कहिलेसम्म मरिरहने आमाबाबु आफ्नै सन्तानको हातबाट?

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ असार १९ गते ५:३० मा प्रकाशित

काठमाण्डौमा आफ्नै विवाहिता छोरीको प्रेमीबाट एक आमाको अनाहकमा ज्यान गयो, यस घटनाले स्पष्टरुपमा वर्तमान सामाजिक संरचना र मर्यादाको रुप देखाउछ। समाज एक किसिमको रोगबाट ग्रसित हुदै गइरहेको छ। समाज किन र कसरी यस्तो मानसिक रोगबाट पिडीत भएको छ भनेर विज्ञविद्धान वा समाजका अगुवाहरुलाई सोध्ने हो भने सामाजिक संजाल, इन्टरनेट, सिनेमा आदिइत्यादीको प्रभाव भनेर जवाफ आउला तर हामी कस्तो समाजको निमार्ण गरिरहेकाछौ र आफ्नै सन्ततीलाई कस्तो पाठ सिकाइरहेकाछौ भनेर आत्ममुल्यांकन गर्यो भने धेरै अनुत्तरित प्रश्नको जवाफ केही हदसम्म मिल्छ।

केही समय अघि व्यंग्यकार प्रनेश गौतम साइबर क्राइमको अपराधमा प्रहरी हिरासतमा परे, धेरैले उनको गिरफतारीको विरुद्धमा सहमति जनाए। जसले सहमती जनाए वास्तवमा त्यो सही थियो किनकी लोकतन्त्रमा वाकस्वतन्त्रता हुनु नागरिकको अधिकार हो। वीर विक्रम २ को गलत वा व्यंगात्मक तरिकाबाट समी़क्षाको अपराधमा प्रनेश गिरफ्तार भएका थिए। मीम नेपाल एकदमै लोकप्रिय छ र प्रनेश पनि सेलिब्रटी नै हुन तर वीर विक्रम २ को समीक्षामा उनले जुन किसिमले समाजका पेशागत व्यक्तिहरुलाई होचाएका छन, त्यसैले प्रनेशको सामाजिक अनुशासनको स्तर मापन हुन्छ, समीक्षाको क्रममा उनले भनेका छन, “ सोझा सोझा मान्छेहरु खलासीहरु, टेम्पो ड्राईभरहरु उहाँहरुलाई ढुक्कै मनपर्याछ यो फ़िल्म”, यो एउटा सानो उदाहरण मात्रै हो युवापुस्ताको अनुशासनहीनतामा औला उठाउने ठाऊ। दुईचार अक्षर चिनेका र दुईचार हजार खेलाउने औकात भएकालाई आफुभन्दा अलीकति कमजोर वा ज्याला मजदुरी गर्ने व्यक्तिलाई होच्यानैपर्छ भन्ने मानसिकताको विकास नव शिक्षीत अभिभावकबाटै हुने गर्छ।

संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिकी श्रीमतीलाई प्रथम महिला अर्थात फर्स्ट लेडीको सम्बोधन गरिन्छ भने हाम्रो समाज हरेक दलका नेताका श्रीमती, सेनाप्रहरी प्रमुखका श्रीमती, सिडीयो, राजदुत,लगायत सबका श्रीमानश्रीमती फर्स्ट लेडीलेडा बन्ने चलन छ। जब विपदको सुई आफुतिर सोझिन्छ अनि शुरु हुन्छ दुधले धोएको सालिग्राम बन्ने नाटक।

समय धेरै परिवर्तन भइसक्दा पनि हाम्रो वैचारिक आधुनिकतालाई संसारका अन्य सामाजिक संरचनाहरुसंग तुलना गर्ने हो भने हामी अझै पनि ईसापुर्व ४०० वर्ष अघिको ग्रीकयुग वा ढुंगेयुगमै छौ। प्रजातन्त्र, पंचायततन्त्र, बहुदल, लोकतन्त्र चाहे जुनसुकै राजनैतिक परिवर्तन आएपनि वा पटकपटक संविधान लेखिएपनि अझै धेरै कानुन र अधिकार बदल्न बांकी नै छ।

सामाजिकरुपमा आमुल परिवर्तन गर्नु पर्ने अध्याय हो बालिग भइसकेका छोराछोरीलाई सुतीसुती खुवाएर पाल्ने सामाजिक कुरिती। शारीरिकरुपमा अपांग भएकाहरु आत्मनिर्भर भएका उदाहरण थुप्रै सुनिन्छ भने अर्कोतिर उमेर पुगेका छोराछोरीबाट बृद्ध बाबुआमामाथी भएका पारिवारिक अपराधका घटनाहरु प्रशस्त मात्रामा घट्ने गरेकाछन्। यसमा सरकारी निकायको ध्यान जानु जरुरी छ। बृद्धबृद्धालाई भत्ताको भन्दा पनि सुरक्षा जरुरी बढी छ। यसमा सरकारी निकासको ठुलो जरुरत छ किनकी बोक्सीको आरोप वा अंशको विवादमा कहिले आफ्नै सन्तानबाट त कहिले बुहारी वा ज्वाईबाट बृद्धबृद्धा पीडित हुने गरेका छन। जबसम्म कानुन र सजाय बलियो बन्दैन तबसम्म डांडामाथी जुनहरु अपराधको शिकार बनीरहनुपर्दछ।

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया