यू-१९ क्रिकेटमा नेपालले चीनलाई १० विकेटले हरायो

इनेप्लिज २०७६ असार १८ गते १२:०३ मा प्रकाशित

काठमाडाैँ, १८ असार । एसिसी पूर्वी क्षेत्रीय यू-१९ क्रिकेट प्रतियोगिताको छनोट खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ । योसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो । ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गर्यो ।

जवाफी ब्याटिङमा आएको नेपालका लागि पवन सर्राफले २१ बलमा ४६ रन साथै रित गौतमले १० बलमा १० रन बनाउँदै जित दिलाएका हुन् । आक्रामक ब्याटिङ गरेका पवनले ६ चौका र ३ छक्का हाने ।

कसिलो बलिङ गर्ने क्रममा नेपालका सागर ढकालले ६ विकेट लिए । ९ ओभर १ बल गरेका उनले १९ रन दिएर ६ विकेट लिएका हुन् । यस्तै तिलक राज भण्डारीले ३ र कमल सिंह ऐरीले १ विकेट लिए ।

समूह एमा रहेको नेपालले दोस्रो खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ । प्रतियोगिताको समूह एमा नेपाल, सिंगापुर र चीन छन् ।

समुह ‘बी’ मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । दुबै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ।

प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू-१९ एसिया कपमा सहभागिता जनाउनेछ । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान लगायत देशका युवा टोली हुनेछन् ।

प्रतिक्रिया