विदेश जानु पलायन हैन पलाउन जानु हो -बुद्धिसागर बस्याल

इनेप्लिज २०७६ असार १५ गते १०:५५ मा प्रकाशित

५० को दशकमा नेपाली सांगीतिक क्षेत्रमा अत्याधिक चर्चामा रहेको नाम हो बुद्धिसागर बस्याल । बुवा लोकनाथ बस्याल र आमा गौरीदेवी बस्यालको सन्तानका रुपमा स्याङजाको मालुङगामा जन्मेका बुद्धिसागर बस्याल बिषेशत नेपाली लोक गीतको क्षेत्रमा अझ बढि लोकप्रिय नाम हो । कुरा साँचो छ, रहिछेउ मजाकी, डाँफे नाचेर, क्या राम्रो तानसेन बजार, छमछम पाउजुले, , चिठी लेखेर, बाजेका पालामा, लगाउँ पिरती लगायतका दोहोरी तथा पञ्चेवाजा गीतहरु त्यस समयका बिवाह उत्सवमा अत्याधिक बज्ने गरेका गीतहरु हुन् भने उनका लाहुरे, बुढेसकालैमा, फाटेको लुगा, तानसेनको बजारमा,परेलीमा लगायतका लोक र आधुनिक गीतहरुमा मानविय संवेदना र प्रेमको भाव समेटिएको छ ।

हाल क्यानडामा रहँदै आएका गायक बस्याल आफैंमा राम्रा संगीतकार र गीतकार पनि हुन् । नेपाल रहँदा राम्रा सञ्चारकर्मीको छवि बनाएका बस्याल यतिबेला पनि सञ्चार कर्म र संगीत क्षेत्र निकट रहेर कामहरु गरिरहेका छन् ।

गायक बस्यालसंग किशन रेग्मीले गरेको कुराकानी

स्वागत छ यहाँलाई ?

धेरै धेरै धन्यवाद यहाँलाई साथै युयस खबरका सम्पुर्ण पाठकहरु जसले युएस खबर हेर्नुहुन्छ पढ्नु हुन्छ । उहाँहरुलाई आत्मिक नमस्कार । प्रवासबाट सञ्चालित मिडिया नेपाली समुदायलाई जोड्ने सेतुका रुपमा रहेको छ । नेपाली कला संस्कृती र नेपाली समुदायका खबरहरु संप्रेसणमा बिषेश गरी नर्थ अमेरिकाबासी नेपाली र सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनु भएका नेपालीहरुसम्म हामिलाई जोड्न मद्यत गर्नु भएको छ गर्दै आएको तपाँईहरुको युयस खबर टिमलाई धन्यवाद ।

-बाल्यकालमा तपाँईको स्वभाव र पारिवारिक पृष्ठभुमी कस्तो थियो ?

मेरो जन्म स्याङजा जिल्लाको मालुङगा भन्ने गाउँमा भएको हो । पहिले गाबिस थियो अहिले गल्यांग नगरपालिका भएको छ । जुन पाल्पा र स्याङजाको सिमाना राम्दीघाट । जुन धार्मिक हिसावले पनि एकदमै प्रख्यात ठाउँ हो । कालिगण्डकीको उत्तरबाहिनी भनेर अहिले निकै चर्चित पनि छ त्यहिको पहाडी सेरोफोरोमा जन्मेको हुँ म । बाल्यकालमा म बदमास मात्र होईन अहिले आएर सोच्दा मुर्ख स्वभावकै थिएँ । असार साउनको भेलमा पौडी खेल्न जाने, कालिगण्डकीमा गण्डकीमा आएका मुडाहरु छोप्ने, गण्डकी पारी पाल्पा जील्लामा पर्ने ठाउँमा पनि घाँस काट्न जाने लगायतका थुप्रै एक हिसावले भन्दा बच्चामा गर्न नहुने कामहरु धेरै गरिन्थ्यो ।

बदमासी नै गरेपनि पढाईमा राम्रो थिएँ म । सानैबाट संगीतमा एकदमै रुचि थियो । संगीतको ज्ञान थिएन तर गाउँमा सुनेका गीत आफ्नो तरिकाले गाउँथें । मेरो परिवारबाट कोही गायन क्षेत्रमा त थिएन तर गण्डकी अञ्चल आफैंमा नेपाली सांस्कृतिक संस्कार भएको क्षेत्र हो । गीत संगीतको उद्गम स्थल पनि भएर पनि सायद त्यसैको प्रभाव ममा पनि देखियो ।

रुखमा बसेर गीत गाउँथे म, मेलापात गर्ने गाउँका दिदी बहिनीहरु मलको डोको बिसाएर मेरो गीत सुन्थे । यसरी गीत सुन्दा उनिहरुका घरकाहरु कहिलेकाही गाली जगे जस्तो पनि गर्थे तैले गीत गाईस् भने यहाँ काम छोडेर गीत सुनेर बस्छन् भनेर । एकखालको गीत संगीतमा एकदमै लगाव थियो मेरो । त्यहि लगावको लय पछ्याउँदै म संगीतको यात्रामा लागें ।

-औपचारिक संगीत यात्रा कहिले र कसरी सुरु भयो ?

ब्यवसायिक हिसावले म कलाकारका रुपमा अल्लि पछि नै आएको हुँ । जति बेला हामी गीत संगीतमा लाग्दै थियौं । त्यति खेर गीत गाउनुलाई त्यति राम्रो पनि मानिन्थेन नेपाली समाजमा । उसमाथी गाउँ घर तिर त झन् यो क्षेत्र पनि एक किशिमको पेसा बन्न सक्छ भन्नेमा बिश्वस्त नै नभएको समय । जातिय कुरा पनि हुन्थ्यो गीत संगीत भन्ने कुरा बाहुनले गर्ने होईन भन्ने पनि थियो ।

स्कुल हुने कार्यक्रममा भने मलाई गीत गाउन लगाईन्थयो । त्यो हुँदा पनि मलाई स्कुल मन पर्थो । गायिका लक्ष्मी न्यौपाने र मैले सानैमा जिल्ला स्तरिय गायन प्रतियोगीतमा बाल कलाकारको रुपमा भाग लिएको याद छ । हाम्रो गाउँ भन्दा पश्चिमतिर बिर्गा भन्ने ठाउँमा भएको त्यस कार्यक्रममा हामीलाई यति साना केट्केटीले कति राम्रो गीत गाए भनेर काखमा राखेर गीत गाउन लगाएको सम्झना छ ।

कक्षा ८ जम्म मालुङ्गा सार्वजनिक बिद्यालयमा पढेपछि म कक्षा नौ पढ्न पाल्पा गएँ । सेम स्कुल पाल्पामा कक्षा ९ मा भर्ना पएपछि मैले आफ्नो संगीतको रुचिलाई प्रस्तुत गर्न पहिले भन्दा सजिलो वातावरण पाएँ । जिल्ला स्तरिय बृहत प्रतियोगीताहरुमा सहभागी हुन थालें जहाँ चलेका कलाकारले पनि भाग लिन्थे । ति दिनहरु सम्झँदा लाग्छ संगीत मेरो बाल मनले पनि असाध्यै मन पराएको र सम्मान गरेको क्षेत्र हो ।

प्रतियोगीतामा भाग लिएर आउँदा मिल्ने खुसीले अर्को रहर पनि जन्मायो । मैले कक्षा ९ मा नै पढ्दा सारंगी बजाउन पनि सिकें । बाहुनको छोरोले सारंगी बजायो भनेर गाउँमा त्यो बेला ठुलै बिरोध भएको थियो । कतिले बा आमालाई पनि सुनाउन भ्याए, बाहुनको छोराले सारंगी बजायो अव गाउँमा अलच्छीन हुने भयो भनेर ।

म एकैचोटी संगीत क्षेत्रमा प्रवेश गरेको होईन । कयौं पटक कम्पिटसनमा भाग लिएका सम्झना छन् । धेरै प्रतियोगीतामा सहभागी भै सकेपछि बल्ल मैले रेडियो नेपालमा गीत गाएको हुँ । रेडियो नेपालको कम्पिटीसनमा भाग लिन पाल्पाबाट हामी ४ जना गएका थियौं । यो २०५२ साल तिर लाग्छ ।

ख्याली भजन गाएका थियौं हामीले सारंगी र खैंचेडी बजाएर । त्यो समय रेडियोमा गीत बज्नु भनेकै अत्यन्त ठुलो कुरा हुनथ्यो, अहिलेको जीस्तो युटुव फेसबुकको जमाना थिएन । एफएमहरु पनि आइसकेको थिएन । त्यो भन्दा अगाडि पोखरा क्षेत्रीय प्रसाराण पनि गएको थिएँ लाईभ प्रोगाम गएको थिएँ । राष्ट्रिय प्रतियोगीतामा भाग लिएको रेडियो नेपालकै प्रोगाम हो ।

औपचारिक संगीत यात्राको सुरुवाती दिनलाई कसरी सम्झनु हुन्छ ?

धेरै यादहरु छन् । त्यति बेला गीत गाउन काठमाडौं जानु नै ठुलो कुरा थियो त्यो गाउँबाट । रेडियो नेपाल मात्र थियो , एफएमको चलन आईसकेको थिएन । रेडियो नेपाल मात्र एउटा संस्था थियो जहाँबाट प्रसारण भएका गीतहरु मान्यता दियिन्थ्यो ।

टेलिभिजनमा गीत गाउने भन्ने पनि हुन्थेन । पछि क्यासेट निकाल्ने चलन आयो । हामी भन्दा अगाडि नारायण रायमाझी, बम बहादुर कार्की, प्रेमराजा महतका एल्वमहरु फाट्टफुट्ट निस्कन थालेको थियो । नारायण रायमाझी दाईको रिमा रेकर्डिगं थियो त्यहाँबाट हामीले कपाल कोरेर भन्ने गीत रेकर्ड गराएउँ ।

गाउँबाट आउँदा काठमाडौमा हराएको पनि छु । कोठा पत्ता नलागेर रेष्टुरेष्टको टेवलमा पनि सुतेका छौ रातभरी एउटा साथी र म । बिहान कहाँ कहाँ बाट साथीको कोठा पत्ता लगाएर गएका थियौं यस्ता धेरै यादहरु छन् ।

-संख्यात्मक रुपमा अहिले सम्म कती गीत गाउनु भयो ?

मैले चाहिँ त्यती धेरै गीत गाईन किनभने मैले आफ्नै सृजनामा ध्यान दिएँ । नेपाल हुँदा मेरो ९ वटा एल्वम आएका थिए,आफ्नै संगीतमा । लोक दोहरीहरु बिचमा केही आधुनिक गीतहरु पनि निकालें ।शास्त्रिय संगीतको २ बर्षे डिप्लोमा पनि गरेकाले आधुनिक गीतमा पनि झुकाव थियो । अरुले गाउनको लागि भनेको भएपनि गाईन । अरु आर्टिसले झैं ब्यवसायिक रुपमा मैले गाईन, केही गीतहरुमात्र गाएँ । पहिलेबाट नै राम्रो गीतहरु गाउनुपर्छ भन्ने थियो । आफुलाई चित्त नबुझी गाउन मन पनि लागेन ।

-क्यानडा कहिले र के को शिलशिलामा आउनु भएको हो ?

म २००६ मा आएको हो । सानोमा एउटा सपना पनि थियो । मैले अंग्रेजी साहित्य पढेकाले पनि मलाई विश्व साहित्य जान्न पनि मन लाग्यो । हलिउड पनि हेरांै नत भन्ने लाग्यो । म कार्यक्रमको शिलशिलामा आएको हुँ । नेपालमा त आफ्नो सपना पुरा भयो । अव बिदेशी साहित्य संगीत बुझौं न त जस्तो लाग्यो ।

-कसरी सम्झनु हुन्छ त्यहाँ आउँदाको सुरुवाती दिनलाई ?

धेरै प्लान पनि होईन आफ्नो भाग्यको कुरा रहेछ । एउटा भिडियो पनि निकाल्दै छु । धेरै पछि महश्ष भयो नेपालमा जन्मेको हिमाल पहाडमा जन्मेको हिमालको पानि बग्दै महासागरमा पुगेजस्तै हामी पनि संसार भरी पुगिरहेका छौं । बुद्ध नेपालमा जन्मिए उनको ज्ञान संसार भर फैलियो । सायद हामीले पनि प्रकृतीको नियमको एउटा कर्तब्य पुरा गरेको जस्तो पनि लाग्छ । म आउँदा नेपालीहरु धेरै थिएनन् । द्वन्दकालिन अवस्था पनि थियो । अहिले धेरै युवाहर आएका छन् । देशमा द्वन्द र आफ्नो युवा सपना पनि थियो म यो भन्दा अझै बढि राम्रो गर्छु भन्ने रहर पनि थियो ।

-क्यानडामा रहेका नेपाली कलाकारको अवस्था कस्तो छ ?

अमेरिकामा जस्तो यहाँ चाहिँ धेरै कलाकार हुनुहुन्न । औंलामै गन्न सकिने कलाकार हुनुहुन्छ । नेपालमा हामी जुन किसिमको आर्ट संगीत प्रस्तुत गर्थेउँ त्यो यहाँ बिक्दैन । त्यसैले पनि अरु काम गर्नै पर्छ । मैले अन्य ठाउँमा काम चाहिँ गर्नु परेको छैन । यहाँको मिडियामा काम गरें ३ बर्ष सम्म ,अहिले पनि मिडिया प्लस गीत संगीतमै काम गर्दै आईरहेको छु । त्यतीबेला नेपालमै ठुलो अवार्ड म्युजिक अवार्ड दिने गर्थो, मैले २ पटक यो अवार्ड पाएको थिएँ । ईमेज च्यानलबाट पनि अवार्ड पाएको थिएँ । अहिले जस्तो अवार्डको ब्यापकता पनि थिएन । त्यसपछि मेरो संगीतमा केही बर्ष ग्याप पनि भयो, सहभागीता पनि कम भयो । यस बाहेक मैले यहाँ आएपछि सामाजिक काम र सामुदायिक कार्यका लाथि क्यानडियन अवार्ड देखी बिभिन्न अवार्ड पाईरहेको छु, तर सांगीतिक अवार्ड यति नै हो ।

-बिदेशमा रहेका कलाकारलाई लाग्ने गरेको पलायनको आरोपबारे के भन्नु हुन्छ ?

सबैले पलाएन भनेपनि हामी बिदेशमा पलायन होईन पलाउन आएका हौं । अर्काको देशमा जेरोबाट सुरुवात गरेर नेपाली कला संगीत, नेपाली भाषा समाज संस्कृतिलाई संगै बोकेर आएका हुन्छांै । चलिरहेको बजारबाट ८-१० बर्ष बाहिर जाँदा आफ्नो स्रोताहरुलाई भनेजति गीत दिन सकिंदैन । आफ्नो पनि चाहना थियो धेरै समय गीत संगीत र मिडियामा पनि काम गरें । कान्तिपुर टेलिभिजनमा काम गर्थे मैले । धेरै मिडियामा पनि आईदैन ।

-क्यानडाले सपना कति पुरा गर्यो ?

यता आएपछि मैले ‘लाउरे’ गीत पनि गाएँ । ‘म त भएँ लाउरे’ बिदेशमा बस्नेहरुको सन्धर्व समेटेर । हालसालै परेली बोलको गीत पनि आयो । अव मेरो ४ वटा गीतहरु आउँदै छन् । पछिल्लो बर्ष मैले चितवनमा एकल शो गरें । अव २ ४ बर्ष लगातार गीतहरु आउँदैछन् मेरा ।

बस्तविकता र सपना फरक कुरा रहेछ । सपना देखिन्छ कोषिश गरिन्छ, कति पुरा हुन्छन् कति अधुरा मेरा सपना केही समय रोक्एिका थिए फेरी यसलाई निरन्तरता दिनु पर्छ भन्ने लागेको छ । जिन्दगी चलिरहेको छ । बिचमा केही सपनाले बिश्राम लियो ।

-तपाँईका स्रोताहरुको नजरमा आज आफुलाई कहाँ र कस्तो भेट्नुहुन्छ ?

नेपालमा जे गर्न चाहेको थिएँ त्यो मैले सानै उमेरमा प्राप्त पनि गरें । अव त्यहाँ भन्दा माथी जानलाई अलिकती ठुलो आकास नदि सागरमा मिसिन खोजेझैं मिसिन आएको हो । जहाज चाहिँ डुविसकेको छैन । मिस त हुन्छ नै स्रोताहरुले सुनिरहेको स्वर मन पराईरहेको मान्छे एक्कासी हराएउँदा कहाँ होला ? भन्ने पनि हुँदो रहेछ । लामो समयको ग्यापले कति स्रोता गुमाउन पनि पर्छ बिर्षदैं जानुहुन्छ उहाँहरुले । म अहिले नेपाल जाँदा जुन किसिमको माया पाएँ । फेसबुकमा म्यासेज आउँछ तपाँई रियल आर्टिस हो त्यो जमानाको भनेर । बास्तवमा भन्ने हो भने नेपालको लोक गीत गाउँमा मात्र थियो हामीले शहर सम्म ल्याएउँ । आज नेपाली कलाकार बिदेशी भुमिमा कार्यक्रम गर्ने हैसियत सम्म पुगेको देख्दा खुसी लाग्छ । नेपाली लोक गीतलाई संस्थागत गर्दा खेरीको मान्छे हुँ म त्यो मैले बिर्षेको पनि छैन यो क्षेत्रप्रति मेरो कर्तब्य पनि छ जस्तो लाग्छ ।

-गायनमा लाग्न खोज्ने नयाँ पुस्तालाई तपाँईको सुझाव के छ ?

मेरो बिचारमा आर्टको कुनै सिमा हुँदैन । तपाँई हामीले बाउन्ड्री सेट गर्न पनि मिल्दैन । मान्छेको च्वाईस हो, सात बिलियन मान्छे छन् जसका स्वभाव सोच र रुचि पनि फरक छन् । जसलाई आत्मैबाट म गाउन सक्छु, लेख्न सक्छु भन्ने लाग्छ । उहाँहरुलाई कोषिश गर्न चाहिँ म अनुरोध गर्दछु । तर आर्ट भनेको एक पटको लागि मात्र होईन एकपटक आउने र हराउनेलाई म्युजिक भनिदैन । सगीत भनेको समाजलाई जोड्ने कुरा हो । छोटो समयमा नै चर्चामा आउने लालचा भन्दा पनि संगीतको सम्मान गर्नुस्, अध्ययन पनि गर्नुस्, निखार ल्याउनु । छोटो चर्चाभन्दा पनि निरन्तरताका लागि प्रयास गर्नु । तर यो पनि फिल्टर हुँदै जान्छ । बर्षाको बाढि बर्षा याममा मात्र शक्तीशालि देखिन्छ, हरेक ऋतु र समयमा बहन सक्ने नदी जस्तो बन्नुस् । आँट र गाँठले मात्रै पनि किन्न सकिने चिज होईन संगीत । सस्तो हिसावले छोटो समयमा चर्चामा आउने रहर भन्दा पनि संगीत साधना हो भनेर सम्मान गर्ने बानि बसालौं ।

-भावि योजना केही छ ?

नेपाली लोक संगीत र वयस्ट्रन संगीतको फ्युजन गरेर नयाँ गीत गर्न मन छ । यो मेरो पुराना सपना र रहर पनि हो । नेपालमा हुँदा धेरै रिसर्च पनि गरेउँ । मैले सञ्चालन गर्ने टिभिको प्रोगाम पनि त्यस्तै खालको थियो । अहिले टोरन्टोको गायक क्रेकसंग यस बिषयमा कुरा भै रहेको छ । उहाँ हिपहप गायक हो । उहाँहरुसंग सहकार्य गर्ने सोचिरहेको छु । केही यहाँका गायकहरु संग कोलाव्रेसन गर्न सकिन्छ कि भन्ने सोचेको छु । त्यो चाहिँ मेरो ईच्छा ।

-समयका लागि धन्यवाद निरन्तर कला यात्राको कामना ।

यहाँलाई पनि धेरै धेरै धन्यवाद । कतिपय साथीलाई लाग्न सक्छ कलाकारिता चर्चा पाउन मात्र गरिने काम हो । तर यसमा अदृश्य लगानी धेरै हुन्छ । हामीमा एक किसिमको प्यासन छ, हामी सबै म्यासेन्जर हौं । संगीतको म्यासेज भनेको सबैभन्दा ठुलो म्यासेज हो । यसले आनन्द दिन्छ समाज जोड्छ । यसका लागि मिडियाले ठुलो मद्यत गरेको छ । हामीलाई स्रोतासंग जोड्नमा तपाँईहरुको महत्वपूर्ण हात छ । तपाँई र तपाँईको सम्पुर्ण टिमलाई धन्यवाद

प्रतिक्रिया