२ मा प्रकाशित

काठमाडौँ, असार २९ गते । सरकारले बाढी, पहिरो र वर्षा पीडितको उद्धार तथा राहतका लागि एकद्वार प्रणालीमा काम गर्ने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्देशनमा शनिबार सिंहदरबारमा बसेको बैठकले राहत, प्रतिकार्य र पुनःलाभका कार्यमा एकद्वार प्रणालीमा काम गर्ने निर्णय गरेको हो । त्यसका लागि विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजकत्वमा विषयगत क्षेत्रको बैठक बसी विपद्ले पु¥याएको क्षति, खोज एवं उद्धार, राहत, प्रतिकार्य र पुनःलाभका लागि सरोकारवालालाई सक्रिय गराउने निर्णय गरिएको छ ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालका अनुसार सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा सामूहिक आवश्यकता पहिचान गरी कार्य अगाडि बढाउने निर्णय भएको छ । त्यसअनुसार रेडक्रस, गैरसकारी निकाय, जिल्ला, स्थानीय तहका विपद् व्यवस्थापन समितिले आपसी समन्वयमा काम गर्नुपर्नेछ ।

“मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७६ अनुसार क्षेत्रगत पूर्वतयारी कार्ययोजनालाई अद्यावधिक गर्दै अवस्थाअनुसार कार्यान्वयनमा लैजाने तय भएको छ”, खनालले थप्नुभयो, “राहत तथा उद्धारका लागि केन्द्रले आवश्यक सहयोग जारी राखेको छ । ”

उद्धार टोली विपद् स्थलमा

नेपाली सेनाको उद्धार टोली सक्रिय भएको छ । यसअनुसार बर्दिबास पुगेको सेनाको हेलिकप्टरमा त्रिपाल तथा उद्धार टोली पठाइएको छ । विस्थापितका लागि आवश्यक खाद्य सामग्री भने स्थानीय तहले व्यवस्थापन गर्ने भएका छन् । सबै कार्यको लेखाजोखाको अभिलेख भने केन्द्रमार्फत नियमित गरिने गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी उद्धार कार्यका लागि नेपाली सेनाको पूर्वी र मध्य पृतनाको पूरै जनशक्तिबाहेक विपद् व्यवस्थापन निर्देशनालयका चार हजार ३०४ जना उद्धारमा खटिएका छन् । नेपाल प्रहरीको २८ हजार ८३० जनशक्ति परिचालित रहेको जानकारी प्राप्त भएको छ ।

२३ जिल्लामा बढी प्रभाव

बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीको सबैभन्दा बढी असर तराईमा परेको छ । मध्य र पूर्वी क्षेत्रका २३ जिल्ला बाढी र डुबानको विपद्को चपेटामा परेका छन् । सिरहा, सप्तरी, सुनसरी, झापा, उदयपुर, बारा, रौतहट, जनकपुर लगायतका क्षेत्र पूरै डुबानमा परेका छन् । कतिपय स्थानमा ठाडो खोलाले बगाएरै पनि क्षति गरिरहेको स्थानीयवासी बताउँछन् । “घरको छतबाट हेर्दै छु, रूखका टुप्पाबाहेक केही देखिँदैन”, सिरहाका रामप्रीत यादवले भन्नुभयो, “समुद्रजस्तै जताततै पानी नै पानी छ । ”

उहाँले भनेझैँ वर्षासँगै उच्च भएको बाढी बस्तीमा पसेर मानव विस्थापित गर्ने क्रम बढेको छ । “पानी पर्न रोकिएकै छैन”, पूर्वाञ्चल हावापानी कार्यालय धरानका मौसमविद् राजीवकुमार झाले भन्नुभयो, “पानी परेपछि बाढी झन् बढेर गइरहेको छ । ” तराईमा सङ्कट आइपरेकै कारण शनिबार पनि कार्यालय पुग्नुभएका उहाँ कतिखेर के हुन्छ भन्न नसक्ने अवस्थामा रहेको बताउनुहुन्छ ।

ब्यारेजका ३३ ढोका खुले
उहाँले झैँ कोसी बेसिन कार्यालय विराटनगरका प्रमुख गोविन्द झाले तराईमा बाढीले वितण्डा मच्चाएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोसी ब्यारेजका सबै ढोका खुलेकै छैनन्, बल्ल ३३ वटा ढोका खोलिएका छन् । ” कोसी ब्यारेजका ५६ ढोका छन् । सप्तकोसीले शनिबार बिहान ९ बजे जोखिम रेखा पार गर्दै खतराको घन्टी बजाइरहेको छ । त्रिवेणीको तमोर नदीमा राडारले सूचना दिन छाडेको छ । बाढीले डुबाएर तल खसालेका कारण

समस्या आएको उहाँले बताउनुभयो । यसका कारण सप्तरीका करिब नौवटा गाउँ र सुनसरीका त्यही हाराहारीका गाउँ बाढीको डुबानले विस्थापित हुने अवस्थामा पुगेका छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाको वेबसाइटमा लगातार खतराको साइरन बजिरहेकै छ । मध्य र पूर्वी भेगमा तीन दिनको अविरल वर्षाका कारण नदीको जल सतहले खतराको तह पार गरेपछि त्यो क्षेत्रको जनजीवन खतरामा परेको सङ्केत वेबसाइटले दिइरहेको हो । बाग्मती र कोसी बेसिनका नदीको बाढी उच्च भएको हो ।

महाशाखाका अनुसार सतर्कताको सङ्केत तह ७.५० र खतराको तह ८.५० मिटर पार गर्दै उर्लिरहेको बाग्मती नदीले सबैभन्दा बढी जोखिम देखाएको छ । यसले सर्लाही लगायतमा असर गर्ने छ । मध्य क्षेत्रमा कम पानी परेको बेलामा समेत बाग्मती १२ मिटर माथि उर्लिएको छ ।

तराई डुबान पार्ने अर्को बेसिन कोसी हो । हम्पाचौरस्थित सुनकोसीले १०.५० मिटरको सतर्कताको तह र ११.५० मिटरको खतराको तह पार गरेर १२.२३ मिटरमाथि उर्लिरहेको छ ।
त्यसैगरी कोसी बेसिनकै त्रिवेणीको तमोर नदीले नौ मिटरको सतर्कता तह र १० मिटरको खतराको तह पार गरेर ११.३ मिटरमाथि उर्लंदै बस्ती पसेको छ ।
सोही बेसिनकै पुरानो चतराको सप्तकोसी नदीले छ मिटरको सतर्कता तह र सात मिटरको खतराको तह पार गर्दै सात दशमलव २१ मिटर माथि उर्लंदै आफ्नो बहाव बढाउँदै गएकाले स्थानीयवासी थप त्रसित छन् ।

छ लाखलाई सन्देश

आपत्को खतराअनुसार व्यवस्थापन अगाडि बढाइएको छ । “मूलघाटको तमोर नदी, नयाँ चतराको सप्तकोसी र पश्चिमको कुसुमस्थित पश्चिम राप्तीको बाढीले सतर्कताको तह पार गर्दै खतराको तहतर्फ मोडिँदै छ”, जलविज्ञ विनोद पराजुलीले थप्नुभयो, “यस्तोमा ती क्षेत्रमा पनि हाई अलर्टको सतर्कता सरकार र प्रशासनले अपनाउन जरुरी छ । सम्बन्धित निकायलाई यो जानकारी दिइएको छ । ”
वर्षा पूर्वी क्षेत्रमा नरोकिएकाले बाढीको सतह कम हुने अवस्था छैन । मध्य क्षेत्रमा शनिबार अपराह्नसम्म पानी कम परेकाले यस क्षेत्रमा बाग्मतीको सतह नबढे पनि राति पानी पर्दा थप बहाव बढ्ने पराजुली बताउनुहुन्छ ।

नदीको सतह माथि पुगिसकेको अवस्थामा थोरै वर्षाले पनि बाढी बढाउँछ । सप्तकोसीको वारिपारिका गाउँमा सुरक्षित स्थानमा जान भन्दै सप्तकोसी गाउँपालिका, हनुमान नगरी, कोसी गाउँपालिकामा दोहो¥याएर मोबाइल सन्देश पठाइएको छ ।

“एसएमएस सेवा सक्रिय पारेका छौँ तर बाढीले कतिपय स्थानमा सञ्चारमा समेत अवरोध आएको सुनेका छौँ”, पराजुलीले थप्नुभयो, “बाग्मती, कोसी र कमला बेसिन वरपर खतरामा परेकाका लागि करिब छ लाख मोबाइल सन्देश पठाइसकेको छ । ” कमला बेसिनको रातु, खाडोखोला, लालबकैया नदीको तह पार गरेर बस्ती पसेकाले सुरक्षित रहन आह्वान गरिएको छ । काठमाडौँ उपत्यकामा पनि फेरि डुबानको खतरा कायमै रहेकाले सुरक्षाको उपाय अपनाउनुपर्ने सुझाव दिइएको छ ।

११ स्टेसनमा अत्यधिक वर्षा

कमला बेसिन क्षेत्रमा विगत २४ घण्टामा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कमला बेसिनका छवटा स्टेसनमा अत्यधिक वर्षा भएको हो । विभागले दिएको तथ्याङ्कअनुसार कोसीको अनारमनी बिर्ता स्टेसनमा ४७२ मिलिमिटर अत्यधिक वर्षा भएको छ ।

त्यस्तै कमला बेसिनको सिरहास्थित स्टेसन आसपास ३२४ मिलिमिटर, रानीबास स्टेसन आसपास ३०६ मिलिमिटर, तित्रिया स्टेसन आसपास २६८.४ मिलिमिटर, चिसापानी बजार स्टेसनमा २६५ मिलमिटर, जिनाखु स्टेसनमा २५४, बाहुन तिप्लुङ स्टेसनमा १८२ मिलिमिटर, बरमझिया स्टेसनमा १७६.८ मिलिमिटर वर्षा भएको छ ।

नारायणी बेसिनको बारा कोल्ह्वीस्थित स्टेसन आसपास १६८.८ मिलिमिटर तथा बाग्मती बेसिनको गरुडा स्टेसन आसपास १८८.६ मिलिमिटर अत्यधिक वर्षा मापन भएको विभागले जनाएको छ । वर्षाले पनि सामान्य र उच्च तह नाघेको छ । काठमाडौँमा विगत २४ घण्टामा १०४ मिलिमिटर पानी परेको छ ।

मध्य र पूर्वमा निरन्तर वर्षा

मनसुनको न्यून चापीय क्षेत्र र न्यून चापीय रेखा नेपालमै स्थिर रहेकाले मध्य र पूर्वमा अझै निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “न्यून चापीय रेखा अलिक कमजोर देखिए पनि न्यून चापीय क्षेत्रको प्रभाव हलचल नगरी बलियो भएर भएकाले वर्षा रोकिने छाँट छैन”, मौसमविद् मञ्जु बासीले थप्नुभयो, “नेपालका पश्चिम क्षेत्रमा पनि यसले प्रभाव बढाउँदै छ । ”

उहाँले वर्षाले माटो गलिसकेकाले अब पर्ने पानीले पहाडमा पहिरो जाने सम्भावना औँल्याउनुभयो । बाग्मती र कोसीसँगै नारायणी बेसिनका क्षेत्रमा भारी वर्षा बढेको छ । काठमाडौँमा राति अविरल वर्षा कायम रहने छ ।

सेना र प्रहरीकै पोस्ट डुब्यो

तराईमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीकै धेरै पोस्ट डुबाएपछि उद्धारमा कठिनाइ आएको छ । तराईमा सशस्त्रको करिब १३ हजार जनशक्ति छन् । नेपाली सेनाको पूर्वी र मध्य पृतनाको पूरै जनशक्तिबाहेक विपद् व्यवस्थापन निर्देशनालयका चार हजार ३०४ जना उद्धारमा खटिएका छन् । नेपाल प्रहरीको २८ हजार ८३० जनशक्ति परिचालित रहेको जनाइएको छ ।

सशस्त्र प्रहरीको तराईका १६ वटा पोस्ट डुबाएको प्रवक्ता सुरजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हतियार सुरक्षित राखेर टोली उद्धारमा खटिएको छ । ” उद्धारमा साधनस्रोतको अभाव हुँदा समस्या आएको उहाँले बताउनुभयो । “डुङ्गा नपुगे ट्युबमा हावा भरेर, डोरी र बाँस प्रयोग गरेर, बालुवाले बोरा भरेर जसरी सकिन्छ मानिसको उद्धार गरिरहेका छौँ”, श्रेष्ठले थप्नुभयो, “बन्द भएका बाटो खुलाउन ठाउँठाउँमा डोजर, क्रेनजस्ता ह्याभी इक्विपमेन्टको अभावले समस्या परेको छ । ” हालसम्म सशस्त्रले सात सय जनाभन्दा बढीको उद्धार गरेको जनाएको छ ।

खराब मौसम र हेलिप्याड जलमग्न हुँदा नेपाली सेनाको हेलिकप्टर सिरहा र सप्तरीमा बिहानभर उत्रन सकेन । पटक पटकको प्रयास जारी रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । अपराह्न ५ बजे सुर्खेतबाट उद्धार र राहत सामग्री लिएर उडेको हेलिकप्टर महोत्तरीको बर्दिबासमा उत्रन सफल भयो । प्रवक्ता पाण्डेले भन्नुभयो, “इटहरीबाट उडेको हेलिकप्टर भने उद्धार क्षेत्र पुग्न नसकी फर्केको छ । ”
तराई उड्न नसकी काठमाडौँमै रहेको हेलिकप्टर भने डुबानमा परेको चितवनको सौराहा र कसरा क्षेत्रको उद्धारमा खटिएको थियो । तराईमा नेपाली सेनाका करिब आधा दर्जन सैनिक पोस्ट डुबानमा परेको छ । गएको चैतमा बारामा गएको टोर्नाडोले क्षति पु¥याएका स्थानमा सेनाले चारवटा क्लस्टरमा बनाइरहेको भवन र बस्ती डुबानमा परेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

पश्चिममा उद्धार सुरु

लगातारको वर्षाले राप्ती नदीमा पानीको सतहले ‘खतराको बिन्दु’ पार गरेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । नेपालगन्जस्थित गोरखापत्र समाचारदाता सिराजुद्दिन खानका अनुसार शनिबार अपराह्न करिब ५ बजेतिर नदीको सतहले पाँच दशमलव सात मिटर सतह पार गरेको हो ।

कुसुममा स्टेसनको मापन केन्द्रबाट बाढीसहितको नदी होलियासम्म पुग्न करिब चार घण्टा लाग्छ । यस अवधिमा खतराको साइरन बजाई स्थानीयवासीलाई अन्यत्र सार्न थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । खतराको साइरन बज्नेबित्तिकै नदी पस्ने सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको हो । राप्ती नदीमा पानीको सतह पाँच दशमलव चार मिटर पुग्दा फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गङ्गापुर, नरैनापुरमा डुबानमा पर्छ । जिल्ला आपत्कालीन कक्षले उद्धार सामग्रीसहित उद्धार टोलीलाई राप्ती सोनारी, डुडुवा र नरैनापुरमा तैनाथ गरेको जनाएको छ ।

मृतकको सङ्ख्या ४३

मनसुन सक्रिय भएसँंगै बिहीबार रातिबाट परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानमा परी शनिबार साँझसम्ममा ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण २४ बेपत्ता र १७ जना घाइते भएका छन् । ९७९ जनाको उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार बाढीले बगाएर, पहिरो खसेर तथा डुबानका कारण ठूलो मानवीय क्षति भएको छ । खेती तथा बालीनाली र पशु चौपायाको क्षति भए पनि त्यसको विवरण प्राप्त हुन सकेको छैन । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार ललितपुरमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । माल्टा, बखेल र नख्खुमा भएको तीनवटा छुट्टाछुट्टै घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार भोजपुरमा पाँच; मकवानपुरमा चार; काठमाडौँ, खोटाङ, काभ्रे, ओखलढुङ्गामा तीन÷तीन; धादिङ, सिन्धुली र झापामा दुई÷दुई; पर्सा, पाल्पा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिरहा, धनुषा, डोल्पा र चितवनमा एक÷एक जना गरी जम्मा ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी सिन्धुलीमा चार; काठमाडौँ, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा एक÷एक जना गरी २४ जना बेपत्ता भएका छन् । शुक्रबार साँझबाट बेपत्ता भनिएका दुईजना भने सम्पर्कमा आएका छन् । यसैबीच काठमाडौँमा पाँच, मकवानपुरमा चार, काभ्रेमा दुई; खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरी र चितवन एक÷एक जना गरी १७ जना घाइते भएका छन् ।

बाढीमा फसेकामध्ये काठमाडौँमा १८५, महोत्तरीमा पाँच सय, रौतहटमा दुई सय, सिन्धुलीमा ७०, उदयपुरमा १०, ललितपुरमा आठ, सिरहामा दुई; भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एक÷एक गरी ९७९ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । मनसुन सुरु हुनु हप्ता दिनअघि नै सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा पनि धनजनको ठूलो क्षति भएको छ । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले घाइतेको उपचार, बाढीपहिरो पीडितको पुनःस्थापना, बेपत्ताको खोज तथा उद्धारकार्य तीव्र पारिएको बताउनुभयो । यसैबीच शनिबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्यो । बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, विभिन्न मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।

त्यस बैठकले मनसुन सक्रिय रहेकाले सम्भावित क्षति रोक्न नदी किनाराका बस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै उद्धार तथा पुनस्र्थापनाका लागि तीनवटै सुरक्षा निकायलाई एकैसाथ परिचालन गरिएको जनाएको छ ।

वर्षायाममा सवारी यात्रा गर्दा सडकको अवस्थासम्बन्धी सूचना तथा जानकारी लिएर मात्र निस्कन आग्रह गरिएको छ । राहत वितरण प्रभावकारी बनाउन सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया