बिहीबार, मंसिर २६ २०७६
काठमाडौं ०९:०२
वासिङटन डिसी 22:17

नेकपाका अध्यक्षद्वय गृहकार्यमा इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाइँदै

इनेप्लिज २०७६ असार २८ गते ७:२२ मा प्रकाशित

काठमाडौँ, असार २८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाउने गृहकार्यमा लाग्नुभएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले बालुवाटारमा पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग यो विषयमा छलफल गर्नुभएको हो । दुवै अध्यक्षले असार मसान्तभित्र साङ्गठनिक एकता, पोलिटब्युरो गठन, कार्य समितिको कार्य विभाजनलगायतका कार्य टुङ्गो लगाउनेगरी गृहकार्य गरिरहनुभएको प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दुवै अध्यक्षको बीचमा विभिन्न मापदण्डको विषयमा छलफल भइरहेको जानकारी दिँदै असार २९ गते सचिवालयको बैठकबाट सबै कुराको टुङ्गो लगाउने बताउनुभयो ।
तत्कालीन नेकपा (एमाले) र तत्कालीन माओवादी केन्द्रका जिल्ला इन्चार्ज र सहइन्चार्जलाई नै नेकपामा पनि जिम्मेवारी दिने मोटामोटी सहमति भए पनि टुङ्गो लागेको छैन । यसअघि अध्यक्ष र सचिवमा भने दुई पार्टीबीच जुन जिल्लामा जसले नेतृत्व पाउँछ त्यहाँ पूर्ववत पार्टीमा रहेकाहरूले नै सम्बन्धित जिम्मेवारी पाउने मापदण्ड अपनाइएको थियो । यही मापदण्डअनुसार एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्वएमालेका अध्यक्षले नै सो जिम्मेवारी लिने र माओवादीले अध्यक्ष पाएको जिल्लामा माओवादी रहँदा अध्यक्ष भएकै व्यक्ति अध्यक्ष हुने विधि अपनाइएको थियो ।
पार्टीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले तत्कालीन दुवै पार्टीमा रहेका इन्चार्ज र सहइन्चार्जलाई नै नेकपामा पनि जिम्मेवारी दिने लगभग सहमति भएको छ तर सचिवालयको आगामी बैठकबाट छलफल गरी त्यस विषयलाई टुङ्गो लगाउने बताउनुभयो ।
वरिष्ठताका आधारमा एउटा पार्टीबाट इन्चार्ज बनाउने हो भने अर्को पार्टीबाट सहइन्चार्ज बनाउने सहमति दुईजना अध्यक्षको बीचमा भएको हो । त्यसमा पार्टीका सचिवालय सदस्य माधवकुमार नेपाल पनि सहमत रहनुभएका बताइएको छ । तत्कालीन दुई पार्टीका तत्कालिन पदाधिकारीलाई आधार मानेर ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाइएको थियो । सोही मापदण्डलाई अहिले पनि लागू गर्नेमा दुवै दल सहमत भएको बताइएको छ ।
२०७५ कात्तिक ८ गते बसेको सचिवालयको बैठकले प्रदेश कमिटीको एकता तथा केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुङ्गो लगाउन सचिवालयका सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णुप्रसाद पौडेल रहने गरी एक कार्यदल गठन गरेको थियो । सो कार्यदलले प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश कमिटीका अध्यक्ष, सचिवका मात्र टुङ्गो लगाएर सचिवालयलाई बुझाएको थियो । कार्यदलले गत मङ्सिर १२ गते बुझाएको प्रतिवेदनमाथि विवाद उत्पन्न भएको थियो । वैशाख ८ गते बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुङ्गो लगाएको थियो ।
७७ जिल्लामध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । स्थायी कमिटी सदस्य पौडेल भन्नुहुन्छ, जिल्ला इन्चार्ज र सहइन्चार्ज ६०–४० को भागबण्डाका आधारमा टुङ्गो लगाइन्छ तर त्यसै पनि अहिले सहमति भएको छैन । ’ पूर्वएमालेले पार्टीका केन्द्रीय सदस्यलाई जिल्लाको इन्चार्ज तथा सहइन्चार्ज बनाउने मापदण्ड बनाएको छ ।

प्रतिक्रिया