प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी

इनेप्लिज २०७६ असार २४ गते १२:४६ मा प्रकाशित

रामपुर, असार २४ गते । पाल्पामा प्रधानमन्त्री स्वरोगार कार्यक्रम प्रभावकारी देखिएको छ । कार्यक्रमबाट रोजगारी पाएका नागरिकले छोटो समयका लागि भए पनि जागिर पाएको बताएका छन् । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी रैनादेवी छहरा गाउँपालिकाका ३२० महिला तथा पुरुषले रोजगार पाएका छन् ।

तानसेन नगरपालिका र रामपुर नगरपालिकासँगै अन्य आठ गाउँपालिकामा रोजगारी सिर्जना गरिएको छ । विदेश गएर फर्केका, एकल महिला तथा अन्य नागरिकले पनि रोजगार पाएका छन् । अन्य पेशा तथा व्यवसाय गर्न सीप नभएको र यसका लागि भने खासै सीप नभए पनि सजिलो भएको रोजगारी गर्दै आएकाहरूको भनाइ छ । दिनभरि खाली बस्दै आउनु परेको र पैसा हातमा नभएका बेला सरकारले एक महीनाका लागि भए पनि जागिरको व्यवस्था मिलाइ दिएकामा खुशी लागेको तानसेनका यमकुमारी राना बताउनुुहन्छ ।

रामपुर नगरपालिकामा ७०, तानसेन नगरपालिकामा १८५, बगनासकाली गाउँपालिकामा ७२, र रम्भा गाउँपालिकामा १२९ महिला तथा विदेशबाट फर्केका युवालाई प्राथमिकता दिएर रोजगार दिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ ।

भ्रवनोट उकालो ओरालो डाँडा तथा समथर भूभाग रहेको रम्भामा बाटोको पहिरो हटाउने मोड काट्नेलगायत मर्मतका काम गरेको उहाँको भनाइ छ । यस्तै रिब्दीकोटमा ११०, पूर्वखोलामा १७५ तिनाउमा २५०, निस्दीमा ९८, माथागढीमा १७२ र रैनादेवी छहरा गाउँपालिकामा ३२० बेरोजगारले रोजगार पाएका छन् ।

बेरोजगार बसेका युवा रोजगार हुने र पाखा खाली जग्गामा टिमुर लगाउने योजना रहेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसी बताउनुहुन्छ । पाल्पाकै तिनाउ गाउँपालिकाको वडा नम्बर १ मा दालचिनी र अम्रिसोको बिरुवा रोपण तथा अन्य वडामा वर्षात्को समयमा बाटो हिलो चिप्लो नहोस् भन्ने उद्देश्यले मोटरबाटोको छेउछाउमा नाली खन्ने काम दिलाइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया