संखुवासभामा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो फायरिङ

इनेप्लिज २०७६ असार १६ गते ११:५६ मा प्रकाशित

काठमाडाैँ, १६ असार । संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच फायरिङ भएको छ । सोमबार बिहान संखुवासभाको सिलिचोङ गाउँपालिकामा प्रहरी र विप्लवका कार्यकर्ताबीच ‘सांकेतिक’ फायरिङ भएको हो ।

सिलिचोङको १ नम्बर वडामा प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेड भएको गाउँपालिका अध्यक्ष रामबहादुर राइले बताएका छन् । उनका अनुसार १ नम्बर वडाको होइङगला भन्ने स्थानमा मुठभेड भएको हो ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको सात जनाको टोली र सशस्त्र प्रहरी बलको १० जनाको टोलीमाथि सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेका थिए ।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुर ज्ञवालीले दुई समूहको जम्काभेट भएको बताए । प्रहरी र नेकपाका कार्यकताबीच जम्काभेट भएपनि भिडन्त भने नभएको ज्ञवालीले बताए ।

दुबै तर्फबाट सांकेतिक फायरिङ मात्रै भएको बताउँदै  डीआईजी घटनास्थलतर्फ थप प्रहरी पठाइसकिएको बताए ।

यसअघि जेठमा विप्लव समूहले सोलुखुम्बुको ग्रामीण क्षेत्रको प्रहरी चाैकी आक्रमणको प्रयास गरेको समाचार सार्वजनिक भएका थिए । पछिल्लो समय विप्लव समूहले पूर्वी नेपालका पहाडि क्षेत्रमा आफ्नो गतिविधि बढाइरहेको छ ।

सरकारले गएको फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया