चिली (सिक्लेस)

बिष्णु गुरुङ एकता २०७६ वैशाख ३१ गते ९:३९ मा प्रकाशित

चिली नाम सुन्ने वित्तिकै सायद हामी धेरै जसोको दिमागमा दक्षिण अमेरिका महादेशमा रहेको देश Chile (चिली) को नक्सा आउँन सक्छ तर यहाँ म त्यो Chile चिली देशको कुरा गरिरहेकी छैन। मैले हाम्रो देशमा रहेको प्राकृतिक र संस्कृतिक सौदर्यले भरिपूर्ण चिली गाउँ जसलाई पछि आएर एक विदेशीले राखिदिएको उपनाम सिक्लेसको नामले अहिले प्रख्यात छ। मैले पनि सोक्लेसको मौलिक नाम चिली रहेछ भन्ने कुरा त्यहि ठाउँमा गएर मात्र थाहा पाँए। चिली नाम कसरि रहन गएको थियो भन्ने ईतिहासलाई हेर्दा – आज भन्दा मानव विकासको करिब ८, ९ पुस्ता पहिले त्यस ठाउँमा धेरै चिली चराहरु गुड लगाएर बस्दथे। चिलीहरु बस्ने ठाउँ भएको हुनाले त्यस ठाउँको नाम नै चिली रहन गएको पौणानिक भनाई छ। चिली मौलिक तमु (गुरुङ) भाषा हो र चिलीको नेपाली भाषामा गौथली भन्ने बुझिन्छ। अहिले पनि चिली (गौथली) चराले टाढा टाढाबाट माटो ओसारेर मान्छेहरु आवात जावात गर्ने पसलको दलिन माथि पनि गुड बनाएर मानिससँग नजिक भएर बसेको हामीले देखि रहेका छौ। कुनै पनि घर वा पसल जहाँ पनि किन नहोस गौथालिले गुड लगाएर बसेको ठाउँलाई शुभलाभको दृष्टिले हेर्ने चलन हाम्रो नेपाली संस्कारमा छ।

यसरि प्रौराणिक कथनसँग जोडिएको रोचक नाम चिली (सिक्लेस) गाउँमा धेरै ठाउँहरुको नाम गुरुङ मौलिक भाषामा राखिएता पनि अहिले अपभ्रम्स हुँदै अर्ध गुरुङ भाषा जस्तो सुनिन्छ। जस्तै: रिसी धो को अर्थ नेपालीमा बाँसको रुख भन्ने हुन्छ तर अहिले यसको नाम Raisin Danda छ। त्यहाँका वासिन्दाहरुले अहिले पनि सिक्लेस भनेर वोर्डमा लेखे पनि बोल्दा चिली नै भनेर भन्दा रहेछन् र सबै जनाले चाहे गैर गुरुङ नै किन नहोस त्यहाँ  गुरुङ भाषा नै बोल्दा रहेछन्। त्यहाँ भेडी गोठ,  कुखुरा पालन एवं महिलाहरुले राँडीपाखी, बक्खु र भान्ग्र बुनेर परम्पगत घरेलु उधोग अझै पनि गरिरहेको देख्न पाईन्छ। पोखराको काहुँखोलाबाट गरिब ४ घन्टाको मोटर बाटोबाट समुद्र सतह देखि १९८१ मिटर उचाईमा रहेको चिली (सिक्लेस) गाउँमा पुग्दा मलाई अर्कै दुनियाँमा पुगेको महसूस भयो। उत्तर तिर रिसै डाँडबाट अन्नपूर्ण २, अन्नपूर्ण ४ र लम्जुङ्ग हिमाल हाँसिरहेको नजिकबाट आफ्नो आँखा अगाडी देख्न सकिन्छ। पुर्व मोहडा गरेर करिब ७०० घरधुरी टनाटन बिशेष गरेर तमु जातिको बस्ति बसेको चिली गाउँ जहाँ शान्त र मौलिकताको काखमा आनन्दसँग रमाउँन सकिन्छ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश त्यहि माथि बहु सांस्कृतिकको पनि धनि हाम्रो देश नेपाल भनेर सर्वविद्दितै छ। तर, हिराको खेतमा बसेर हिरा नै देख्न नसक्नु भने झैँ यदि हामीले पनि आफ्नो देशलाई यस्ता सम्पदाहरुको माध्यमद्वारा हेर्न सकेनौ भने आफ्नो देशको वास्तविक सौदर्यताको आनन्दबाट धेरै टाढा जानेछौ र विदेश भूमिमा बनेको भौतिक संरचनालाई मात्र हिरा रहेछ भन्ने भ्रममा नपर्ला भन्न सकिदैन। केहि बर्ष यता सिरुबारी गाउँबाट शुरु भएको संसद स्वा   रुद्रमान गुरुङको आईडिया होमस्टे अहिले गाउँ गाउँमा फैलिएको छ र नेपाल सरकारले पनि यसलाई गाउँ विकासको पूर्वधारको रुपमा हेरेर प्राथमिकता दिएको अवस्था छ। अहिले नेपाल अधिराज्य भर लगभग १५० गाउँमा होमस्टे योजना गरेर गाउँमा पर्यटक भित्राउने र नेपालको गाउँहरुलाई चिनाउने अभियानमा, हामी सबैले साथ दिनु पर्छ भन्ने मेरो मान्यता र आफ्नो देशको गाउघर र त्यहाँका वासिन्दाहरुसँग बातचित गर्ने रमाईलो गर्ने जानकारी आदानप्रदान गर्ने अवसरलाई गुमाउन नदिन गाउँ जाने गर्छु होमस्टे बस्छु।

त्यहि सिलसिलामा धेरै पहिलादेखि नै सुन्दै आएको सिक्लेस गाउँ केहि बर्ष यता नेपाली पर्यटकको लागि एक प्रख्यात भ्रमण स्थाल भएकोले जोकोही त्यहाँ घुम्न जाने रहर हुन्छ नै, मलाई पनि दुई बर्ष यतादेखि चलेको उत्सुकता मेटाउने समय मजदुर दिवसले मिलायो। साथि मिलेर जाने कुरा हुदाहुदै पनि कहिले के नमिल्ने कहिले के यस्तै हुन्छ कि भनेर एक्लै भने पनि जाने जोश गरे। गाउँमा जादा चाहिने साधारण सामानको तैयारी गरेर काहुँखोलाको बसमा चढे। खैरो कपाल जिन्स पाईण्ट र कटन टिसर्ट लगाएकी आँखामा घामबाट छल्न सनग्लास लगाएकी गहुँगोरी पर्यटक म, लोकल गाउँलेहरुको हुलमा बकुल्लाको बथानमा काग झै देखिएको महसुस भैरहेको थियो तर म पनि लोकल नेपाली नै थिए। गुरुङहरुले गुरुङ भाषा बोलेको सुनेपछि मैले पनि गुरुङ भाषा बोल्ने मौका यहि हो भनेर उनीहरुसँग गफ मिलाउन लागे। सिक्लेस जान लागेको कति समय लाग्छ बाटो कस्तो छ आदि ईत्यादि मेरो जिज्ञासा सुनेर उनीहरुले गुरुङ भाषामा नै चिली जाने भनेर भने पछि म अक्मकिए, पछि थाहा लाग्यो उनीहरुले त सिक्लेसलाई चिली पो भन्दा रहेछन्।

विहानीको ११ बजे हिड्ने भनेको बस केहि समय ढिलो गरि काहुँखोलाबाट सिक्लेसको लागि हिड्यो। बसमा खचाखच यात्रुको भीडमा मैले पनि केहि समय अगाडी नै सिट रोकिराखेको हुनाले ठिकै गरेछु जस्तो लाग्यो। बस उकालो चढ्दै गयो घुमाउरो कच्चा बाटो ड्राईभरले बजाएको प्रेसर हर्नले पहिले पहिले सानोमा गाडी चढेको याद दिलायो। गाउँको शान्त वातावरणमा सायद त्यो आवाजले रमाईलो नै गर्ला र बसआईरहेछ भन्ने संकेत पनि दिएको होला। तप्राङ्ग पुगेर बस खाना खाजाको लागि रोक्यो। यसो हेर्छु मैलोधैलो वाताबरण कोहिपनि होटेलवाला ग्राहकको लागि स्वागत वा तैयारी भावना लिएर बसेको जस्तो देखिदैन थियो। एक प्लेट तरकारी खाए एकैछिनमा सबैजना बसमा चढ्यौ बस फेरी उकालो लाग्यो हर्न बजाउदै।

ACAP को संरक्षणमा रहेको त्यहाँको बन जंगलको हरियाली र पहाडको मनमोहक दृश्य हेर्दै घुम्ती बाटोमा घच्याक घुच्युक हुदै बाटोमा थुप्प्रै गाउँहरु देख्दा मन रमाईलो लाग्यो। एक्कासि मेरो नजर देब्रे पुर्व तिर फर्केको चिट्टिक परेको सुन्दर गाउँमा पर्यो यसो हेरेको गेटमा चिप्ली होमस्टेमा तपाईलाई स्वागत छ भनेर लेखेको देखे। र केहि मिनेटको फरकमा दाहिने तिर बाटो मुनि पार्चे गाउँ रहेछ सोधे प्राय जसो गुरुङ बस्ति नै रहेछ। यसो सोचे अहिले पनि आउँन जान कठिन ठाउँमा यति ठुलो बस्तिहरु कसरि बसे होलान् सोच्दा पनि अनौठो लाग्ने। करिब ४ घण्टाको बस यात्रा पछि सिक्लेस बस पार्कमा बस रोकियो। मनसुनको वर्षा वार्सीरहेको थियो छाता खोले र होटेल हेर्नको लागि नेट खोले। छेउमा नै होटेलहरु देखे होमस्टे समुहको महिलाहरुको नम्बर भित्तामा देखे फोन गरेको व्यवस्था हुन सकेन र म छाता ओडेर आफ्नो बाटो लागे। पाँच मिनेटको हिडाई पछि अन्नपूर्ण गेष्ट हाउस फूलैफूलले छोपेको गाउँले घर जस्तो देखे। ठुलै स्वरमा नमस्ते भनेर बोलाए, साहुजी भाई निस्कियो कोठा सोधे उपलब्ध छ भनेपछि झोला बिसाए र भोक लागिरहेको हुनाले साहु नी बैनीले चाउँचाउँ बनाई दीइन् र खुब मिठो मान्दै खाए।

पानीको दर्कनसँगै अध्यारोमा आनन्द लिदै आराम गरे। बेलुकीको खाना तैयार भयो की भनेर भान्छातिर गए खाना पाक्दै रहेछ त्यहि मौकामा मोहन भाई र परिवारसँग उहिँ गाउँको बारेमा र भोलीको मेरो योजनाको बारेमा गफ गरे। खाना पाकेपछि थपि थपि खाए र सुत्न कोठा तिर लागे। भोलि विहान मिर्मिरेको उज्यालो सँगै मेरो निद्र खुल्यो मुख धोईओरि आँगनमा हिमालको चिसो चिसो हावामा शरीरलाई केहि खुराग दिएर बिग डेको लागि तैयार गरे। हल्का खाजा पछि हिमालसँग रमाउन ठाडै उकालो तिर लाग्यौ मोहन भाई र म, बाटोमा स्याङ्गजाबाट गुम्न आएका आमा समुहसँग भेट भयो गफ गर्दै, बल बिसाउदै उकालो लाग्यौ। करिब एक घन्टाको उकालो पछि रिसी धो डाँडामा पुग्यौ। उत्तर तिर प्रकृतिको शानदार मनमोहक दृश्य चाँदी झैँ टल्किरहेको अन्नपूर्ण, लम्जुङ्ग हिमाल आँखा अगाडी देख्दा कसको मन आनन्दले विभोर नहोला र। केहीछिनको प्रकृतिसँगको हेराहेर पछि सबै जनाले हिमाललाई साक्षी राखेर ग्रुपमा र सिङ्गल फोटो खिच्यौ र ओरालो झर्यौ।

चिली (सिक्लेस) ले हामीलाई प्रकृतिको काखमा खेलेर गुरुङ मौलिक संस्कृतिसँग रमाउने अनुभव मात्र नभएर अरु धेरै कुरा पनि दिएको छ। गुरुङ जातिहरु समुदाय र प्रकृतिमा बस्न मन पराउदा रहेछन् र पुरुष मात्र नभएर महिलाहरु पनि आफ्नै व्यवसायमा आत्मनिर्मर हुन चाहाने परम्परा चिलीमा सजिलै बुझ्न सकिन्छ। यस ठाउँमा धेरै गुरुङ एवं अरु चिनीमा हरुको सुटिङ्ग हुनेगर्छ। गोरे गुरुङ, धनमाया गुरुङ सहित धेरै गुरुङ कलाकारहरु एवं युवा राजनीति नेताहरु पनि चिलिले जन्माएको छ। नेपालको पर्यटकिय गन्तव्य सिक्लेसमा अहिले बर्षेनी हजारौ पर्यटकहरु त्यहाँको प्रकृति र संस्कृतिसँग रमाउन चिली जान्छन्। पुर्व तिर फर्केको सुन्दर डाँडामा बनाएको पिकनिक सपोर्ट भएर होला सिजनमा पिकनिक खाना धेरै ग्रुप त्यहाँ जादा रहेछन्। बिभिन्न होटेल र होमस्टेको पनि राम्रै व्यवस्था भएको चिली गाउँ पुगेर तपाईले पनि अवस्य आफ्नो देश नेपालप्रति गर्व गर्नेछ।

 

प्रतिक्रिया