सुरेन उप्रेती अटवा,
देवघाटका बृद्धाश्रममा बस्ने मानिसहरु विहान चाँडै देखि नुहाई धुवाई र पाठपूजामा व्यस्त हुन्छन । पाठपूजा सकेर बिहानको चिया खाजा खाँदा झण्डै नौ बज्छ । त्यस दिन पनि सबै पूजाआजामा व्यस्त थिए । विहानको आठमात्र बज्दै थियो । बिस बाइस बर्षे एक युवक आएर बाहिर गेटमा सोध्यो । अमिरमान रोकालाई भेट्न आएको बोलाई दिनु होसन प्लिज । पालेले सोध्यो तपाई को हो । अमिरमानका त आफन्त कोही पनि छैन त । यूवाले विनम्र भएर भन्यो हजुर मलाई वहाँको आफन्तले भेट्न पठाउनु भएको । कृपा गरेर भेट गर्न दिनु होस हजुर । पालेले यूवाको शीर देखि खुट्टा सम्म हेर्यो । अर्को मानिसलाई जा अमिरमान बाजेलाई बोलाई दे । अमिरमान पूजा सकेर कोठामा फर्कँदै रहेछन् । लामा सेता दारी र लामो सेतो कपाल देख्दा उनी साँचै सन्त महर्षि जस्ता देखिन्थे । चाउरी परेको निधारमा सेतो चन्दन र बिगुतको टिकालगाएका थिए ।अझै पनि उनको अनुहारमा चमक देखिन्थ्यो । नौलो युवकलाई देखेर उनी छक्क पर्दै सोधे । बाबु कसलाई भेटन आउनु भएको रे । युवकले आफ्नै नाम लिएको सुनेर बुढामान्छे अचम्मित भए । बृद्धाश्रमको भेटघाटकक्षमा गएर टेवलको दुई तिरका कुर्सीमा बसे ।
गहौंगो ढाकरको नाम्लो थाप्लोमा ख्वाप्पै गाडिएको थियो । ढुँगोजस्तो गह्रौंगो भारीका खकनहरु दुबै कुममा भाषिएका थिए । लाग्थ्यो ती खकनहरु शरिरकै अंगहुन । टाढाबाट हेर्दा एउटा सानो मानिस पहाड नै बोकेर हिंडिरहेको जस्तो देखिन्थ्यो । पहाडका उकाली र ओराली बाटोलाई खुट्टाले नाप्नु पर्दथ्यो । पुल नभएका खोलाहरुमा जङगार तर्दा कहिले काँही ठुटेसुराल पुरै भिज्दथ्यो । मलाई थाहा थियो कथम्कदाचित यो भारी खोलाले बगायो भने मेरो सबै सकियो । जीवन भरी भारी बोकेर पनि ऋण तिरिंदैन थियो । एक पटक मेरो तोक्मालाई नै खोलाले बगायो । सुकेको काठ खोजेर तोक्मा बनाउदा झण्डै तीन घण्टा लाग्यो । सबै मेरा भरिया साथिहरु मलाई छोडेर बाटो लागिसकेका थिए । ती साथिहरु बास बसेको ठाउँमा म पुग्दा रातको बाह्र बजेको थियो । सबै मस्त निन्द्रामा थिए । मैले बिस्तारै ढाकरलाई बिसाएँ । टोपी झिकेर पशिना पुच्छेँ । भारीका माथिको एउटा कुनाबाट सानो झोला निकालें । झोला भित्र अर्को प्लाष्टिकको सानो झोला थियो । त्यस भित्र एउटा कापीका चेपमा मेरा परिवारको फोटो थियो । फोटो निकाले र दौराका फेरले पुछें । त्यसमा मेरी श्रीमति, १२ बर्षकी छोरी र सानो सात बर्षको छोरा थिए । सबैलाई नियालेर हेरें । फोटोलाई ओठमा ल्याएर चुमें अनि छातीमा टाँसेँ ।
मेरो साथि धनप्रसाद बिंउझिएछ । धनप्रसादले सोध्यो । अमिरमान यो मध्यरात सम्म के गर्दै छस् हँ । भात खाइस् । भात खाएर सुत । अब दुई दिनमा त घर पुगिहालिन्छ नी । मैले आकाश तिर हेर्दै मन मनै भने छोरा र छोरीलाई चै् जति दुख गरेर पनि धेरै पढाउँछु । ठूला मान्छे बनाउँछु । म जहाँबाट पनि घर फर्किंदा छोरा छोरीहरुलाई केहीनकेही कोसेली लिएर आउँथेँ । बिस्कुट चक्लेट फलफूल सँगै कपी र कलम कहिलै छुटाउँदिन थिएँ । शाहुकोमा काम गर्न जाँदा शाहुनीले खान दिएको अलिकति मिठो खानेकुरा होस् की अन्त कतै खाँदाको होस् । आधा पनि नखाइ छोरा छोरीलाई भनेर जोगाउँथे । राम्रो लुगा खेलौना बच्चाका लागि किनेर ल्याउँथें । ऋणमा डुबेको थिँए तर पनि छोराछोरीका लागि भनेर राम्रै खाना र नाना जुटाएको थिएँ । हाम्रा संम्पति भनेकै यिनै छोरा छोरी त हुन नी । यिनीहरुकै लागि त हो सब थोक भन्ने लाग्दथ्यो । छोरा छोरीले स्कुलमा अर्को कक्षामा जाँदा मेरो खुशिको सिमा हुँदैन थियो । मेलापात जाँदा होस या भारी लिन जाँदा जहाँ पनि छोराछोरीको बारेमा कुरा हुन्थ्यो ।
पहाडमा सारै दुख्ख भयो भनेर चितवन आयौं । त्यो बेला चितवनमा जग्गा पनि प्रसस्तै पाइन्थ्यो । जँगली जनवारको डर हुने हुनाले मानिसहरु बसोबास गर्न डराउँथे । तेसमाथि औलोको भय उत्तिकै थियो । मेरो आँटिलो श्वभाब र मेहनती बानीले खेतमा धान गहुँ आलु दाल अत्यधिक फल्यो । अरुको जग्गा अधियाँ र कूतमा पनि कमाएँ । भोकलाग्दा कम्मर कसेर पानी पिंउदै काम गर्थें । तर पनि छोरा छोरी पढाउन छोडिन । उखु खेती गरें । गाई भैंसी पालेर दूध बेचेर पनि छोराछोरीलाई केही कमी हुन दिइन ।
सन्तानको सुरक्षित भविष्यका चिन्ताले गर्दा खाडीमा होमिएँ । तातो बालुवाका देसमा भुटेको मकै जस्तो भएर छट्पटाउनु पर्दथ्यो । दिन दिनै पटक पटक मर्दै र बौरिंदै बाँच्नु पर्दथ्यो । मलाई मात्र छोरा छोरीको मायाले बचायो । उनीहरुको भविष्यको चिन्ताले मर्न दिएन । उनीहरुको फोटो हेरेर ताता दिन र लामा रातहरु बिताएँ । जीवनमा कहिलै नदेखेका मेशिनहरु चलाएँ । कहिलै नचढेका अग्ला विल्डिङ र स्काफोलिडिङमा चढेरकाम गरेँ । कहिले होटल र रेष्टुरेण्मा काम गरें । रेष्टुरेण्टमा आगोका कोइला भरिएको गहिरो घ्याम्पोमा हात हालेर नान पकाउँदा पटक पटक हात जल्यो । ती पोलेका घाउमा पनि छोरा छोरीको अनुहार देख्दथें । कस्तै पिडामा पनि कहिलै विचलित भइँन । सन्तानका लागि भनेर निरन्तर होमिई रहेँ । छोरा छोरीलाई बोर्डिङ स्कूलको यूनिफर्म लगाएर स्कूल गएको फोटो सँधै बोकेर हिड्थें । शाहुको भाषा नबुझेर पटक पटक अपमानित हुनु पर्यो । शाररिक तथा मानशिक यातनाहरु सहनु पर्यो तर पनि मेरो लक्षबाट कहिलै स्खलन भइँन । ती दुख र अपमानका पिडाहरुलाई सन्तानका लागि भनेर आँखा बन्द गरेर पियँ ।
कहिले कम्पनीमा काम सकियो भनेर यातना दिए । कहिले पासपोर्ट खोसेर यातना दिए । कहिले साथिहरुका सहयोग र सरणले बचायो । मलाई आफ्नी पृयसी र सन्तानको मायाँले झुक्न दिएन । मैले मिठो खान र राम्रो लागउनमा कहिलै ध्यान दिइँन । हुँनत मलाई मिठो खान र राम्रो लाउन रहर नभएको कहाँ हो र । मैले एकछाक मिठो खाएको पैसाले मेरो परिवारलाई एक हप्ता खान पुग्छ भन्दै चित्त बुझाउँथेँ । मैले एक पटक लगाउँने लुगाले परिवारलाई एक बर्ष लगाउँन पुग्छ भन्दै मनलाई सम्झाउँथेँ । आफुले टाढा गएर स्कूल पढन र शुल्क तिर्न नसकेको अवस्थालाई सम्झन्थेँ । स्कुलको शुल्क नल्याएको भन्दै सरले यातना दिएको दृश्य आँखामा आएर नाच्थ्यो । त्यो विधालय छोड्नु परेको पिडाले पनि मलाई शाहस दिन्थ्यो । तँ आफु गुज्रिएको अवस्था सम्झी ! तेरा बच्चालाई त्यस्तो हुन नदे भन्दै मेरो अन्तरआत्माले झक्झक्याँउथ्यो । कहिले किताब र कपी किन्न नपाउँदाको अवस्था सम्झेर पनि काममा लागिपर्दथेँ । मैले परदेशका अनेक पिडा भोगेको छु ।
एक जना बंगाली साथी मेरै आँखा अगाडि सात तलाको विल्डिङबनाउँने स्काफोल्डिङबाट खस्यो । विचराले पानी भन्न पनि पाएन । त्यो घटनाले म कयौं रात सुत्न सकिनँ । कयौं दिन सम्म सम्झँदा पनि मेरा हातगोडा कामीरहन्थे। अघिल्लो दिन सँगै काम गरेर सुतेको साथी बिहान उठेनँ । बोलाउँदा त उ मरी सकेको रहेछ । त्यो कहाली लाग्दो क्षणको साँक्षी छु म । म सँग धेरै साथिहरुलाई बाकसमा बन्द गरेर नेपाल पठाउँदाको तीतो पिडादाइ अनुभव छ। खाडीबाटै पठाएको पैसाले भए पनि राम्रै घर बनाएँ । छोरा छोरीले पनि नाम चलेको बिधालयमा पढ्न पाए । धेरै पढेर दुबैले जागिर खान थाले । छोरीले अम्रिकाने सँग बिवाह गरेर अम्रिका गई । नाती छ अरे भेटेको छैन । छोराले काठमाण्डौमा जागिर खाँदा त्यँहीकी केटी विहे गरेछ । घरमा आमा चाँही एक्लै हुने भइ भनेर म पनि खाडीबाट घर आएँ ।
हामी बच्चा हुर्काएका जोडी ढुकुर जस्ता दुई बुढाबुढी मात्र घरमा बस्थ्यौं । असार साउनको बेला थियो । घर नजिकै बारीमा थुप्रै काँक्रा फर्सि फलेका थिए । बुढीमान्छे बेलुकालाई तराकारी पकाउन फर्सिका मुन्टा टिप्न भनेर बारीमा गएकी थिइन । म खाटमा पल्टिएर विविसी रेडियो सुन्दै थिएँ । मार्यो है भनेर चिच्याको आवाज आयो । दौडिंदै पुग्दा श्रीमति लडिरहेकी रैछन । छरछिमेकीलाई बोलाएर घरमा ल्यायौं । दाहिने हातमा अलिकती चोट जस्तो देखियो । हात देखि सबै शरिर निलो हुँदै आयो । हतार हतार गाडी खोजेर अस्पताल हिंड्यौ । अस्पताल जाँनलाई टाँडी नपुग्दै सास फेर्न छोडीन । अस्पतालले बिसालु सर्पले टोकेको हो भनेर मृत घोषणा गरिदियो ।
अनि के भयो बाजे? त्यो युवकको प्रश्नले बुढालाई झस्क्यायो । आँशुले टिलपिल भएका आँखालाई दौराका फेरले पुच्छ्यो । अब के हुनु थियो र । मेरी छोरीलाई अम्रिकनेले लगिहाल्यो । छोरालाई बुहारीले लगी । म एक्लै बस्दै थिंए । एकदिन साँझ छोराबुहारी नाती लिएर घर आई पगे । मलाई पनि औधि खुशी लाग्यो । उनीहरु चितवन राष्ट्रनिकुन्ज घुम्न आएका रहेछन । राती घरमा बास बस्न आउँथे । दिन भरी घुम्न जान्थे । तीन चार दिन सम्म घरमै बसे । जाने दिन, छोराले भन्यो बुबा ! अब के एक्लै बस्नु हुन्छ । यो घर बेचौं र काठमाण्डौमैं घर किनौ, सँगै बस्नु पर्छ । नाति देख्दा मलाई पनि छोराकै वाल्यकालको याद आयो । मैले जे गरेको पनि उनीहरुकै लागि त हो नी भनेर हुन्छनी भने । घरबेचेर हामी काठमाण्डौ गयौं । काठमाण्डुमा घर किनेर बसेका थियौं । म नातीलाई विहान स्कूलको बस सम्म पुर्याउथेँ र स्कूल पछी घर ल्याउने गर्थैं । नाति पनि म सँग सारै घुलमिल भएको थियो । हामी दुबै जना साँझ विहान धेरै खेल्ने गर्थ्यौं ।
एउटा शनिवारको साँझ घरमा थुप्रै पाहुनाहरु आएका थिए । ती पाहुँनाहरु छोरा बुहारीका साथिहरु रहेछन् । बुहारीको जागिरमा बढुवा भएकोमा पाहुनाहरुलाई पार्टी दिएको रहेछ । । छोरा बुहारीले भनेर मैले बटरचिकेन, तन्दूरी चिकेन, मटन, चिकेनविरियानी ,अनि दुई तीन प्रकारको तरकारी पकाएँ । मैले पकाएका परिकारहरु पाहुनाहरुले जीव्रो पट्काउँदै खाए । सबैले खानाको प्रसंसा गरे । कुन रेष्ट्रुरेण्टबाट झिकाएको हो खाना भनेर सोधे । म भित्र किचेनमै खाना तताउँन र खाली भएका ट्रेहरु भर्न व्यस्त थिंएँ । बुहारीले यता उता हेरीन र छोरा तिर पनि हेरिन । यो सबै खानेकुरा उ बाजेले पकाएको हो । तर हामी माया गरेर बुबा भन्छौं । हाम्रो छोराले पनि हजुरबा भन्छ बुहारीले भनिन । छोराले पनि सहमति जनाउँदै टाउको हल्लायो । बेला बेला खाना थप्न आउँदा मलाई पनि पाहुनाहरुले देखेका थिए। सबै पाहुँनाहरुले “वाओ what a skillful बाजे” भने । हामी सबैका घरमा यस्तै बाजे भएत क्या दाम्मी हुने थियो। यूगाइज आर भेरी लक्की पाहुनाहरुले एक श्वरमा भने । छोरा बुहारीले “एस वी आर” भनेर कुम हल्लाए ।
तेती भन्दै गर्दा बुढामानिसका आँखामा आशु भरिए र वोल्न पनि सकेनन् । यूवकले आँशुपुच्छने टिस्यू दियो । झोलाबाट निकालेर बोतलको पानी दियो । पानी पिएर लामो सास फेरेर भने बाबु म त्यसैबेला घर छोडेर हिंडें । अनेक हण्डर खाँदै यहाँ आएर बसेको पनि बाह्र बर्ष भयो । बुढाका कुरा सुनेर त्यो युवाले पनि आँखा भरी आँशु बनायो । झोलाबाट फलफूल मिठाइ र राम्रा कपडा निकालेर हातमा राखी दियो । हजुरबुबा म तपाईको अभागि नाति गोकुल थापा भन्दै अँगालो मार्यो । बुढामान्छे झनै अचम्ममा परे । बाबू तिमी को हौ । मैले त चिनिन नी । हजुरबा म तपाईकी छोरीको ठूलो छोरा । मेरी आमाले एउटा गोरे सँग विवाह गरेर अमेरिका जानु भएछ । दुई बर्ष बसे पछी आमा र त्यो गोरा छुट्टीए छन । आमाले फेरी जीवन थापा भन्ने नेपाली सँग बिवाह गर्नु भयो । आमाले सँधै तपाईको कुरा गरी रहनु हुन्थ्यो । आमा, बुबा र म तपाइलाई खोज्न दस बर्ष अगाडि नेपाल आएका थियौं । कतै खोज्दा पनि भेट्न सकेनौ । मामा माईजुलाई बल्ल बल्ल भेट्यौ तर कहाँ हुनुहुन्छ भनेर सोद्दा थाहा छैन भन्नु भयो । चितवनमा गएर सबैलाई सोध्यौं । सबैले थाहा छैन मात्र भने । डेढ महिना खोज्दा पनि नभेटे पछी सारै खिन्न भएर हामी अमेरिका फर्कियौं । हजुरआमा खसेको दुखद कुरा पनि आमाले नेपाल आए पछी मात्र थाहा पाउनु भयो । हजुरआमा र तपाईलाई नभेटे पछी आमा सारै चिन्तित हुनु भयो । सँधै भगवान मेरा बुबालाई भेटाइ देउ भन्दै पूजा गर्नु हुन्थ्यो । ब्रत बस्नु हुन्थ्यो । आमाले क्रमश खान पनि छोड्नु भयो । मलाई सँधै जसरी पनि हजुरबालाई भेट्नु है । हजुरबा मेरो बुबा मात्र हैन भगवान हो । मानिसले भगवान चिन्न सक्दैनन् । तिमीले राम्रो रेख देख गर्नु र मलाई पापबाट मुक्त गराउँनु है भन्नु हुन्थ्यो । हजुरबा अब म तपाईलाई अमेरिका नै लिएर जान्छु । हजुरबा ! आज कुशेऔंशी हो नी बुबाको मुखहेर्ने दिन।
प्रतिक्रिया