सुरु भयो पेट्रोलियम अन्वेषण कार्यक्रम

इनेप्लिज २०७६ असार १२ गते १०:०८ मा प्रकाशित

काठमाडौँ, असार १२ गते । दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचूर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको छ । अब त्यस क्षेत्रमा खानी तथा भूगर्भ विभागको व्यापक अन्वेषणका लागि तीनवर्षे कार्यक्रम कार्यान्वयनमा आएपछि आयातीत इन्धन पेट्रोलियमका लागि वैकल्पिक आयाम खुल्ने सम्भावना बढेको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले अहिलेसम्मको खोज, अन्वेषणले दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र विभिन्न ठाउँमा निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा व्यापक कच्चा पेट्रोलियम रहेको हुनसक्ने बताउनुभयो ।
अहिले नेपालको पेट्रोलियम कार्यक्रम अन्वेषणको चरणमा रहेको बताउँदै उहाँले पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच भएको सम्झौताअनुसार अहिले चिनियाँ टोली नेपालमा अन्वेषण कार्य गरिरहेको जानकारी दिनुभयो । अहिले तीनवर्षे पेट्रोलियम पदार्थ अन्वेषण कार्यक्रम सञ्चालनमा छ ।
डा. सापकोटाका अनुसार, अन्वेषण कार्यअन्तर्गत यो वर्ष पेट्रोलियम पाइने क्षेत्रको सम्भाव्यता अध्ययन र कार्य क्षेत्र निर्धारणको काम सम्पन्न गरिने छ । दोस्रो वर्ष त्यसलाई निरन्तरता दिई अझ गहन अध्ययन गरिने छ । त्यपछि तेस्रो वर्ष निर्धारण गरिएका क्षेत्रहरूमा ‘ड्रिलिङ’ काम सुरु गरिने जानकारी उहाँले दिनुभयो । जमिनबाट चार दशमलाव चार किलोमिटर जमिनमुनिसम्म ‘ड्रिलिङ’ गरिने छ ।
यसरी अन्वेषणबाट पेट्रोलियम पदार्थ देखिएको (डिस्कभरी) अवस्थामा त्यसको मात्रा र क्षेत्र पत्ता लगाउन तथा उत्खनन्का लागि अर्को सम्झौता गर्नुपर्ने महानिर्देशक सापकोटाले बताउनुभयो ।
खानी तथा भूगर्भ विभाग, पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेले अहिलेसम्म गरिएको खोज तथा अन्वेषण तथा दैलेखमा पाइएको कच्चा तेलको आधारमा नेपालमा पेट्रोलियम पदार्थ रहेको दाबी गर्नुभयो ।
“पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले अहिलेसम्म गरेका भौगर्भिक, भूभौतिक अध्ययन तथा अन्वेषणको परिणामले नेपालको तराई, भित्री मधेस र चुरे क्षेत्र पर्वतमाला क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ”, परियोजना प्रमुख रजौरेले भन्नुभयो, “नेपालको चुरे पर्वतमाला क्षेत्रको भौगर्भिक इतिहास तथा भूगर्भसँग मिल्ने भारतको असम र पाकिस्तानको पोतबार क्षेत्रमा लामो समयदेखि पेट्रोलियम पदार्थको उत्पादन भइरहेको कारणले नेपालको भूगर्भमा पनि पेट्रोलियम पदार्थको भण्डारण हुनसक्ने प्रबल सम्भावना रहेको छ । ”
उहाँले थप्नुभयो, “चुरे पर्वतमाला क्षेत्रका अतिरिक्त दैलेखको शीरस्थान र नाभीस्थानमा लामो समयदेखि ग्यास निस्केर ज्वाला निस्केर ज्वाला बलिरहेको अवस्था छ भने पादुकास्थानमा कच्चा तेल निस्कनुलाई नेपालको भूगर्भमा पेट्रोलियम पदार्थ तथा पेट्रोलियम ग्यास रहेको प्रमाणका रूपमा लिन सकिन्छ । ” खानी तथा भूगर्भ विभागका अनुसार, दैलेखको करिब १४ किलोमिटर क्षेत्रमा ४५ वटा ग्यास चुहावट देखिएका छन् ।
विगतमा देशको शान्ति सुरक्षाका कारण अन्वेषणको अनुमति पाएका कम्पनीहरूले लामो समयदेखि नगरेका कारण ती कम्पनीहरूको सम्झौतासमेत खारेज भइसकेको जानकारी परियोजना प्रमुख रजौरेले दिनुभयो । पेट्रोलियम अन्वेषणका लागि नेपालका सम्भावित क्षेत्रहरूलाई दसवटा खण्डमा विभाजन गरी विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सम्झौता गरिएको थियो ।
अहिले पेट्रोलियम पदार्थको क्षेत्र खोजी र निर्धारण गर्नका लागि अन्वेषण कार्य भइरहेको बताउँदै क्षेत्र निर्धारणपछि कति मात्रामा पेट्रोलियम पदार्थ रहेको यकिन गर्न ‘ड्रिलिङ’को कार्य सुरु गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विस्तृत भौगर्भिक, भूरासायनिक र भूभौतिक अध्ययन तथा ड्रिलिङपछि मात्र कुन कुन क्षेत्रमा कत्रो परिणामको पेट्रोलियम पदार्थको भण्डारण रहेको छ भने कुराको सम्पूर्ण रूपमा पुष्टि हुनेछ र भेटिएको पेट्रोलियम पदार्थ आर्थिक तथा व्यापारिक दृष्टिकोणले उत्खनन योग्य भए नभएको यकिन हुनेछ । ”
सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भएको थियो भने सोही सम्झौताअनुसार चिनियाँ प्राविधिक टोली सन् २०१६ को मेमा नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराहक्षेत्र र मोरङको बाउनीमा प्रारम्भिक अध्ययन गरेको थियो ।

प्रतिक्रिया