गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्री भेटवार्ता

इनेप्लिज २०७६ जेठ १ गते ११:३० मा प्रकाशित

काठमाडौँ, काठमाडौंँ, जेठ १ गते । गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायत क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गर्नुभयो ।

उहाँले केही महीनाअघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सो क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाइमा पु¥याउन भूमिका खेलेको चर्चा गर्नुभयो । गृहमन्त्री थापाले नेपालको राजनीतिक स्थिरतासँगै अब तीव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायक मन्त्री रेञ्जसँग आग्रह गर्नुभयो ।

अमेरिकाले ‘मिलेनियम च्यालेञ्ज कोपरेशन’मार्फत नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतीकरणका लागि महत्वपूर्ण हुने गृहमन्त्रीको भनाइ छ । भेटमा उपसहायकमन्त्री रेञ्जले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाइमा लैजान आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानव बेचबिखनलगायत क्षेत्रमा अमेरिकाले सहयोग गरिरहेको बताउँदै त्यो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपसहायकमन्त्री रञ्जले अमेरिकी स्वयम्सेवी समूह ‘पिसकोर’को प्रवेशाज्ञाको समयावधि थप तथा नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतिका लागि सहयोगलगायत विषयमा समेत गृहमन्त्री थापासँग कुरा राख्नुभएको थियो । भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी बेरीसमेत सहभागी हुनुहन्थ्यो ।

प्रतिक्रिया